ब्रेक्जिट कानून बिहीबारदेखि लागू

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट डिल औपचारिक रुपमा यूकेको कानून बनेको छ । ब्रिटेनकी महारानीले संसदद्वारा पारित ब्रेक्जिट सम्बन्धि कानूनमा हस्ताक्षर गरेपछि आउंदो साता बेलायतले युरोपेली संघ छाड्ने बाटो खुल्ला भएको छ ।

‘वीथड्रल एग्रीमेन्ट एक्ट’ भनिने उक्त कानून बिहीबारदेखि लागू भएको छ ।

ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्सले बिहिबार दिउसो सांसदहरुलाई सो सम्बन्धि सूचना पढेर सुनाएका थिए ।

प्रधानमन्त्री जोनसनले ब्रेक्जिट मुद्दामा वर्षौं अल्झिरहेको ब्रिटेन अब अगाडि बढ्न सक्ने बताएका छन् ।
‘एक समय यस्तो महशुस भयो कि ब्रेक्जिट फिनिस लाइन 
(अन्तिम रेखा) कहिल्यै पार गर्न सकिन्न तर हामीले गर्यौं’, प्रधानमन्त्रीको भनाइ छ ।

उनले शुक्रबार ‘ईयू वीथड्रल एग्रीमेन्ट’ मा पनि हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री कार्यालयमा उक्त सम्झौता 
हस्ताक्षर गरिरहंदा उनले ‘गज्जब’ क्षणको संज्ञा दिए । ‘ब्रिटेन अब एक देशका रुपमा अगाडि बढ्न सक्छ । अब वर्षौंको वहस र विभाजन अन्त्य भएको छ’, उनको भनाइ उधृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ईयूसंग 
बलियो नयां सम्बन्ध स्थापित गर्ने अठोट पनि प्रधानमन्त्रीको छ ।

यसअघि शुक्रबार नै युरोपियन काउन्सिल अध्यक्ष 
चाल्र्स मिसेल र युरोपियन कमिसन अध्यक्ष उर्सुला भोन डेर लियनले पनि ‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ हस्ताक्षर गरेको काउन्सिलले जनाएको छ । युरोपेली संसदले २९ जनवरीमा उक्त सम्झौता अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

ब्रिटिश जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एकहजार ३ सय ९ दिनपछि ब्रेक्जिट सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि मिसेलले भनेकी छन्, ‘परिस्थिति अवश्य परिवर्तन हुनेछ तर बेलायतसंग हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीका रुपमा नयां अध्याय शुरु गर्नेछौं ।’

गत १२ डिसेम्बरमा सम्पन्न आमनिर्वाचनमा प्रधानमन्त्री जोन्सनको कन्जरभेटिभ पार्टीले अत्याधिक बहुमतसहित जित हासिल गरेपछि विवादित ब्रेक्जिट नीतिले गति लिएको हो ।

बेलायत यही ३१ जनवरी राती ११ बजे ईयूबाट औपचारिक रुपमा बाहिरिने तयारीमा छ । त्यसको एक वर्ष संक्रमणकालीन अवधि हुनेछ । यसबीच बेलायतले ईयूको सबै नियमकानुन पालना गर्नुका साथै ईयूसंग भविष्यको सम्बन्धबारे सहमति गरिसक्नु पर्नेछ । यस अवधिभित्र प्रधानमन्त्री जोनसन ईयूसंग खुल्ला व्यापार सम्झौता गर्ने योजनामा छन् ।

ईयू कमन मार्केट एवं भन्सार संघबाट अलग रहने र बेलायतमा युरोपेली नागरिकको निर्वाध काम 
गर्ने अधिकार तथा स्थायी बसोबास प्रावधान रोक्ने पक्षमा बेलायत छ ।

ब्रेक्जिट विषय राजनीतिक मात्र नभई धेरै प्राविधिक पनि रहेकाले प्रधानमन्त्री जोनसनले सोचेअनुरूप समयमा सजिलै खुल्ला व्यापार सम्झौता हुन अप्ठेरो हुने अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्यको बुझाइ छ ।

ईयू इतिहासमा अहिलेसम्म कुनैपनि सदस्य राष्ट्रको बहिर्गमन नभएको स्मरण गर्दै आचार्यले ईयूले क्यानडासंग ब्यापार सम्झौता गर्न ७ वर्ष लागेकाले यस्तो जटिल काम गर्न बेलायतलाई पनि समय लाग्न सक्ने बताए ।

गत अक्टोबरमा प्रधानमन्त्रीले हाउस अफ कमन्सबाट ब्रेक्जिट विधेयक पारित गराउन प्रयत्न गरेपनि सांसदहरुले विवादित ‘आइरिस ब्याक 
स्टप’ सहितको सम्झौता राम्ररी बुझ्न नपाएको भन्दै अस्वीकार गरेपछि प्रधानमन्त्री जोनसन ईयूसंग तेश्रो पटक ब्रेक्जिट समयसीमा सार्न वाध्य भएका थिए ।

यसैबीच, बेलायतले विशेष कार्यक्रमसहित ब्रेक्जिट डे (औपचारिक बहिगर्मन हुने राती) मनाउने भएको छ । प्रधानमन्त्री जोनसनले डाउनिङ स्ट्रिटमा ‘लेजर शो’ आयोजना गर्दैछन् । उनले हवाइट हलमा दीप प्रज्वलन गर्नुका साथै देशवासीका नाममा टेलिभिजनबाट विशेष सम्वोधन गर्ने कार्यक्रम छ ।

युकेका चारवटै राज्यको एकताको प्रदर्शन 
गर्दै लन्डनस्थित संसद भवन वरिपरि संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक फहराइनेछ ।

पार्लियामेन्ट स्क्वायरमा विशाल ‘डिभोर्स पार्टी’ आयोजना गरिंदैछ, जहां १५ हजार भन्दा बढिको सहभागिता रहने अपेक्षा छ । साथै, त्यस दिन ५० पेन्सको विशेष ब्रेक्जिट सिक्का करिब ३० लाखवटा सार्वजनिक गर्ने जनाइएको छ ।

त्यसै दिन लन्डन मेयर सादिक खानले बेलायतस्थित युरोपेली मुलुकका नागरिकहरुलाई सिटी हलमा वकिलमार्फत ईयू सेटलमेन्ट स्किमबारे निशुल्क परामर्श दिने कार्यक्रम पनि तय छ । ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री