
लन्डन । घोषणा भएको ५० दिनमै बेलायतको संसदीय निर्वाचन गत बिहीबार सम्पन्न भयो । प्रधानमन्त्री टेरेजा मेले ताजा जनादेश लिन भन्दै पदावधि सकिन तीन वर्ष बांकी रहंदा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आतंकवादको चरम चपेटामा परेको बेलायतले सुरक्षा चुनौतीबीच निर्वाचन सम्पन्न गरयो । बेलायती संसदमा ६५० सिटका लागि भएको उक्त निर्वाचनमा ४ करोड ६९ लाख योग्य मतदातामध्ये ७० प्रतिशतले देशभरका ४० हजार केन्द्रबाट मतदान गरे । यसवर्षको सहभागिता २५ वर्ष यताकै सबैभन्दा धेरै भएको बेलायती मिडियाको विश्लेषण छ ।
राती १० बजे मतदान सकियो र बिहासम्म एक सिटको पुन गणनाले ढिलाइ बाहेक लगभग सबै क्षेत्रको नतिजा आयो । कुन क्षेत्रले नतिजा पहिलोपटक सार्वजनिक गर्ने भन्ने प्रतिष्पर्धामा हाउटन एण्ड सन्डरल्याण्ड साउथको नतिजा एक घण्टा अर्थात राती ११ बजेभित्रै सार्वजनिक भएको थियो । राती एक बजेसम्म ५ निर्वाचन क्षेत्रका परिणाम आइसकेका थिए ।
यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । वर्तमान प्रधानमन्त्री मेको कन्जरभेटिभले ३१८, प्रतिपक्षी लेबर पार्टीले २६२, स्कटिस नेशनल पार्टीले ३५ र लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जिते । बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्ने भएपनि स्पष्ट बहुमत नआएपछि प्रधानमन्त्री मेले १० सिटमात्र जितेको नर्दन आयरल्याण्डको डेमोक्रेटिक यूनियनिष्ट पार्टी (डियूपी) संग मिलेर सरकार बनाउने कसरत थालेकी छन् ।
नेपालमा दुई दशकपछि घोषणा गरिएको स्थानीय निर्वाचनको दोश्रो चरण हुन अझै बांकी छ । पहिलो चरणको निर्वाचन नतिजा (भरतपुरबाहेक) आउन हप्तौं लाग्यो । आखिर बेलायतमा त्यति छिटो मतगणना कसरी सम्भव छ ? बेलायतको निर्वाचनमा छिटो परिणाम आउनुका केही मुख्य कारण छन् ।
यहां उम्मेदवार संख्या कम, मतपत्र सामान्य अनि स्पष्ट हुन्छ । यातायात सुविधाले निर्वाचन सकिएको करिब ३० मिनेट भित्र सबै मत पेटिका मत गणना स्थल आइपुग्छन् । पूर्व तयारीसहित जनशक्ति परिचालन अत्यधिक र विश्वासको भरमा काम गरिन्छ ।
यहां मतगणना छिटो हुनुमा पांच कारण देख्छन् अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं बेलायती परराष्ट्रमन्त्रीको सल्लाहकार समितिमा रहेर काम गरिसकेका डा. सूर्यप्रसाद सुवेदी । उनको बुझाइमा लामो समयको अभ्यास र परिक्षण भइसकेको प्रणाली लागू, थोरै उम्मेदवार, सानो र सामान्य मतपत्र, व्यवसायिक निर्वाचन अधिकृत वा रिटर्निङ अफिसर एवं शिक्षित मतदाताका कारण छिटो नतिजा आउंछ ।
बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट उठेर पराजित पहिलो नेपाली मुलका उम्मेदवार डा. बच्चु कैलाश कैनीले यातायातको सुगमता, जनशक्ति, प्रभावकारी व्यवस्था, पूर्व तयारी र विश्वासलाई मुख्य कारण मानेका छन् ।
कैनीले निर्वाचनका दिन आफ्नो निर्वाचन क्षेत्रमा मत गन्न र निर्वाचन घोषणा गर्न करिब १०० जना कर्मचारी खटिएको बताए । ‘यहां पूर्ण तयारी, छिटो काम सक्नु पर्छ भन्ने मानसिकता तथा प्रभावकारी रुपमा जनशक्ति, श्रोत र साधनको परिचालन हुन्छ’, कैनी थप्छन्, ‘मत गन्ने दिनमा एक जना उम्मेदवारले १० जना एजेन्ट राख्न पाउंछन् । तर, सबै कर्मचारीको विश्वासमा काम हुन्छ । एजेन्टले कुनै कुरा हेर्नु पर्दैन । अर्को कुरा यहांका कर्मचारी इमान्दार र भरपर्दाे हुन्छन् ।’
मतगणना स्थलमा एजेन्टका रुपमा सहभागी लक्ष्य गुरुङका अनुसार, लामो टेबलमा एकातिर गणना गर्ने कर्मचारी र अर्कोतिर एजेन्ट बसेका हुन्छन् । शुरुमा सिल गरेर ल्याइएको ब्यालेट बक्समा भएको मतपत्र संख्या लेखिए बमोजिम ठीक छ छैन् रुजु गरिन्छ । दोश्रो चरणमा कुन पार्टी वा उम्मेदवारको हो छुटयाएर ट्रेमा राखिन्छ र तेश्रो चरणमा गणना गरिन्छ । गणना सकिएपछि पनि फेरि जांचिन्छ ।
लन्डन बरो अफ बार्नेट क्षेत्रको गणनामा बसेका गुरुङले बिहान ६ बजे नतिजा घोषणा भइसकेको जनाए । उक्त क्षेत्रमा तीन सांसदको २१ वडाका २१ वटै टेबल राखिएका थिए र एक टेबुलमा ६ जनाले मत गनेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]