फाइजरको कोरोना खोपले नयाँ किसिमको भाइरसविरुद्ध पनि काम गर्ने

लण्डन । फाइजर र बायोएनटेकको कोरोना विरुद्धको खोप नयाँ किसिमको भाइरसविरुद्ध पनि प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

बेलायत तथा दक्षिण अफ्रिकामा पाइएको भाइरसको नयाँ स्वरुपलाई विकसित खोपले परास्त गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न उठिरहेको बेला अमेरिकामा गरिएको एक अध्ययनले सो निस्कर्ष निकालेको हो ।

सो अध्ययन फाइजर तथा युनिभर्सिटी अफ टेक्सस मेडिकल ब्रान्चले सो अध्ययन गरेको हो । अध्ययनले बेलायतमा पाइएको भाइरसको N501Y प्रजातिको भाइरसलाई तटस्थ बनाउन सो खोपले प्रभावकारी काम गर्ने निचोड निकालेको छ ।

अध्ययनमा फाइजरको खोप दिइएका व्यक्तिहरुबाट रगत संकलन गरी सोको अध्ययन गरिएको थियो ।

अध्ययनमा स‌ंलग्न फाइजरका डाक्टर फिल डोर्मिटजरले भने, ‘खुशीको कुरा खोपले भाइरसको स्वरुप परिवर्तनका विरुद्ध पनि प्रभावकारी रुपले काम गर्छ ।’ उनले १५ किसिमका भाइरसका स्वरुप परिवर्तनमा खोपले काम गर्ने देखिएको पनि प्रष्ट गरेका छन् । तर यसको मतलब अरु नयाँ प्रकारको भाइरसका विरुद्ध पनि काम गर्छ भन्ने केही ग्यारेण्टी भने गर्न सकिँदैन- उनले भने ।

वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा भेटिएको भाइरसको नयाँ प्रकार E484K र बेलायतमा पाइएका अन्य प्रकारबारे पनि अनुसन्धान गरिरहेका छन् ।

वैज्ञानिकहरुले फाइजर र बायोनटेक तथा मोर्डनाको खोपलाई भाइरसको नयाँ प्रकार अनुसार परिवर्तन गर्न सकिने र त्यसका लागि छ साता मात्र लाग्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री