परशुदाईका जिन्दगीका मोडहरु

Parshu dai book cover
यतिखेर मेरो हातमा छ – साहित्यकार परशु प्रधानको नयाँ कृति ‘जिन्दगीका मोडहरु’ । परशुदाई एक सफल आख्यानकार हुनुहुन्छ । उहाँका एक दर्जनभन्दा धेरै कथा संग्रह, तीनवटा उपन्यास, दुई कथोपन्यास र एक दर्जनभन्दा धेरै बालसाहित्यका कृतिहरु प्रकाशित छन् । त्यस्तै उहाँका भूमिका संग्रह, अन्तर्वार्ता संग्रह र अन्य धेरै साहित्येतर कृतिहरु प्रकाशित छन् । त्यस्तै उहां करिब दुई दर्जन जति साहित्यिक पुरस्कार र सम्मानहरुबाट सम्मानित हुनुहुन्छ ।
‘जिन्दगीका मोडहरु’ लाई प्रस्तुत गर्ने क्रममा परशुदाईले आफ्ना संस्मरणहरुलाई पाँच खण्डमा विभाजन गर्नु भएको छ । जीवन–संघर्ष, जागिरे जीवन, साहित्य–सन्दर्भ, सम्झिएका–बिर्सिएका साहित्यकार र विदेश र विदेशीका कुरा ।
जीवन–संघर्ष अन्तर्गत परशुदाईका पाँचवटा संघर्षका सन्दर्भहरु प्रस्तुत छन् । ती पाँच संघर्ष मध्ये ‘मेरो अन्तर्जातीय बिहा प्रसंग’ उल्लेख्य छ । पुरानो मुलुकी ऐनले कानुनी रुपमा अपराध नै ठानेको बेलामा परशुदाईले कसरी जानुकादेवी रेग्मी (कल्पना प्रधान) संग अन्तर्जातीय विवाह गर्नु भयो र नयाँ मुलुकी ऐन नआउन्जेलसम्म तराई, मोरङ र बाराणसीतिर लुक्न जानु परेको स्थिति प्रस्तुत गरिएको छ उक्त प्रसंगमा ।
जागिरे जीवन अन्तरगत परशुदाईले सरकारी जागिरे भएर देशका बिभिन्न भागहरुमा काम गर्दाका अनुभवहरुलाई बाड्नु भएको छ । उहाँ सिडियो हुँदाका रोचक घटनाहरुदेखि जागिरे परिवेशले कसरी साहित्यिक रचनाहरु गर्नका लागि विषयबस्तुहरु उपलब्ध गरायो भन्ने प्रसंगहरु समेटिएका छन् यस खण्डमा । जागिरे जीवनका केही अनुभूतिहरु उल्लेख छन् । परशुदाई लेख्नु हुन्छ, ‘योग्य, दक्ष र राष्ट्रलाई बनाउन सक्षम व्यक्तिहरुलाई यो राष्ट्रले कहिल्यै चिन्दैन ।’ परशुदाईको अर्को कुरा पनि एकदमै मनन योग्य छ । उहाँ लेख्नु हुन्छ, ‘माथिल्लो तहमा रहेका पदाधिकारीहरु सबै कुनै न कुनै स्थिति र समयमा भ्रष्ट छन्, छन् । ती भ्रष्ट संस्कारबाट आएका हुनाले राष्ट्रमा भ्रष्टचार हट्दैन ।’
साहित्य–सन्दर्भ अन्तरगत ‘म किन र कसरी साहित्यकार भएँ ?’ तथा ‘प्रज्ञा प्रतिष्ठान भित्र–बाहिर’ रोचक छन् । प्रज्ञा प्रतिष्ठानको उपकुलपतिदेखि प्राज्ञहरुको नियुक्तिमा हुने चलखेल, षडयन्त्र, अन्याय र असन्तुष्टिहरुका बिभिन्न सन्दर्भहरुको चर्चा गर्नु भएको छ परशुदाईले ‘प्रज्ञा प्रतिष्ठान भित्र–बाहिर’ मा ।
सम्झिएका–बिर्सिएका साहित्यकार खण्डमा कवि तथा साहित्यकारहरु केदारमान व्यथित, डायमण्ड शमशेर राणा, दौलतविक्रम बिष्ट, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, वासु शशी, लीलबहादुर क्षेत्री, विन्द्या सुब्बासंगका संस्मरणहरु छन् । त्यस्तै आफुले वाणी प्रकाशन छोड्नु परेका कारणहरु पनि परशु दाईले यहाँ समेट्नु भएको छ ।
विदेश र विदेशीका कुरामा परशुदाईको बंगलादेश र अमेरिकाको भ्रमणको सन्दर्भ तथा जापानी महिला काइकोले साहित्यकार कल्पना प्रधानको बालकथा मित्रतालाई जापानी र नेपाली भाषामा प्रकाशित गरेको प्रसंग उल्लेख छ ।
वास्तवमा यो पुस्तकले परशुदाईको जीवनका उतार चढावहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । उहाँका जीवनमा घटेका ती घट्नाहरु र ती परिस्थितिहरुलाई सामान्यीकरण तथा समाधानका लागि गर्नु भएका कामहरुले एकातिर हामीले उहाँलाई बुभ्mन सहयोग गरेको छ भने अर्कोतिर संकटको समयमा कसरी बुद्धिमानी तरिकाले चल्ने भन्ने कुरा सिक्न मद्दत पु¥याउने देखिन्छ ।
अन्तमा, सप्रेम हस्ताक्षर गरेर पुस्तक पठाइदिनु भएकोमा परशु दाईलाई धन्यवाद । पुस्तक नेपालबाट बोकेर ल्याइदिनु भएकोमा कवि मुकुल दाहालजीलाई पनि धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री