आइतबार, कार्तिक १६ २०७७ | Sun, November 01, 2020
नेपालको समय: ०७:३० | UK Time: 01:45

सुर्के थैली खै !

वीनेपाली
२०७३ वैशाख २० गते २३:४८
Jaya Rai

जया राई

आज इष्टर मण्डे । नयाँ वर्ष लागे पछिको पहिलो बैंक होलिडे । अफिस, स्कूलहरु बन्द, धेरै मानिसहरु बिदा मनाउन विदेश तिर लागेका छन् भने कोहि बेलायत भित्रै बिदा मनाउंदैछन् ।
हिजो शनिबार, कुरा भए अनुसार विहान, सुमाया दिदीले उहाँसंग भएको उपेन्द्र सुब्बाको पुस्तक–लाटो पहाड– र उहाँको भर्खरै विमोचन भएको गीतसंग्रह–छाम् सुनाखरी र कविता संग्रह–अव्यक्त अभिव्यक्ति–दिनु भएको छ । उहाँको श्रीमान् हिमाल राई, विमारी भएर केहि दिन अगाडि हस्पिटलमा एड्मिसन हुनु भएको रहेछ । दिदीले, बिमारीको बारेमा छोटो समयमा सबै खरर, भन्नु भयो । लामो समय सम्म हस्पिटल बसेर करिव दुई महिना अगाडि मात्र डिस्चार्ज भएर घर जानु भएको पनि थाहा छ । प्लान बनाउदै थिएँ, अब मौसम पनि केहि राम्रो हुन्छ, हिमाल सरलाई भेट्न जान्छु ।
उहाँलाई घरैमा भेट्ना जान चाहेको धेरै भयो । फेरी अचानक उहाँसंग भेट भयो । हुन त गत नोबेम्बरमा पनि हस्पिटलको बेडमा नै भेटेँथेँ । एउटा कार्यक्रममा पहिलो पटक दिदीसंग भेट भएको दिनमा नै म हिमाल सरलाई घरमा भेट्न आउँछु भनेको पनि करिव तीन वर्ष हुन लाग्यो । समय कति चाँडै बगेको है, यदाकदा कार्यक्रममा दिदीसंग भेट हँुदा अब घरमा आउँछु दिदी भन्न पनि छाडि सकें ।
तीन वर्षको बीचमा मैले हप्ताको बिदामा कुनै दिन पनि मिलाउन नसकेकोमा दिदीको अघि म आफैं अपराधी जस्तो भएको छु । जुन बेला हिमाल सरलाई चिने, त्यो बेला सुमाया दिदीलाई चिन्ने मौका मिलेन, जुन बेला दिदीलाई चिने, त्यो बेला हिमाल सर डिमेन्सियाले सताएर मलाई चिन्नु हुन्न । कस्तो विडम्बना, उहाँलाई म बोलाउछु, हिमाल सर म जया, तपाईसंगै धरानमा भूकम्प अफिसमा काम गरेको । परिचयले काम गर्दैन । उहाँ पूर्वान्चल कार्यालयको प्रमुख भएर आउनु भएको, त्यो दिनको हिमाल सर अब मलाई नचिन्ने हुनुभएको छ, यस्तो पीडा उहाँका अरु पनि साथी भाई आफन्त कति होलान् ।
कामको हतारो कति होला ! समयको गति कति द्रूत होला ! विदाको दिनमा गर्नु पर्ने काम अझ कति हो ? बिदाको दिनमा हप्ता दिन भरिको थकाई बिसाउन पाउँदा नपाउँदै काममा जानु पर्छ ।

त्यसैले होला बिदाको दिन कुनै बेला त मेरो स्यानो कुर्सीमा पलेटी कसेर बसेर बित्छ । झ्यालबाट पिनार रोडमा दौडने ट्राफिकहरुको आवतजावत र सडक पेटीमा हिंड्ने बटुवाहरुको रमिते भएर वित्छ । समय जान के बेर र, कम्प्युटर भन्ने भाँडोमा फेसबुक भन्ने राक्षसले समय भन्ने नाथँु त खुदो निले झैं स्वाट निल्छ ।
हामी आइप्याड भन्छौं, आमा त्यसलाई बोल्ने भाँडो भन्नु हुन्छ, पोहोर अमेरिकाबाट फर्कंदा उषा दिदीले दिनु भएको छ । आमालाई फोन गरिरहन पर्दैन । त्यो भाँडोबाट आमाको भाईबरमा फोन आउँछ । आमाले हाम्रो फोन कुर्न पनि पर्दैन । आमा र बाबाले भनेको यो भाँडा भए देखि बोल्न सजिलो भएको छ रे ! अनुहार पनि देखिन्छ रे !
अमेरिकाबाट कुनै बेला दिदीले फोन गरेको मिस कल राम्ररी नहेरि कल व्याक गर्दा मस्त सुतेको बेला आमाले नानी, अघि फोन गरेको थियौ ? म त तल बारीमा साग गोड्दै थिएँ । भन्नु हुन्छ ।

