
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफल पार्ने विषयमा नेपाल सरकारसँग छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयको आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्मा, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, अध्यक्ष महेशकुमार श्रेष्ठलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा आगामी १२औँ महाधिवेशन तथा एनआरएनए ग्लोबल सम्मेलनको तयारी, आवश्यक समन्वय तथा बाँकी प्रक्रियाहरू टुंग्याउने विषयमा छलफल भएको एनआरएनएले जनाएको छ । सम्मेलनलाई सफल बनाउन उच्चस्तरीय समन्वयलाई थप प्रभावकारी बनाउने सहमति समेत भएको बताइएको छ । सम्मेलनमा विश्वभरबाट करिब ४ हजार प्रतिनिधि (डेलिगेट) सहभागी हुने अपेक्षा गरिएको छ ।
बैठकमा परराष्ट्रमन्त्री बलानन्द शर्माले आगामी १२औँ एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनलाई लिएर विश्वास र सकारात्मक सन्देश दिनुभएको छ । मन्त्री शर्माले भन्नुभयो, ‘एनआरएनमा केही कमी देखिए पनि, नेतृत्वमा देखिएका चुनौतीहरू सम्मेलनमार्फत समाधान हुने विश्वास छ ।’ उहाँले देश अहिले आकांक्षामय अवस्थामा रहेको र एनआरएनले देखाएको सक्रिय सहभागिताले समस्या पहिचान गरेर अगाडि बढ्न मद्दत गर्ने बताउनुभयो l
मन्त्री शर्माले नेपालमा नीतिगत रूपमा सबै संघ–संस्था बीच समन्वय आवश्यक रहेको र आगामी सरकारले नेपाली नागरिकले दिएको म्यान्डेट पूरा गर्ने अपेक्षा राखेको उल्लेख गर्नुभयो । यस सन्दर्भमा कुन क्षेत्रमा के गर्नुपर्ने भन्ने स्पष्टता एनआरएनएमा पनि हुनुपर्नेमा उहाँले जोड दिनुभयो
बैठकमा अनलाइन भोटिङको नमुना प्रणाली तयार गर्न र सरकारले त्यसलाई अवलम्बन गर्नुपर्ने उल्लेख पनि गर्नुभयो । साथै, एनआरएनको विश्वव्यापी नेटवर्क फैलावट र प्रभावकारिताको प्रशंसा गर्दै सांस्कृतिक संरक्षण र बलियो बनाउने आवश्यकता औंल्याउनुभयो ।
यस्तै विदेशमा रहेका नेपालीहरूको अनुभव र तथ्यांक संकलन गरेर ठोस आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो । यसले आगामी सम्मेलनमा निर्णय र नीति निर्माणलाई व्यावहारिक, प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मन्त्री शर्माले सम्मेलन सफल बनाउन एनआरएनसँग सहयोग जारी रहने र आगामी दिनमा नेपाल–एनआरएन सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअघि बैठकलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले १२औँ महाधिवेशनको तयारीबारे जानकारी गराउनुभयो । उहाँले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
अध्यक्ष केसीले “एक पटकको नेपाली, सधैंको नेपाली नागरिक” भन्ने अवधारणाको पक्षमा आफूहरूले निरन्तर वकालत गर्दै आएको पनि बताउनुभयो । १२औँ महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ भने उद्घाटनकै दिन वैदेशिक रोजगार, युवा, महिला, संस्कृति तथा रूपान्तरणलगायत विषयमा चार वटा सत्रमा छलफल हुनेछ । सम्मेलनको समापन प्रधानमन्त्रीबाट हुने जानकारी पनि उहाँले दिनुभयो ।
एनआरएनएका अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले विगतमा देखिएका केही असमझदारीका कारण संगठनको मूल उद्देश्य कमजोर भएको भए पनि अहिले परराष्ट्र मन्त्रालयले एनआरएनप्रति देखाएको विश्वासका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विदेशमा बसोबास गर्ने नेपालीहरूसँग वार्षिक करिब २० खर्ब रुपैयाँ बराबरको पूँजी रहेको उल्लेख गर्दै उपयुक्त कानुनी व्यवस्था र लगानीमैत्री वातावरण बनेमा उक्त पूँजी नेपालमा भित्र्याउन सकिने बताउनुभयो ।
बैठकमा सहभागीहरूले गैरआवासीय नेपालीहरूको एकता र सहकार्य नेपालको आर्थिक, सामाजिक तथा विकासको यात्रामा महत्वपूर्ण हुने भन्दै आगामी एनआरएनए महाधिवेशन तथा विश्व सम्मेलनलाई सफल बनाउन सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]