बेलायत, नेपालसहित विभिन्न मुलुकमा मनाइयो ३१ औँ विश्व आदिवासी दिवस

लन्डन । बेलायत, नेपालसहित विभिन्न मुलुकमा ३१ औँ विश्व आदिवासी दिवस मनाइएको छ ।

विश्वका आदिवासीहरूले तीन दशकदेखि मनाउँदै आएको यो दिवस बेलायत र नेपालमा रहेका आदिवासीले विभिन्न कार्यक्रम गरी विशेष उत्सवका रूपमा मनाउने गरेका छन् । काठमाडौंमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षता र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा समारोह आयोजना गरिएको थियो । समारोहअघि सांस्कृतिक झाँकीसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजाति र मधेसी समुदायको सङ्घर्षको परिणामस्वरुप मुलुक सङ्घीय व्यवस्थामा प्रवेश गरेको बताउनुभएको छ । उहाँले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि आदिवासी जनजातिले धेरै अधिकार प्राप्त गरेका स्पष्ट पार्नुभयो । “आदिवासी जनजातिले भाषिक पहिचान प्राप्त गरेका छन्, सबै आदिवासी जनतजातिलाई भाषा, संस्कृतिसम्बन्धी अधिकार प्राप्त भएको छ, तर त्यो अझै पूर्ण भने होइन”, मन्त्री गुरुङले भन्नुभयो, “परिवर्तित परिस्थितिमा विगतदेखि शासन सत्ता सम्हालिरहेका समुदाय र भर्खरै अधिकार प्राप्त गरेका आदिवासी समुदायबीच हुनसक्ने द्वन्द्वलाई व्यवस्थापन गरेर जानुपर्ने आजको आवश्यकता हो ।”

नीति निर्माण र त्यसको कार्यान्वयन गर्ने निकायमा आदिवासी जनजातिको सहभागिता नभएमा अधिकार प्राप्ति नहुने भन्दै जातीय अभियान अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले फलस्वरुप आज नीति निर्माण र कार्यान्वयन तहमा आदिवासी जनजाति समुदायको सहभागिता वृद्धि हुँदै गइरहेको धारणा राख्नुभयो । “हाम्रो समुदायबाट पनि नीति निर्माण तहमा प्रशस्तै सहभागिता भएको छ, आदिवासी जनजातिका तर्फबाट नीति निर्माणमा गएका व्यक्तिले कत्तिको प्रभावकारी भूमिका खेलेका छन्? त्यहाँनेर हाम्रो खबरदारी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता सुरेश आले मगरले जातीय पहिचानसहितको सङ्घीयताका लागि आदिवासी जनजाति समुदायले फेरि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अधिकार प्राप्तिसँगै आफ्नो जातीय पहिचानको संरक्षणमा पनि आदिवासी समुदाय लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सीता गुरुङले संविधान संशोधनको नाममा आदिवासी जनजातिका अधिकार कटौती हुनसक्ने खतरा औँल्याउँदै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय र अन्तरराष्ट्रिय श्रम सङ्गठनको १६९ अभिसन्धि कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आदिवासी जनजातिको मौलिक पहिचान लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै पहिचान र अधिकार प्राप्तिका लागि आदिवासी समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभयो । जलवायु परिवर्तन, प्राकृतिक स्रोतका चर्को दोहनलगायत कारणबाट आदिवासी जनजाति समुदाय प्रभावित हुँदै गइरहेका जनाउँदै उहाँले त्यस्ता समुदायको हकअधिकार संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेत्री एवं सांसद दुर्गा राईले आदिवासी जनजातिको अधिकारलाई नीतिगत तथा कानुनी रूपमा बलियो बनाउन आफूले संसद्मा जोडदार आवाज उठाउने विश्वास दिलाउनुभयो ।

नेपाल आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी लामाले अधिकार प्राप्तिका लागि आदिवासी समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले आदिवासी जनजातिको सांस्कृतिक सम्पदाले सिङ्गो विश्व समुदायलाई एकताबद्ध बनाएको धारणा राख्नुभयो ।

कार्यक्रममा आदिवासी अगुवा तथा अधिकारकर्मीले आदिवासी जनजाति समुदलायले पहिचान र अधिकार प्राप्तिका लागि फेरि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

यस वर्षको दिवसमा नेपाल आदिवासी जनजाति महासंघङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएन ड्रिप र आई एल ओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले ३१औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरेको छ । अगस्ट ९ र १० मा किरात हाउस ग्याम्बल्सलेनमा आदिवासीसँग सम्बन्धित विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइरहेको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले बताउनुभयो ।

दिवसको अवसरमा पहिलो दिन भलिबल प्रतियोगिता र दोस्रो दिन धनुषवाण, छेलो प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम भएका छन् । अगस्ट १० मा धनुषबाण प्रतियोगिता, झाँकी प्रदर्शनी, छेलो प्रतियोगिता आयोजना गरिने छ । सोही दिन नेपालबाट आएका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती समे रहने छ अध्यक्ष राईले बताए ।

कार्यक्रमस्थलमा स्थानीय उत्पादनहरू, लत्ता–कपडा, घरायसी सामग्री र सूचनामूलक स्टलहरू राखिएका छन् । मनोरञ्जन सामग्रीसहित सहभागीहरूका लागि क्याम्पिङ सुविधा पनि प्रदान गरिएको छ । राफल ड्रको विशेष आकर्षणस्वरूप एक तोला सुन पुरस्कारस्वरूप राखिएको छ ।

नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता बढेको छ । नेपालको मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा आदिवासी जनजाति समुदायको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री