गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति

लन्डन। गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक (पहिलो मस्यौदा)मा गोर्खा शब्द राखिएकोमा आपत्ति जनाएको छ ।

मस्यौदामा गोर्खा र उनीहरुका सन्तानलाई एनआरएनसँग एउटै श्रेणीमा राखेकोमा कडा आपत्ति जनाउँदै सोमबार ११ मे २०२६ मा सीएनसीबीजीका अध्यक्ष थर्क राना नेतृत्वको प्रतिनिधिमण्डलले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । सीएनसीबीजीका प्रवक्ता पदम गाहा मगरले पढेर सुनाएपछि अध्यक्ष रानाले ज्ञापनपत्र कावा राजदूत दुवाडीलाई हस्तान्तरण गर्नुभएको थियो ।

भर्तीका कारण बेलायतमा बसोबास गर्न परेका गोर्खाहरूको नागरिकतासम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारसँग सीएनसीबीजी साथै अन्य गोर्खाजन्य संघसंस्थाहरूका प्रतिनिधिमण्डलको औपचारिक तथा गहन छलफलको व्यवस्था यथाशीघ्र मिलाई त्यससम्बन्धी राजदूतावासबाट भएका सम्पूर्ण पत्राचार साथै सम्बन्धित निकायहरुको जवाफ जस्ताको तस्तै तुरुन्त जानकारी गराइदिन सीएनसीबीजीले ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।
ज्ञापनपत्र बुझाएपछि अध्यक्ष रानाले सरकारले गोर्खाहरूको समस्या कानुनमै विशेष व्यवस्था गरी नसुल्झाउँदासम्म आफूहरुको अभियान नरोकिने प्रस्ट पार्नुभयो ।

कावा राजदूत दुवाडीले आफू निर्णय गर्ने ठाउॅमा नभएको उल्लेख गर्दै आफ्नो भूमिका गोर्खालगायत बेलायतवासी नेपालीहरूको पीडा नेपाल सरकारसमक्ष पुर्‍याउने रहेको बताउनुभयो । ‘नेपाल सरकार वा सम्बन्धित निकायसँग मेरो दैनिक सम्पर्क भइरहेको हुन्छ । हाल सरकारले ल्याएको गैरआवासीय नागरिकता मस्यौदा (विधेयक)मा गोर्खाहरू समेटिएका पनि मेरो जानकारीमा छैन,’ कावा राजदूत दुवाडीको भनाइ उद्धृत गर्दै अध्यक्ष रानाले भन्नुभयो, ‘तपाईंहरूको समस्या मैले नेपाल सरकारलाई बुझाउने हो, तपाईंहरू ढुक्क हुनुहोस् यो काम मबाट हुन्छ ।’

अध्यक्ष रानाका अनुसार कावा राजदूत दुवाडीले सीएनसीबीजीलगायत गोर्खा पनि स्पष्ट विकल्पसहित अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

अध्यक्ष रानाले आफूहरुको माग सबै सरकारसामु प्रस्टसँग राखिसकेका र त्यसलाई नेपाल सरकारले स्वीकार गरे पनि विभिन्न कारणले माग सम्बोधन नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री