
यतिखेर मेरो हातमा छ – साहित्यकार परशु प्रधानको नयाँ कृति ‘जिन्दगीका मोडहरु’ । परशुदाई एक सफल आख्यानकार हुनुहुन्छ । उहाँका एक दर्जनभन्दा धेरै कथा संग्रह, तीनवटा उपन्यास, दुई कथोपन्यास र एक दर्जनभन्दा धेरै बालसाहित्यका कृतिहरु प्रकाशित छन् । त्यस्तै उहाँका भूमिका संग्रह, अन्तर्वार्ता संग्रह र अन्य धेरै साहित्येतर कृतिहरु प्रकाशित छन् । त्यस्तै उहां करिब दुई दर्जन जति साहित्यिक पुरस्कार र सम्मानहरुबाट सम्मानित हुनुहुन्छ ।
‘जिन्दगीका मोडहरु’ लाई प्रस्तुत गर्ने क्रममा परशुदाईले आफ्ना संस्मरणहरुलाई पाँच खण्डमा विभाजन गर्नु भएको छ । जीवन–संघर्ष, जागिरे जीवन, साहित्य–सन्दर्भ, सम्झिएका–बिर्सिएका साहित्यकार र विदेश र विदेशीका कुरा ।
जीवन–संघर्ष अन्तर्गत परशुदाईका पाँचवटा संघर्षका सन्दर्भहरु प्रस्तुत छन् । ती पाँच संघर्ष मध्ये ‘मेरो अन्तर्जातीय बिहा प्रसंग’ उल्लेख्य छ । पुरानो मुलुकी ऐनले कानुनी रुपमा अपराध नै ठानेको बेलामा परशुदाईले कसरी जानुकादेवी रेग्मी (कल्पना प्रधान) संग अन्तर्जातीय विवाह गर्नु भयो र नयाँ मुलुकी ऐन नआउन्जेलसम्म तराई, मोरङ र बाराणसीतिर लुक्न जानु परेको स्थिति प्रस्तुत गरिएको छ उक्त प्रसंगमा ।
जागिरे जीवन अन्तरगत परशुदाईले सरकारी जागिरे भएर देशका बिभिन्न भागहरुमा काम गर्दाका अनुभवहरुलाई बाड्नु भएको छ । उहाँ सिडियो हुँदाका रोचक घटनाहरुदेखि जागिरे परिवेशले कसरी साहित्यिक रचनाहरु गर्नका लागि विषयबस्तुहरु उपलब्ध गरायो भन्ने प्रसंगहरु समेटिएका छन् यस खण्डमा । जागिरे जीवनका केही अनुभूतिहरु उल्लेख छन् । परशुदाई लेख्नु हुन्छ, ‘योग्य, दक्ष र राष्ट्रलाई बनाउन सक्षम व्यक्तिहरुलाई यो राष्ट्रले कहिल्यै चिन्दैन ।’ परशुदाईको अर्को कुरा पनि एकदमै मनन योग्य छ । उहाँ लेख्नु हुन्छ, ‘माथिल्लो तहमा रहेका पदाधिकारीहरु सबै कुनै न कुनै स्थिति र समयमा भ्रष्ट छन्, छन् । ती भ्रष्ट संस्कारबाट आएका हुनाले राष्ट्रमा भ्रष्टचार हट्दैन ।’
साहित्य–सन्दर्भ अन्तरगत ‘म किन र कसरी साहित्यकार भएँ ?’ तथा ‘प्रज्ञा प्रतिष्ठान भित्र–बाहिर’ रोचक छन् । प्रज्ञा प्रतिष्ठानको उपकुलपतिदेखि प्राज्ञहरुको नियुक्तिमा हुने चलखेल, षडयन्त्र, अन्याय र असन्तुष्टिहरुका बिभिन्न सन्दर्भहरुको चर्चा गर्नु भएको छ परशुदाईले ‘प्रज्ञा प्रतिष्ठान भित्र–बाहिर’ मा ।
सम्झिएका–बिर्सिएका साहित्यकार खण्डमा कवि तथा साहित्यकारहरु केदारमान व्यथित, डायमण्ड शमशेर राणा, दौलतविक्रम बिष्ट, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, वासु शशी, लीलबहादुर क्षेत्री, विन्द्या सुब्बासंगका संस्मरणहरु छन् । त्यस्तै आफुले वाणी प्रकाशन छोड्नु परेका कारणहरु पनि परशु दाईले यहाँ समेट्नु भएको छ ।
विदेश र विदेशीका कुरामा परशुदाईको बंगलादेश र अमेरिकाको भ्रमणको सन्दर्भ तथा जापानी महिला काइकोले साहित्यकार कल्पना प्रधानको बालकथा मित्रतालाई जापानी र नेपाली भाषामा प्रकाशित गरेको प्रसंग उल्लेख छ ।
वास्तवमा यो पुस्तकले परशुदाईको जीवनका उतार चढावहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । उहाँका जीवनमा घटेका ती घट्नाहरु र ती परिस्थितिहरुलाई सामान्यीकरण तथा समाधानका लागि गर्नु भएका कामहरुले एकातिर हामीले उहाँलाई बुभ्mन सहयोग गरेको छ भने अर्कोतिर संकटको समयमा कसरी बुद्धिमानी तरिकाले चल्ने भन्ने कुरा सिक्न मद्दत पु¥याउने देखिन्छ ।
अन्तमा, सप्रेम हस्ताक्षर गरेर पुस्तक पठाइदिनु भएकोमा परशु दाईलाई धन्यवाद । पुस्तक नेपालबाट बोकेर ल्याइदिनु भएकोमा कवि मुकुल दाहालजीलाई पनि धेरै धेरै धन्यवाद ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग