लण्डनबाट फर्किएर खगेन्द्र संग्रौलाले लेखे – राजदूत दुबसु ‘माते पोथी’ जस्ता

लेखक खगेन्द्र संग्रौला

लण्डन – लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् ! बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु ।

जमानामा कहिल्यै घाम नअस्ताउने भूतल भनी धाक लगाउने साम्राज्य बेलायत । उपनिवेशपीडित जनहरू जाग्दै जाँदा र कब्जाकारीका अत्याचारहरूको पोल खुल्दै जाँदा आयतन खुम्चिएर शनै:शनै: बूढो बाघको औतारमा पतीत भएको बेलायत । नश्लीय राष्ट्रवाद र दक्षिणपन्थी अनुदारवादको नशाले लठ्ठ भई उन्मादी लहडमा ब्रेक्जिट भएको बेलायत । फलत: आर्थिक मन्दीले लगभग मूच्र्छित र आहत बनेको बेलायत । र, अहिले क्रूद्ध युरोपियन यूनियनले साटो फेर्न नाकाबन्दी नै पो लगाउला कि भनी भयाक्रान्त बेलायत । जे जसो भए पनि आखिर बूढो बाघ त यो हो नै । केही हप्ताअघि म ट्याक्क यो बूढो बाघको भूमि टेक्न पुगेँ । छोटो समय ।

प्रेमीजनहरूसँग फटाफट चिनारी साटासाट । केही हेर्न यता कुदाकुद, केही गर्न उता कुदाकुद । घरी कसैको केही सुन्नु, घरी कसैलाई केही भन्नु । नाथे दुई हप्ता त ब्रो, पत्तै नपाई बिते । यस्तो कुदाकुदको यात्रा वास्तवमा हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तै हो । त्यसैले मसँग यो यात्राबाट सँगालेका केन्द्रित, गहन र सघन अनुभूतिहरू केही नै छैनन् । छन् त मसँग केवल केही सतही पर्यटकीय अवलोकन, केही हतपते श्रवण, केही छरपस्ट कथनहरू ।

गन्थनको यो पहिलो पन्तुरो म यात्राको बीचबाट सुरु गर्छु । लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । ए, नचिनेका मानिस रहेछन् । तैपनि सोचेँ— निजलाई यसो मानार्थ फोनचाहिँ गर्नुपर्ला नै । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् !  मैले सायद कहिल्यै नभेटेका, तर रचना पढेर राम्रैसँग चिनेका । बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु । भेटमा तिनले मलाई बडो आदरभावले डिनरको निम्तो दिए । हस् महामहिम— मैले सहर्ष सकारेँ ।

अगस्त १३ । लन्डनको नेपाली दूतावासमा डिनरमा हाजिर हुने दिन । म फानबोरोमा थिएँ, आदिवासी–जनजाति महासंघ, यूके शाखाका अध्यक्ष जंग र जंगपत्नी भावना सुनुवारको निवासमा । त्यस दिन कुम्ला–कुटुरा बोकेर नरेश–सीमा काङमाङको हयारोस्थित घरमा सर्नु थियो । नरेश ब्रो परे आदिवासी जनजाति संघका पूर्वअध्यक्ष, युद्ध साहित्यका गम्भीर एवं नामी साधक र जनजातीय हकका अग्निवर्षी योद्धा । त्यस दिन मध्याह्नमा मलाई गेसो (गोर्खा भूपू सैनिक सघ) को भेलामा हाजिर हुनु छ । बराबरी हक र इज्जतको आन्दोलनको फल गेसोले के पायो र पाउन बाँकी के छ, हो त्यो सुन्न र जान्न । मलाई थाहा थिएन, गेसोका नयाँ सभापति रहेछन् कृष्णकुमार राई । पदमको कमान्डमा सञ्चालित गेसो आन्दोलनका मेरा पुराना मित्र । कृष्ण ब्रोको मलाई विशेष आग्रह छ— आइदेऊ, गोर्खा आन्दोलनको उकाली र ओराली, विग्रह र एकता, लाभ र ठेसका कथा–किस्साहरू सुनिदेऊ । र, नेपाल फर्केर अघोरी सरकारका कान थर्किने गरी हाम्रो बिन्ती सुनाइदेऊ । भन्दाभन्दै तिनले यो पनि भन्न भ्याए— नेपाल सरकार हाम्लाई हेप्छ, सायद तिम्रा कुरा सुन्ला । त्यसैल त ब्रो… !