आमाको बोल्न भाँडोसंग त्यो बेला चै झोक चल्छ । आमा म त सुती रा छु, रातीको दुई बजेको छ ।
ए, सरी, ल ल सुत, त्यसो भए दिदीले पो होला त । हत्त पत्त फोन राखे पनि, तर्सिएको निन्द्रा फकाउन कम कसरत गर्नु पर्छ र ! त्यसको नतिजा बिहान आलाराम लाग्दा पनि आँखा उघ्रन मान्दैन । अनि दिन भरि काम गर्दा माइग्रेन भन्ने मुग्रोेले हानेर दुख दिन सम्म दिन्छ । तर के गर्ने बैज्ञानिक युगका हामीले यी बोल्ने भाडोहरुको उपभोग गर्नका लागि त हो नि । नत्र, यिनले बनाएको के काम है !
राम्रै भयो शनिबार भेट हुँदा, दिदीले विजय सुब्बाको लाटो पहाड ल्याइदिन्छु भनेको । आइतबार लिएर आउनु भए छ पाएँ । इभिनिंगमा ओभर टाइम गर्न परेन, आज स्टाफ पुरा छ रे, मलाई रिलिफ भयो । तीन बजे बिदा भएर घर जान पाइयो । घरमा कोहि पनि छैनन्, नुहाएर खाना खाएँ ।

आज बिहान पाएको पुस्तकहरु फ्यात्त टेबलमा फालेको छु । पढ्न बिर्सेला भनेर आँखाको वरिपरी नै राख्न मन लाग्छ । त्यसैले मेरो कम्पुटर टेबलको सानो डीलमा पुस्तकको सानो थाक नै छ । अस्ती भर्खर साथी विकल आचार्यसंग आग्रह गरेर ल्याई दिएको सुधीर शर्माको–प्रयोगशाला–एक च्याप्टर देखि अर्को च्याप्टरमा सर्न भ्याएको छैन । त्यो पहाडलाई कसरी पार लगाउने होला भनेर पीर पो लाग्न थाल्यो । उनले पुस्तक दिदाँ हतार चै लगाएका छैनन् । जतन गर्नुस, अरुलाई नदिनुस् भनेका छन् । किताबको साइज हेर्दा लाग्यो, पढिसक्नु मलाई नै वर्ष दिन बढि नै लाग्ला तर उनलाई भनिन् ।

तर सुमाया दिदीले भने, चाँडै पढिसक्नु अर्कोलाई दिनु पर्ने छ, भन्नु भएकोले आज थाकेको बेलामा नै लाटो पहाड चढ्नु पर्यो भन्ने लागेको छ । आराम चियरमा बसेँ । तर दिन भरिको थकाइले ज्यानलाई केहि क्षण आराम गर भनेर भन्छ । मन भने, बिबीसी र अलजजीरा च्यानलले लाहोरमा भएको ईष्टरको मौकामा भेला भएका पार्कमा खेलिरहेका कलिला बालकहरुको ज्यान जाने आत्मा घाती बमले उडाएर पोखिएका रगतको खोलाको समचार हेरिरहन्छु । आँखा भने कति कमोल होला, आँशु तरतरी झर्छन् । तिनीहरुको क्षत विक्षत भएका शरिरका टुक्रा जाँच गरिरहेको प्रहरी र उद्धार कर्ताको आखाँ, मन कस्ता होला ! बमले च्यातेको पाता पल्टाउदै खोज्दै छन् । ती कलिला लालाबाला गुमाउने आमा बाहरुको टुक्रेको मनमुटु कुन तत्वले जोड्ने होला ! भर्खरै वेल्जियममा भएको आत्माघाती वमले मानिसहरुलाई त्यसरी उडाएका थिए । यो समाचर हेर्दाहेर्दै एक्लै चिच्याउँछु, यी आत्माघातीहरुको मुटु के ले बनेको छ हँ ???
अनायस टेवलको फोन तानेर निरुपालाई फोन गरेँ, फोन उठाई, छोरी तँ कहाँ छेस, आज नआउने हो ? काम के छ र ममी ? केहि पनि छैन तर आउने भए अहिले आइज न । हुन्छ भन्दै फोन राखी, म अझै कुर्सीमा बसेर टिभीमा टांसिएका आँखा झिक्न मानेनन् । पाँच बजेको छ, निरुपा आइपुगी, खाना खानु भयो ममी ? खाएँ, त खाने भने खा, उ भन्छे भर्खर खाएर आएको ।
ऊ भन्छे ए, काम केहि रहेन छ किन बोलाउन भएको त, कस्तो पानी हावा हुरी चली रा छ ।

