एनआरएनए युके: अलमल र खादामै बित्यो पाँच महिना

पुनम गुरुङ । तस्बिर- मिलन तमु

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले एक सय दिनको हनिमुन अवधि सकिंदा पनि गति लिन सकेको छैन् । गत २९ सेप्टेम्बर २०१९ मा शपथ ग्रहण गरेको एनआरएनए यूकेले अहिलेसम्म कुनै ठोस कार्यक्रम अघि सार्न सकेन । पहिलो पटक एनआरएनए यूके नेतृत्वमा महिला नेतृ पुनम गुरुङ आएपछि उनले ठोस कार्यक्रम अघि सार्ने अपेक्षा गरिएको थियो ।

विगत कार्यसमितिले एनआरएनए यूकेलाई बेलायतभर नेपाली समुदायमा पुरयाएर जुन उभार ल्याए, अहिले नेतृत्वले त्यस उभारलाई समात्न नसक्दा समुदायमा संस्थाको साख गिर्दो छ । अध्यक्ष गुरुङको हातमा नेतृत्व आएपछि सबैलाई मिलाएर लैजाने अभिभावकत्वको भूमिका खेल्न नसक्नाले संस्था नै धरासायी बन्दै गएको अनुभव समुदायमाझ गर्न थालिएको छ ।

गुरुङले नेतृत्व हातमा लिएपछि अभिभावकत्व भूमिका निर्वाह गर्दै निर्वाचन अघि विभाजित समुदायलाई एकताबद्ध गराउनु पर्ने थियो । कार्यसमितिमा रहेका साथीहरुवीच व्यापक छलफल गरि सबैको साझा एनआरएनए यूके हो भन्ने भावना बढाउदै लग्नु पर्ने थियो । तर, त्यो भावना विपरित आफूलाई निर्वाचनमा सहयोग गरेकालाई पुरस्कृत गर्ने, मनोनयनमा एकलौटी गर्ने, प्रजातान्त्रिक तवरले विरोध गर्नेलाई दुश्मन जस्तो व्यवहार गरि निषेध गरेर अघि बढने र फरक विचार राख्नेलाई स्थान नदिने गर्दा एनआरएनए यूकेप्रति नेपाली समुदायमा आकर्षण घटने प्राय निश्चित छ ।

एनआरएनए यूकेलाई संघीय संरचनामा लगेपछि संघीय राज्य परिषद्लाई बलियो बनाउनुको सट्टा एनआरएनए यूकेका विभाग नै पिच्छे कमिटी र सल्लाहकार बनाउनुलाई पदको भोकालाई भर्ती केन्द्र खोले जस्तो भान हुन थालेको छ । मानौं यतिवेला एनआरएनएले समाजसेवीको लागि भर्ना खोलेको छ । त्यो भर्नामा आफू छुट्ने हो कि भन्दै लोभी पापी निवेदन हालिरहेका छन् ।

त्यहाँ निदेवन हाल्नेमा सर्वसाधारणदेखि व्यापारी हुदै पढेलेखेकासम्म छन् । त्यो भर्ती केन्द्रमा नियुक्ति दिलाई दिन्छु भन्दै समाजमा ‘नैतिकहीन’ केही ब्यक्ति दौडिरहेका छन् । समाजमा मिलेर बसेको देख्न नसक्ने चल्तीका सामाजसेवी पद बांडेको भ्रम छरिरहेका छन् । भर्नाका लागि दौडिरहेका भन्दा पनि पैसा भएका उनीहरुको पहिलो प्राथमिकतामा छन् ।

पाउण्ड कमाएर पनि नेपाली समुदायमा राम्रो परिचय नपाएका व्यक्तिहरुलाई ति चल्तीका समाजसेवी दिनरात फकाउन व्यस्त छन् । त्यसबाहेक यहाँबाट डिग्री लिएका पनि उनको दोस्रो लिस्टमा छन् । एनआरएनए यूकेका कार्यक्रममा चन्दा दिन सक्ने र पढे लेखेका राख्नुपर्ने सुझाब लिएर दैनिक शक्ति केन्द्रसँग हाजिरी जनाई लम्पसार परिरहेका छन् ।

