अमेरिका चीन व्यापार युद्ध, दुवैले गरे करवृद्धि

बेइजिङ, चीन, २ असोज – अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेको बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ ।

अमेरिकाले करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ ।

‘यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ’- मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ ।

अमेरिकाले चीनबाट आउने सामानमा दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याए बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको थियो ।

“यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार र चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताउनुभयो ।

विश्वका यि दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई चीनले गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो ।

तर मङ्गलबार अमेरिकी प्रशासनले गरेको निर्णयपछि चीनको यो प्रतिक्रिया आएको हो । ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ ।

अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । अमेरिकाको पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।

अमेरिकाले चीनबाट बार्षिक करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।

ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा

ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ ।

आगामी सोमबारदेखि लागू हुने अमेरिकी करबृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ । ट्रम्पले यसअघि नै ५० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करबृद्धि गरिसक्नुभएको छ । चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सोयाबिनको आपूर्तिमा करबृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपतिका समर्थक कृषकहरुमाथि चीनको यस कदमले असर पारेको छ ।

सर्वसाधारणको प्रतिक्रिया सुनेपछि ट्रम्प प्रशासनले चीनबाट आयात हुने साइकलका हेल्मेटजस्ता केही बालसुरक्षा सामाग्रीहरुमा करबृद्धि नगर्ने जनाएको छ । एप्पल कम्पनीका स्मार्ट घडीहरु र अरु केही इलेक्ट्रोनिक्स सामानलाई पनि करबृद्धिको पछिल्लो सूचीबाट हटाइएको छ ।

यहीबीच, ट्रम्प प्रशासनले चीनसँगको मध्यस्थता वार्तालाई खुलै राखेको जनाएको छ । “हाम्रा सरोकारलाई सम्बोधन गर्ने चीनसँग पर्याप्त अवसर छ,” ट्रम्पले एक विज्ञप्तिमा भन्नुभएको छ- “चिनीया नेताहरुले अनुचित व्यापारिक तौरतरिका अन्त्य गर्न तत्काल कार्य गर्नेछन् ।”

अमेरिकी प्रविधि प्रभुत्व समाप्त गर्ने बेइजिङको महत्वाकाङ्क्षालाई लिएर दुबै मुलुकबीच सङ्घर्ष जारी छ । अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले विदेशी प्रविधि हासिल गर्न चीनले अपनाएको नीति स्वीकार्य नरहेको जनाएको छ । चीनले अपनाएका प्रमुख रणनीतिहरुमा अमेरिकी व्यापारिक गोपनीयता फुत्काउनु र चिनीया बजारको प्रलोभन देखाएर विशिष्ट प्रविधिहरु चीनलाई हस्तान्तरण गर्नु रहेका छन् ।

ट्रम्पले अमेरिकाको चीनसँगको व्यापार घाटा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गर्नुभएको छ । गत वर्षमात्र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा ३३६ अर्ब डलर पुगेको थियो ।

चिनीया सामानमा भएको पछिल्लो करबृद्धिले अमेरिकी सर्वसाधारणलाई थप पीडा हुनेछ । ट्रम्प प्रशासनले घरेलु प्रयोजनका सामानमा गरेको करबृद्धिले अन्ततोगत्वा उपभोक्तामाथि नै अतिरिक्त व्ययभार थप्नेछ ।

ट्रम्पले राष्ट्रपतीय चुनावताका आयातित सामानमा करबृद्धि गर्ने र अमेरिकी कम्पनी तथा कामदारको प्रतिकूल हुने सबै व्यापारिक सम्झौताहरु रद्द गर्ने घोषणा गर्नुभएको थियो । तर विश्लेषकहरुले ट्रम्पको त्यस्तो कार्यले सफलता प्राप्त गर्न कठिन हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री