ए हो ! ल बा तिमी जाऊ छोरी । ऊ अलि रिसाए जसो गरेर भन्छे, भर्खर आएको कसरी जानु, जाऊ बा तिमी जाउ पानी पर्ला । केहि छ कि गर्नु ? ए, ल गरेर जाउ न त । गँगाले सुक्खा रोटी खाने भनेकी छ, काम दश बजे सम्म रे आईपुग्दा एघार बज्ला कति कतिबेला रोटी बनाएर खाली त, पीठो मुछिदिएर जाऊ त बा, मलाई यो सुक्खा रोटी खान मात्रै आऊँछ, बनाउन आउदैन । ऊ सोफाबाट त्यै लाहोरको बच्चाहरुको रगतको होली खेलिएको समचार हेर्दै छि ! कस्तो समचार हेर्नु भएको डर लाग्दैन ? भन्दै उठेर गै तर मेरा आँखा किन झुन्डिएका हँ ? ए, म टीभी एडिक्टेट भएँ क्यार । ऊ किचनमा पीठो मुछेर हात धोएर आई ।
अघि देखि माइफ्रेण्ड आईप्याड लिएर सोफामा बसेर खेलिरहेको छ । ऊसंग खेल्न थाली, उसकी आमा जर्मनबाट आएको पाहुनालाई पुर्याउन जाँदा दर्के पानीले मोटरवेमा गाडी कुदाउन कस्तो दुख भएको कत्ति टाढा रहेछ, एज्वेर भनेर गएको, एका देशमा रहेछ । बाटो भूलेर टम्टम्ले पनि कम्ता त दुख देको होइन, भन्दै छोरा लिन आइपुगिन्, सोधिन् दिदी लियोनले दुख दियो ? छैन । किन दिन्छ र ज्ञानी छ माईफ्रेन्ड । गुड बोइ छ ।

पाँच वर्षको माई फ्रेन्ड अस्ती दशैं तिहारमा नेपाल पुगेर आए देखि अलि अलि नेपाली बुझे जस्तो गर्छ । मैले साप्सुमा खाने हो ? सोधेको नखाने भन्यो । कुनै बेला, आइ लभ वाइल्ड एग भन्छ र म अन्डा उसिनेर दिन्छु । उसले, थ्याँकू भन्न जानेको छ, खाँदा चै बडो समय लिएर खान्छ ।
तर आज उसको फर्मास भएन । फेस बुकबाटै मैले आजको उनको ह्याब्बी लन्च पाहुनासंग साउथ इन्डियन खाना मसला डोसा खाएको देखेको थिएँ । उनका बा काममा गएका छन् । सोनुले भनिन्, वीस बाईस बर्ष जर्मनीमा बस्नु भएको रे । मैले पाहुँनाको बारेमा थाहा पाएको त्यै हो उनले फेरी संझाइन, पर्सी ट्यूस् डे बेलुका खाना उतै हामी कहाँ आउनुस है ।
मैले सोधँे के पो होे सोनु ? किन पनि होइन, त्यतिकै, निरु र तपाईहरु मात्र, अरु कोहि धेरै आउदैन, खुसुक्क थाहा भयो उनको एनिभर्सरी रे ! सीमा आएर मःमः पकाउदै छिन्, सबैलाई ख्वाइन् । मैले चाहिँ हिजो चौतारिमा खाएको मःमः भित्र बसिरहेको जस्तो छ खानै मन लागेन, त के भन्ने, भर्खरै खाएको नुडलले टम्म भएर खाईन ।
तिम्रो फ्रेन्ड टायर्ड भएको छ नि,कामबाट आएको, नुनु गर्नु पर्छ । माई फ्रेन्ड नमान्दा नमान्दै, विस्तारै तान्दै फकाउदै सोनुले लगिन्, बाइ ! उसका साना हत्केला हल्लाउदै गयो । निरुपा पनि कोट टिपेर हिड्न लागि । खै अलि ओर आऊ छोरी, वर आएर गाला थापी, दुई चुप दिएँ, ऊ खुशी भएर, गएँ ल ममी ! ढोका लागि सक्यो, मधुरो सुनियो ।
साडे आठ बजे छ, टेक्लाको फोन आयो यसो घडी हेरेको यो बेलामा उनले त्यति फोन गर्दिनन् । तर आजै बाट मात्र दिन लम्बिएकोले अहिलेको साढे आठ हिजोको त साढे सात मात्रै त हो । घडीको सुई अगाडि पछाडि सरे पनि समयसंग हाम्रो शरिरको आदत मिल्न करिव हप्ता दिन भन्दा बढि नै लाग्छ ।