एनआरएनएमा कुनै पदमा चूनावी मैदान भन्दा उत्रिन नसक्ने र टिका थाप्न अघि सर्नेले एनआरएनए यूके अध्यक्ष गुरुङलाई प्रभावमा पार्दा एनआरएनए यूके विमारी भएको अभियन्ता बताउँछन् ।

एनआरएनए यूके आर्थिक अपचलन र खादा मालाका लागि मानिस एनआरएनएमा लागेको चौतर्फी आरोपलाई खण्डन गर्नुपर्नेमा एनआरएनए यूके नेतृ किन मौन छिन् प्रश्न उठन थालेको छ । समाजसेवालाई प्रयोग गरेर सधैं पैसाका लागि समाजसेवामा लाग्ने ति चल्तीका सामाजसेवीको विगत हेर्ने हो भने सत्ता, शक्ति र पैसाका लागि लागेको इतिहास साक्षी छ ।

समाजका सबै खाले मानिसहरु समाजसेवामा लागेका छन् । त्यो मध्ये राम्रो छान्ने काम नेतृत्वको हो । यसमा नेतृत्वकर्ता गुरुङ चुकिन भने दुई बर्षपछि उनलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था आउँछ ।

हामी धेरै टाढा जानु पर्दैन् । विगत एनआरएनए यूके पूर्व अध्यक्षहरु को कति समाजसेवामा सकृय छन् भनेर खोज्ने हो भने सजिलै जवाफ पाइन्छ । एकातिर, अध्यक्ष गुरुङले अभिभावत्व ग्रहण गरेर सबैको हुने कि दुई चारजना चल्तीका समाजसेवीको घेरा भित्रै बसेर दुई बर्षपछि आफ्नो व्यवसायमै फर्किने त्यो उनकै हातमा छ ।

अर्कोतर्फ, अध्यक्ष गुरुङ दुई बर्षमा संस्था छाडेर हिंडछिन् । त्यसपछि नेतृत्वमा आउने ब्यक्तिले एनआरएनएप्रति नेपाली समुदायसँग घुलमिल गराउन पूर्व अध्यक्ष फगामी जस्तै दौडधुप गर्न पर्ने अवस्था आउन सक्छ । त्यसैले आगामी नेतृत्व दावी गर्ने मध्येका कसैले अभिभावक बन्न कोशिस गर्नुपर्छ ।

खादा र मालामै सीमित

निर्वाचनको घोषणा सभादेखि निर्वाचन समितिलाई खादा लगाएर स्वागत गरेको समाचार आँफैमा लाजमर्दो छ । निर्वाचन समिति भनेको सबैको हुन्छ । त्यो पक्ष वा विपक्ष हुंदैन । निर्वाचनमा विजयी हुनेले समितिलाई खादा लगाउनु कत्तिको जायज छ ? सेनामा राम्रो काम गरे वापत एमबीइ पदवी पाएका तत्कालिन प्रमुख निर्वाचन आयुक्त डमर घले र नेपाल प्रहरीमा महत्वपूर्ण पदबाट रिटायर्ड भएका सह-आयुक्त शिवजी श्रेष्ठलाई निर्वाचन समितिले के गर्नु हुन्छ वा हुंदैन भन्ने पक्कै थाहा छ । तर, के गर्नु लोभले निर्वाचन समितिका महत्वपूर्ण पद ओगटेका व्यक्तिलाई पनि खादाले झुकाएरै छाड्यो । यो प्रकरणले उनीहरुको भूमिकालाई पनि शंकाको घेरामा ल्याएको छ । आगामी दिनमा नेपाली समुदायले कस्तो सम्मान गर्ला थाहा पाउन केही समय पर्खनु पर्ला ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री