थोरै तरुण, अलि धेरै अधबैँसे, थुप्रो पाका गोर्खाहरू । गेसोको सानो हलमा गोर्खाजनहरू अटाइनअटाइ जुटे । र, भन्नु–सुन्नुको रोचक मेसो सुरु भयो । गेसोको अन्तरंग छलफल र सुस्वादु खानपिन सकिँदा ४ बज्यो । मेरो गाइड मित्र नरहाङ राईले सोधे— ‘दाइ, कुम्ला–कुटुरा नरेशकहाँ थन्क्यार दूतावास जाने हो ?’

‘हो नि’,हत्तपत्त मैले भनेँ । दूतावास नामक कूटनीतिक गृहमा, नितान्त औपचारिक भेटमा, हाँडीघोप्टे काइदाले कुम्ला–कुटुरा बोकेर जानु पनि के जानु ? बस्, अब हामी लाग्यौँ नरेश–सीमा गृहतिर । साथमा तीनजना छन्— नेतृ क्षेत्रकला राई, गोर्खा लडाकु नरहाङ र तन्नेरी भाइ किरण राई । नरेशको घर कुन दिशामा पर्छ र नेपाली दूतावास कता छ ? यता र उता गरी बाटो कति लामो छ ? मलाई केही अत्तोपत्तो छैन । तर, म ढुक्क छु, सावधान अगुवाले पक्कै समयको हिसाब राखेका होलान् । रेल चढ्यो, रेल फेर्‍यो । बस चढ्यो, बस फेर्‍यो । त्यो पनि एक–दुई होइन, तीन–चार ठाउँमा । डिनरमा निम्ता छ सात बजे, अहिले भइसक्यो सवा ६ बजे । समयको माम्लोमा नरेश ब्रो मित्र कृष्ण पहाडीजस्ता छन् । साह्रै कडा ! तिनका लागि सात बजे भनेको सातै बजे हो । ट्याक्क । हामी ढिलो पुग्दा तिनका राँकिएका कन्चटमा चिट्चिट पसिना आइसकेका रहेछन् । मलुवा लबजमा तिनले झोँक पोखी पनि हाले । कुराका छिद्रमा रफ्फु भर्दै मैले भनेँ— केही छैन, ब्रो । हामीमध्ये कोही पनि प्रमुख अतिथि होइनौँ क्यारे । अनि डिनर पार्टी कठोर प्रहरी अड्डाको तारेख पनि त होइन ।

हामी हस्याङफस्याङ गर्दै दूतावासतिर लाग्यौँ । नरेश, क्षेत्रकला, नरहाङ, किरण र म । लाग्न त ढिलो भएकोमा मलाई पनि असहज नलागेको होइन । दूतावास हो, त्यो पनि अन्तको होइन, समयको मूल्य बुझ्ने बेलायतको । त्यहाँ त पक्कै सीआईए टाइम चल्दो हो । गइयो र चाल पाइयो— केको चल्थ्यो ? त्यहाँ पनि नेपालकै ताल रहेछ । उस्तै ढिलढाल, उस्तै आलस्य, उस्तै सुस्तता । हामी पन्ध्र मिनेट विलम्ब गरी पुग्यौँ । डिनरमा निम्ता थियो नोबलकिशोर राइर्, तुलसी दिवस, गोविन्दराज भट्टराई र मलाई । सोचेको थिएँ— हदै भए यताउताका अरु त्यही पाँच–सात जना जन थपिएलान् । आम्मामामा ! जब भीड देखेँ, म त्यसैत्यसै चकित भएँ । त्यहाँ त नर्तकी र गायिका, गजलकार र कवि, गद्यकार र गफाडी, थप्पडीबाज र हाहाहोहोको सानोतिनो जम्बोरी पो छ बा । छाँटले लघु आकारको पार्टी खोल्न पुग्ने जम्बोरी । हेर्छु, कसैका हातमा कोक छ, कसैका हातमा बियर । कसैका हातमा फलादीको रस छ, अनि कोही मस्ती मुद्रामा मानौँ, केही कडा जिनिसको चुस्की लिइरहेछ । वातावरण छ बडो रङ्गीन र रोमाञ्चक । हैन, के सोचेर कहाँ पुग्न हिँडेको म यो कहाँ पो पुगेँ हाव गाँठ्ठे !

प्रमुख अतिथि रहेछन् कवि श्री तुलसी दिवस । दूतावासको त्यो जमघट उनकै पर्खाइमा रहेछ । दिनभरिको धपेडीले लास्टै थकित थिएँ म । मलाई महामहिमसँग मुस्कान आदानप्रदान गरी गाँस टिपेर बाटो लागिहाल्न मन थियो । आउलान् कि भन्यो, अब त आउलान् कि भन्यो, हैन अब त कसो नआउलान् भन्यो। अहँ, तुलसी दाइको नाकमुख देख्नु छैन । नोबलकिशोर र गोविन्द सर अघि नै आइसकेका छन् । तिनका अनुहार हेर्छु, ती पनि थकित, दिक्क र क्लान्त छन् । तर निम्तालुले घरबेटीसँग केही भन्न नमिल्ने । भने भद्रतामा खलल पर्ने । यातनामय पर्खाइको निसासलाग्दो क्षणमा तुलसी दाइकै नितान्त मौलिक भाकामा मलाई ख्याँस्स कविता फुर्‍यो –

पर्खंदा पर्खंदा निरीह पर्खाइ नै थाकेपछि
पर्खने नाथेको पनि केही लाग्दो रहेनछ ।

Ambassador dubasu

राजदूत सुबेदी

आखिरमा दुई घण्टाको पटयारलाग्दो पर्खाइपछि हाँसझैँ हल्लिँदै तुलसी दाइको सवारी भयो । र, बल्ल औपचारिकताको सनातनी र सुस्त लयमा सुरु भयो कार्यक्रम । तुलसी दाइलाई त गाँठ्ठे ! ढिलो गरी आउनु, माझमा सुत्न पाउनु भनेजस्तो भयो । लेखान्तकै फल पो हो कि, तुलसी दाइलाई माइकमा एकाधिकार प्राप्त भयो । अतिथिहरूमध्ये एकल वक्ता उनै भए, एकल वाचक पनि उनै । मनमनै कुरा खेलाएँ, काइदा त यो पो रहेछ बाबै † थुप्रो प्रतीक्षाकारीजनको दुदुई घण्टा आयु भक्षण गरी ढिलो आऊ, तालुको आलु मुसार्दै झ्याप्प डबली कब्जा गर र विछट्टको अभिनय प्रस्तुत गर । रंगमञ्चमा एकल तुलसी दाइको सुपरिचित अभिनय सुरु भयो । खासमा तुलसी दाइको भाषण वा कविता भन्नु नै ‘मुहार, मुद्रा र स्वरको जादुमयी नर्तन’ हो । त्यो अन्तरवस्तु होइन, केवल रूप हो । त्यो विचारतत्त्व होइन, केवल कथनको नूतन एवं चटके काइदा हो । त्यो कुनै सारभूत अर्थ होइन, केवल अर्थको भ्रम हो । उनै दाज्यैको पुरानो टेप उनै दाज्यैले बजाएजस्तो लाग्ने भाषण सुन्न विवश हुँदाको उच्चाटलाग्दो क्षणमा मलाई एउटा कुराको झ्याट्ट याद आयो । एक वामपन्थी युवकले एक दख्खिनपन्थी युवकलाई सोधेछन्— ‘हन ब्रो, साहित्यको सुकिलो डबलीमा तुलसी दाइको यत्रो भाउ किन छ हँ ?’ उत्तर युवकका जिब्राका टुप्पामै झुन्डिएको रहेछ— किनभने यार, तुलसी दाइ सधैँ टाई–सुटमा चिरिच्याँट्ट सिँगारिएर आउँछन् । उनमा भद्र परिधानको संस्कार बडो परिष्कृत छ । उनी थोडै फयाङ्ले लुगामा झुत्रो झोला हल्लाउँदै हिँड्ने झल्ला लेखक हुन् र ? पारखीको यो चाखलाग्दो जवाफ एकदमै अर्थपूर्ण छ । यो जवाफको गूढ तत्त्व वास्तवमा रूपवादप्रतिको प्रगाढ मोह हो ।

अँ, मेरो जीउमा भारी थकान छ, र आँखामा छ गाढा निन्द्रा । तुलसी दाइको ठोस स्वरलहरी र प्रवाहमय भाषण कुन बेला तुरिने हो, केही थाहा छैन । यस्तोमा मेरो विकर्षित मन दूतावास भवनको कल्पनातीत भव्यतातर्फ लहसिन्छ । गर्धन उचालेर हेर्छु— कार्यक्रम भइरहेको हलको सिलिङ पैँतीस–चालीस फिट अग्लो छ । भित्ता र सिलिङको रंगसज्जा विछट्टै कोमल, सुन्दर र आह्लादक छ । खण्डखण्डमा प्रकृति, संस्कृति र मानव–सम्बन्ध झल्काउने आकृति, प्रतीक र चिह्नहरू छन् । जति हेर्‍यो उति अपलक हेरिरहूँ लाग्ने । एकदमै शब्दातीत । अबोध र निश्छल गोर्खाली लडाकुहरू साम्राज्यवादी तोपको सस्तो चारो भइदिएबापत महारानीले धेरै वर्षअघि कृपा गरेको मायाको चिनो हो यो ।

युवा वयदेखिका मेरा लँगौटिया यार नोबलकिशोर राई गुत्थ फुलेर मेरो छेउमा बसेका छन् । थाहा छ, त्यहाँबाट टाप कस्न मलाईभन्दा उनलाई धेरै हतार छ । कानमा खुसुक्क सोध्छु— ‘पार्टनर, ज्यानलाई यो दरबार कस्तो लाग्यो ?’

‘अति सुन्दर’, संक्षिप्त जवाफ आयो। तर पार्टनर, नेपालको लुरे अर्थतन्त्रले यो विशालकाय हात्तीलाई पाल्नै सक्दैन । पाल्न खोजे आफैँ थला पर्छ । मित्र, हाम्रालागि यो जति शान हो त्यति नै बोझ हो यो । प्रसङ्गवश, मलाई दूतावास भवनमाथि लुब्धमति लोर्केहरूको गिद्धदृष्टिको याद आयो । मर्मत–सम्भार गर्न नसकिने भो भन्दै तिनले भवन बेच्न खोजे । बेच्न खोज्ने सायद यसअघिका कुनै राजदूत र तिनका आसेपासेहरू थिए । बेलायतबासी नेपालीहरूले राष्ट्रवादको लयमा गर्जनमय विरोध बोले । भावुक र रुमानी लबजमा तिनले भने— बरु भोकै बसेर हामी यो भवनको रक्षा गर्छौँ, यसलाई बेचेर कमिसन हसुर्न पाइँदैन । बस्, बिक्रीको दाउ र कमिसनको च्याँखे गोपीक्याँच भयो । र, भवन धन्न बँच्यो । तर विकराल समस्या ज्यूँका त्यूँ छ । भवन सायद सय वर्ष पुरानो होला । अब यसले दिनदिनै महँगो न महँगो मर्मत–सम्भार माग्छ । यथेष्ट मर्मत–सम्भार नगरूँ, भवन धूलिसात् हुन्छ । गरूँ, नेपालको दुर्लभ बजेटको निकै नै ढ्याके रकम यसमा झ्वाम् हुन्छ । त्यहीबेला नोबलले हो कि नरहाङले, मेरा कानमा एउटा व्यावहारिक जुक्ति सुझाए । सर्प पनि मर्ने, लौरो पनि नभाँचिने जुक्ति । दूतावास भवन भाडामा दिन सकिन्छ । अनि ? अनि यो भव्यतम् भवनको ढ्याके भाडाले अर्को ठिक्कको दूतावास भवनको भाडा तिर्न पनि पुग्छ, यसको बकाइदा मर्मत–सम्भार गर्न पनि पुग्छ । तर फसाद छ ! यसो गर्नु गोर्खाली शानविपरीत हुन्छ । र, त्यो गोर्खे राष्ट्रवादको मानविपरीत हुन्छ । नेपालको दरिद्रता र दीनता सारा जगत्का नजरमा पर्छ र नेपालको नाक ठनक्कै काटिन्छ । तब गर्ने के ? केही पनि नगर्ने । किन ? किनभने ओलीय स्वैरकल्पनाको चकाचक समृद्धिले यस्ता नाथे आर्थिक समस्यालाई कसो सहजै नटार्ला ? यहाँनेर लागेर बालकृष्ण सम सम्झनामा आए –

तँ चिता म पुर्‍याउँछु
कि चीतामा पुर्‍याउँछु !