टेक्लाले भन्छि धेरै धन्यवाद, अस्ती नेपाली खाना ख्वाउन लग्यौं । तिम्री बुहारी राम्री रहिछन् । जीवनमा सबै कुरा चै पाइन्न नि त्यो तिमीले थाहा पाइराख है । उनीहरुको खुशी त्यो नै तिम्रो खुशी हो ।
यो विरानो देशको यिनी मेरी असल साथी, असल अविभाक, असल शिक्षक पनि हुन् । उनी भन्छिन् समयलाई चिन । सबैको भलो चिताऊ, सके सम्म सबैलाई सहयोग गर र शरिर सँचो भएसम्म काम गर । उनलाई मैले विहिबार र शुक्रबार दुई दिन विदा बस्छु भन्ने थाहा पाएमा के भन्लिन् । मैले उनको कानमा नपरोस भनेर घरका सबैलाई भनेको छु । टेक्लाले थाहा पाउने गरि मेलै दुई दिन विदा बस्छु न भनेस् है । नत्र मैले विदा पाउदिन नि, उनले काम खोजिदिएर काममा पठाउंछिन् । मैले उनको आज्ञा पालन नगरे, कराउछिन् ।
उमेर भइन्जयाल त हो काम गर्ने । यी मलाई हेर,मैले जस्तै रिटायर्ड लाईफ आरामले विताउने हो । अहिले राम्री काम गर । उनको यी अर्ति मलाई कन्ठस्त छन् । डर मात्रै छ, उनले मेरो विदा थाहा पाउलिन भन्ने । सोमबार बैंक होलिडे भएकोले डेन्टलमा बिदा छ, तर हस्पिटलको काम गर्न भन्ने उनको आदेश छ । तर मैले काम गर्छु भनेर नाम लेखाएको छैन । किनकी मैले त लाटो पहाड चढ्नु छ नि, नत्र मैले कहिले फर्काउनु ।

टिभीको च्यानल फेर्दै गर्दा, गंगा आइपुगी, मैले भने, जेठीमायाले पीठो मुछेर गएकी छ । ऊ भन्छे होइन, भात खाने रे प्रताप । अनि, अघि भन्नु थियो नि त म भात पकाई राख्ने थिएँ नि । ऊ बोली, होइन, भोलि मेरो अलि ढिलो काम छ,खाना पकाउछु भन्दै भित्र पसी ।
ल त्यसो हो भने, म सुतँे है पकाएर खाऊ । म ढोका लगाएर टेबल ल्याम्प बालेर लाटो पहाड फररर खोले । पहिलो शीर्षक प्रभू माईला पढ्दै गर्दा बिचैमा हाँसो उठ्यो । किचनको ड्रायर मेसिनमा लुगा हालेको दिक्कलाग्दो पाराले गर्याङ्गग्ग् गरिरहेको थियो । त्यो आवाजले मेरो हाँसो बाहिर सुनिएन होला नत्र त मलाई बौलाहि नै ठान्दा हुन् ।

