बेलायतको मतगणना एकै रातमा, नेपालमा हप्तौं


लन्डन । घोषणा भएको ५० दिनमै बेलायतको संसदीय निर्वाचन गत बिहीबार सम्पन्न भयो । प्रधानमन्त्री टेरेजा मेले ताजा जनादेश लिन भन्दै पदावधि सकिन तीन वर्ष बांकी रहंदा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आतंकवादको चरम चपेटामा परेको बेलायतले सुरक्षा चुनौतीबीच निर्वाचन सम्पन्न गरयो । बेलायती संसदमा ६५० सिटका लागि भएको उक्त निर्वाचनमा ४ करोड ६९ लाख योग्य मतदातामध्ये ७० प्रतिशतले देशभरका ४० हजार केन्द्रबाट मतदान गरे । यसवर्षको सहभागिता २५ वर्ष यताकै सबैभन्दा धेरै भएको बेलायती मिडियाको विश्लेषण छ ।

राती १० बजे मतदान सकियो र बिहासम्म एक सिटको पुन गणनाले ढिलाइ बाहेक लगभग सबै क्षेत्रको नतिजा आयो । कुन क्षेत्रले नतिजा पहिलोपटक सार्वजनिक गर्ने भन्ने प्रतिष्पर्धामा हाउटन एण्ड सन्डरल्याण्ड साउथको नतिजा एक घण्टा अर्थात राती ११ बजेभित्रै सार्वजनिक भएको थियो । राती एक बजेसम्म ५ निर्वाचन क्षेत्रका परिणाम आइसकेका थिए ।

यो निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । वर्तमान प्रधानमन्त्री मेको कन्जरभेटिभले ३१८, प्रतिपक्षी लेबर पार्टीले २६२, स्कटिस नेशनल पार्टीले ३५ र लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जिते । बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्ने भएपनि स्पष्ट बहुमत नआएपछि प्रधानमन्त्री मेले १० सिटमात्र जितेको नर्दन आयरल्याण्डको डेमोक्रेटिक यूनियनिष्ट पार्टी (डियूपी) संग मिलेर सरकार बनाउने कसरत थालेकी छन् ।

नेपालमा दुई दशकपछि घोषणा गरिएको स्थानीय निर्वाचनको दोश्रो चरण हुन अझै बांकी छ । पहिलो चरणको निर्वाचन नतिजा (भरतपुरबाहेक) आउन हप्तौं लाग्यो । आखिर बेलायतमा त्यति छिटो मतगणना कसरी सम्भव छ ? बेलायतको निर्वाचनमा छिटो परिणाम आउनुका केही मुख्य कारण छन् ।

यहां उम्मेदवार संख्या कम, मतपत्र सामान्य अनि स्पष्ट हुन्छ । यातायात सुविधाले निर्वाचन सकिएको करिब ३० मिनेट भित्र सबै मत पेटिका मत गणना स्थल आइपुग्छन् । पूर्व तयारीसहित जनशक्ति परिचालन अत्यधिक र विश्वासको भरमा काम गरिन्छ ।

यहां मतगणना छिटो हुनुमा पांच कारण देख्छन् अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं बेलायती 
परराष्ट्रमन्त्रीको सल्लाहकार समितिमा रहेर काम गरिसकेका डा. सूर्यप्रसाद सुवेदी । उनको बुझाइमा लामो समयको अभ्यास र परिक्षण भइसकेको प्रणाली लागू, थोरै उम्मेदवार, सानो र सामान्य मतपत्र, व्यवसायिक निर्वाचन अधिकृत वा रिटर्निङ अफिसर एवं शिक्षित मतदाताका कारण छिटो नतिजा आउंछ ।

बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट उठेर पराजित पहिलो नेपाली मुलका उम्मेदवार डा. बच्चु कैलाश कैनीले यातायातको सुगमता, जनशक्ति, प्रभावकारी व्यवस्था, पूर्व तयारी र विश्वासलाई मुख्य कारण मानेका छन् ।

कैनीले निर्वाचनका दिन आफ्नो निर्वाचन क्षेत्रमा मत गन्न र निर्वाचन घोषणा गर्न करिब १०० जना कर्मचारी खटिएको बताए । ‘यहां पूर्ण तयारी, छिटो काम सक्नु पर्छ भन्ने मानसिकता तथा प्रभावकारी रुपमा जनशक्ति, श्रोत र साधनको परिचालन हुन्छ’, कैनी थप्छन्, ‘मत गन्ने दिनमा एक जना उम्मेदवारले १० जना एजेन्ट राख्न पाउंछन् । तर, सबै कर्मचारीको विश्वासमा काम हुन्छ । एजेन्टले कुनै कुरा हेर्नु पर्दैन । अर्को कुरा यहांका कर्मचारी इमान्दार र भरपर्दाे हुन्छन् ।’

मतगणना स्थलमा एजेन्टका रुपमा सहभागी लक्ष्य गुरुङका अनुसार, लामो टेबलमा एकातिर गणना गर्ने कर्मचारी र अर्कोतिर एजेन्ट बसेका हुन्छन् । शुरुमा सिल गरेर ल्याइएको ब्यालेट बक्समा भएको मतपत्र संख्या लेखिए बमोजिम ठीक छ छैन् रुजु गरिन्छ । दोश्रो चरणमा कुन पार्टी वा उम्मेदवारको हो छुटयाएर ट्रेमा राखिन्छ र तेश्रो चरणमा गणना गरिन्छ । गणना सकिएपछि पनि फेरि जांचिन्छ ।

लन्डन बरो अफ बार्नेट क्षेत्रको गणनामा बसेका गुरुङले बिहान ६ बजे नतिजा घोषणा भइसकेको जनाए । उक्त क्षेत्रमा तीन 
सांसदको २१ वडाका २१ वटै टेबल राखिएका थिए र एक टेबुलमा ६ जनाले मत गनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री