अँ, रात छिप्पिइसक्यो । मेरो थकान र निन्द्रा झनै बढेर गयो । अब भने मलाई रमरम झोँक चल्न थाल्यो । धन्य कैलाशपति शम्भो ! तुलसी दाइको भाषणका पुराना शब्दलहरमा उस्तै शब्दहरू खप्टिने क्रम कतै नतुरिएला कि भन्ने डर थियो । अबलाई त्यो तुरियो । र, प्रिय दाइको लम्बेतान कविता वाचन पनि सकियो । नाचहरू भए, गीतहरू गाइए, गजलमा रुद्रघण्टीहरू हल्लिए, कविताहरू बाचिए । अनि घरबेटी महामहिम दुबसु क्षत्रीको बोल्ने पालो आयो । ती जब सम्मान गरिने पात्रहरूको चिनारी खुलाउन थाले, म त्यसैत्यसै चकित र पुलकित भएँ । दुबसु ब्रो मेरो पहिलो मुद्रित रचनाभन्दा एक वर्ष कान्छा रहेछन् । उनैले इतिहासका पत्र पल्टाउँदै भाषणमा मलाई सुनाएका । म आफैँले बिर्सेको त्यो भुवामय भावुकता र रुमानी रोइलोयुक्त कथाको शीर्षक रहेछ— ‘अधुरो प्रेम, भिजेको रुमाल ।’

लन्डनवासी नेपाली जनहरूका वचनमा घरीघरी यी महामहिमप्रति प्रशंसा र कृतज्ञताको गुन्जन सुनिन्छ । कारण ? कारण एक होइन, अनेक रहेछन् । दुबसु परे आफैँ साहित्यका स्रष्टा र पारखी । कनिष्ट स्रष्टाहरूलाई प्रेमले डोर्‍याउनु र वरिष्ठहरूलाई नतमस्तक भई आदर गर्नु यिनको दिनचर्यातुल्य धर्म । लन्डनवासी नेपाली कविहरूका कविताको ढयाके सँगालोका यी प्रेमिल सम्पादक । लन्डनमा संघ–संस्थाहरू त गाँठ्ठे ! नेपालमा जस्तै बर्खायामका च्याउसरी छयास्छयास्ती ! तिनका सभामा गइदिन दुबसु ब्रोलाई दिनदिनै भ्याईनभ्याई । छाँटले ती कुनै सभा छाड्दैनन्, कुनै सभामा पूरा बस्न पाउँदैनन् । सके एउटा सभाको अवधिमा तिनले चारवटा सभामा हाजिरी दिन भ्याउँछन् । यसो हेर्दा दुबसु ‘माते पोथी’ जस्ता लाग्छन्, अनगिन्ती संस्थाहरू ममतामयी पोथीका न्याना पखेटामुनि स्नेह संरक्षण पाउने चल्लाजस्ता । कान थापेर कुरा सुन्दा संघर्षरत गोर्खा भूपूहरू पनि दुबसुसँग प्रसन्न छन् । आखिर किन ? भूपूहरूका मुखारविन्दबाट सुनेँ— दुबसु गोर्खा सिपाहीको समान हकको मुद्दामा बेलायती अधिकारीसँग लत्रिएर होइन, डटेर बोल्छन् । हात मल्दै होइन, शिर ठाडो पारेर बहस गर्छन् । दुई सय वर्षको अन्यायी इतिहास सच्याउन ट्वाक्क जोड दिन्छन् । समकक्षी गोरासरह पेन्सन, युद्धपछि खाली खुट्टा खेदिएकालाई राजकीय पेन्सन, विकलांगलाई दबाइमूलोको सुविधा । अरे ब्रो, अबलाई जाग्यो पीडित गोर्खाली । अब हामीलाई बराबरी नदिई धरै छैन । गोर्खा लडाकूहरूलाई काम परे भाँडो, काम सकिए ठाँडो गर्न पाइँदैन गोरा महोदय ! आज नभए भोलि, भोलि नभए पर्सि, समान हक र सुविधा लिएरै छाडिन्छ । समय हेर्दै जाओस् ।

महामहिमद्वारा निम्तालुजनलाई सम्मान र उपहार प्रदानपछि बाह्र हात लामो कार्यक्रम समापन भयो । र, हत्तपत्त गाँस टिपेर आँखा मिच्दै नरेश–सीमागृहको बासतिर म कुदेँ— छुक्छुक् रेलैमा ।

साभार- कान्तिपुर कोशेली 

प्रतिक्रिया

सम्बन्धित सामाग्री