लिम्बु बस्तीको स्कूलमा, कक्षामा मिसले भूगोलको विद्यार्थीलाई, हिरा कहाँ पाइन्छ भनेर सोध्दा विद्यार्थीले तइँले नै लुकाको छस्, भन्ने उत्तर सुन्दा आफैं ओछ्यानमा लडिबुडि गर्दै हाँस्छु, हैन उपेन्द्र सुब्बाले कति हँसाउन सकेको होला, हाऊ !
धरानको बल्जितेलाई नचिन्ने कोहि पनि थिएन त्यो बेला । बलिष्ठ हातपाखुरा उसले येमानको भारी बोक्छ, सडकमा सुत्छ, सडकमै घुम्छ । जब बल्जिते टोलमा घुम्दै आइपुग्छ साना साना केटाकेटीहरु सबैको सातै जान्थ्यो, ऊ अलि पर..पुगे पछि, साहास बटुलेर ओइ ! बल्जिते हिरा ! हिरा ! भन्दै केटाकेटी कराउदा फनक्क फर्केर धरानको सस्तो ढुंगा टिप्पेर कराउनेहरु तिरै घुइकयाउथ्यो । मलाई पनि त्यै बेला थाहा भएको हो, के हो हिरा, कहाँ पाइन्छ हिरा ! अब त बल्जितेलाई स्वार्गमा ती अस्लिल कुरा अवस्य पनि सुन्न पर्दैन ।
जति पढयो त्यति हाँसो उठछ प्रभू माइला ।
अघि सम्म टिभीमा टाँसिएको आँखा अहिले लाटो पहाडमा घोप्टिएको छ । खुंखार भाले, एँेठन, ससुराली, पुचुने धामी, नास्पाते बुढा सम्म पढेर सुँते, रातीको साढे दुई भएछ । बाँकी भोलि कहिले होला भनेर सुतेको विहान, साढे छ को आलाराम लाग्यो । आँखै खुल्दैन, आलराम मारेर सुतेँ । भरे उठदा त आठ बजिसकेछ । झ््याल खोले ओहो क्या हावाहुरी चलेछ, चेरी र विपिङ्ग विल्लोको रुख त भूँई छुन खोज्छन्, सडक त पानीले निथ्रुक्क छ ।

श्रीमान जी बल्ल आइपुगियो हौ, भन्दै भित्र छिरे । मैले बिहानै काममा गएको छोरा प्रताप सम्झेँ, अरु साथीहरु सम्झे कसरी काममा गए होलान्, टिभी हेरेको त डरलाग्दो जतातै रुख ढलेको हावाहुरीको समचार । दुरघटनाका खबर । मैले हाँस्तै भने, श्रीमान् यो लाटो पहाड पढ्नु भयो भने त हजुर त हाँसेरै मर्नु होला । तर उनी रातीको ड्यूटीले थाकेर आका छन्, मेरो कुरा सुनेन् होला । कृषि विकास बैंकको जागिरे हुदा, धन्कुटा, याशोक, फिदिममा धेरै वर्ष बसेका उनी, त्यहिँ भेकको भाषा,साहित्य उनलाई अवस्य मन पर्ने छ । सुसुला बजाको जस्तो सानो हावाको फुईफुई गर्दै उनको नित्यकर्म गर्न गए । म चै त्यै लाटो पहाड चढ्न थालेँ ।

आज सोमबार, तीन बजे साथी जया घलेको घर पँैचोमा साथीहरुसंग नर्थहोल्ट जानुछ । त्यो बेला सम्म त पढि सक्छु भनेको जब चै लाटो पहाड शीर्षक आयो तब चै कंैडा लागे जस्तो भयो, एउटा सिंगो नाटक, अथवा पुस्तक त बल्लपो सरु भयो । मन भने अन्तै मोडिन थाल्यो, तयार हुनु पर्ने, कुन लुगा लाउने, पीकअप गर्ने मिरा सुब्बासंग फोनमा कुरा भयो । म अलि माथिसम्म पुग्नु पर्ने भयो । दुई चार वटा फोन आयो, लाटो पहाड कहिले सक्ने हतारीने मन त्यसै अन्तै मोडिदै गयो ।
आधा घन्टा अगाडि तयार भएर हिंडे, भेला भइयो । बाटोमा एक छिन अलमलिदै पुगियो । नयाँ घरमा कोठा चोटा, सबै हेरियो, पाकेको मिठो परिकार खाइयो । पिउन साथीभाईहरु बिस्तारै राघे राघे हुनथाले । भेटमा हाँसो ठट्टाको राज छ । मैले चै समय पाए, पढौँला भनेर लाटो पहाड व्यागमा च्यापेको छु । तर त्यो क्षण कुनै होला जस्तो छैन ।

कार्ड, खदा र हाम्रो गु्रपको उपहार दिएर सामुहिक फोटो खिचे देखिन म भाग्ने प्रयास गरेको, सानो शुभकामना दिनु पर्ने मेरो भागमा पर्यो । आफूलाई लाटो पहाड चढ्ने हतार छ । अघि संगैजाने साथीहरुको फर्कने कुरै छैन । अरुलाई नै सोध्न थाले, जाने हो आशा वैनी ? अँ जाने हो दिदी ! तर फेरी थपिन छन् । हन जाने भनेको होइन ? जाने नि यो त यस्सो बोकेर गइन्छ दिदी । मैले छाँट बुझँे धोका हुन्छ । पूर्णिमालाई सोधेँ, जाने दिदी छोरी घरमा एक्लै छ, चाँडै जानु पर्छ, उता देखाउदै भेना लिन आउने रे ! सात बीसमा । बसबाट जाँदा कुर्दा त्यसै समय लाग्छ दिदी पर्खौं । उनको आग्रह छ, तर मलाई लाटो पहाड लाठो लाको लगाई छ ।

गीत बज्न थाल्यो, तिते करेलीले…., बासु बैनी र माया दिदी नाचे ।
अर्को गीतमा पूर्णिमा उठिन, म पनि, अनि रीना आइन् । सूर्के थैली खै, यी डान्सरहरुका विचमा म ढड्वारे जस्तो मात्रै हो । यो बेला निलु बैनीलाई सम्झना भएको छ, उनी पोर्चुगल होलिडेमा छन्, प्रीया पनि छैनन् । प्रिती बैनी र अरु धेरै साथीहरु आउन नसके पनि उपस्थित हुनेहरु पचास जना भन्दा बढिले माहोल तातेको छ । सबै आफनो पालो कुरेरर बसेका छन् । म चै कोहि हिंडि हाल्लान्की भनेर लिफ्ट माग्ने वालामा थिएँ, मैले थाहा पाएँ, बुद्धि बैनी र अर्की साथीसंग बाटो लागे मैले सबैलाई नमस्कार गेरर विदाईको हात हल्लाएँ ।
पल्लो दैलोबाट घरबेटीलाइ विदा मागेँ । उनले मेरो लुते हातमा च्याप्प समातेर अलिकति भात खाएर त जानुस् । म हतारिएँ, घरमा खाना पकाउनु छ । मैले पेट ठटाएँ, कहाँ राख्ने ठाउँ छैन । बल्ल, म उम्किएँ ।
बाहिर कार पार्कमा पुगेका साथीले पर्खिरा छन् । बस स्टपमा ओराली उनीहरु टार्गे राउन्ड अबाउट तिर हान्निए । बस पनि एक मिनटमा आइपुग्यो । नर्थ होल्टबाट ह्यारो आउन बीस मिनेट पनि लागेन, सडक छेउका चेरीका बोटको मसिनो फूलेका हाँगाका पातसंगको केहि दिनको सामिप्य हेर्दै आउँदै छु ।

अहिलेसम्म लाटोपहाड चढ्ने मन किन किन उतै छोडिए जस्तो छ । घरमा आएर पुस्तक खोल्नै भ्याइएन, हिजो मलाई बोलाहा बनाउनबाट बचाउने लुगालाई मेसिनबाट निकालेर पट्याउन थाले । फेल्थामबाट सीता बैनीको फोन आयो । बोल्न थाले, गंगा आउदा पो था भयो नौबजे छ । ऊ भोकाएर आएकी छ । खाना पकाकै छैन, हिजोको मेसिनको लुगा र अस्ती देखि नै दराजमा मलाई घरीघरि दुख दिने लुगालाई मिलाउंदै समय बितेको पत्तै भएन ।
लाटो पहाड चढ्नु पर्ने, मनमा त उही सुर्के थैली खै, खै, सुर्के थैली खै मात्रै आइरहेको छ ।
२८ मार्च सोमबार २०१६, लन्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक