आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: ०३:२६ | UK Time: 22:41

समाज सेवा – पेशा, प्यासन र फेशन

वीनेपाली
२०७२ फागुन १७ गते १०:४१

lara१० दिने छोटो नेपाल भ्रमणताका (गत १९ फेब्रुवरी २०१६) शर्मिला थापाको निमन्त्रणमा समिदा महिला विकास मञ्चको वार्षिक छात्रवृति कार्यक्रममा सरिक हुने मौका पाएँ ।

समिदा महिला विकास मञ्च – संस्थापिका शर्मिला थापा मगरलाई मैले २०१३ मा ‘युटुब’ उनको आत्मकथा सुनेपछि चिनेकी हुँ। समिदा महिला विकास मञ्चले एकल महिलाहरुको हकहितका लागि कार्य गर्ने गर्छ । २०११ सालमा स्थापित यो संस्थाले नेपाल न केवल एकल महिला, घरेलु हिँसादेखि प्रताडित महिलाहरुको उद्वार एबं पुनर्बासको कार्य पनि गर्दै आएको छ।

शर्मिलालाई मैले २०१३ देखि नै ‘युटुब’ मा उनको आत्मकथा सुनेपछि फेसबुक हुँदै यदाकदा भाइवर कलमा सम्वाद भएपनि प्रत्यक्ष भेटेको भने यो पहिलो पटक थियो। ‘एलिस’ रेस्टुरेन्ट, भाटभटेनीमा शर्मिलासंगै गायिका सिने गुरुङ एबं हिपहप गायक निर्णय श्रेष्ठ पनि भेटिएका थिए। त्यसो त, सिने गुरुङ र निर्णय श्रेष्ठ रेस्टुरेन्टमा आइपुग्नु अघि शर्मिलाले कोक र मैले कफी पिउन भ्याईसकेका थियौं, र सोहि मेसोमा मैले शर्मिलालाई सोधें – ‘तपाईंको अफिस चाहिं कहाँ छ ?’

मेरो प्रश्नप्रति शर्मिलाले अप्ठ्यारो मान्दै भनिन् – ‘दिदी, मेरो त अफिस छैन, म घरदेखि नै काम गर्छु।’

अमेरिकादेखि २०१५ को अन्तरराष्ट्रिय ‘एन-पिस’ अवार्ड प्राप्त संस्थाको आफ्नो अफिस छैन भनेको सुन्दा अक्कबक्क भएँ एकछिन । मेरो अनुहारको भाव पढेर होला शर्मिलाले वातावरण सहज बनाउंदै भनिन् -‘हाम्रो संस्था आधिकारिक एबं रजिस्टर्ड हो। हामी हरेक साल अडिट गर्छौं। के गर्नु! अफिस खोल्नु त् हामीलाई पनि रहर छ तर हाम्रो बिदेशी दाता छैन, तपाईंहरु जस्तो सहृदयीहरुको सहयोगले हामीले दिदी बहिनीहरुको उद्वार एबं सहयोग गर्दै आएका छौं।’

दोश्रो दिन, म उनको निवास स्थान – गैरीधारा पुगेँ। त्यहाँ भेटिए सुनिता बहिनी – शर्मिलाकी घरेलु सहयोगी । अनि अर्की बहिनी, सलुजा थापा सोसियल वर्करकी विद्यार्थी । शर्मिलालाई भोलिन्टियरहरुले घरमा नै आएर काम सघाउँदो रहेछ। करिब १६ बर्षको उमेरमा प्रेम बिबाह पश्चात् उनले भोगेको दिनचर्या करिब २१ बर्षको हुँदा पतिसँगको पारपाचुकेपछि टुंगिए पनि संघर्षका दिनहरु भने यथावत नै रहेछ। आफुजस्तै अन्य एकल महिला दिदी बहिनीहरुको लागि केहि गर्छु भनेर संकल्प लिंदै शर्मिलाले ‘समिदा’ स्थापना गरेको बताइन् । हिपहप गायक निर्णय श्रेष्ठले एक दशक भन्दा अघि देखि उनलाई निरन्तर सहयोग पुर्याउन्दै आएको गुण साथै अधिवक्ता सपना मल्ल-प्रधानको सहयोग कहिले नभुल्ने कुराकानीको क्रममा शर्मिलाले बताइन् ।

गएको भूकम्पको चपेटामा परेका एकल-महिलाहरुका लागि धापाखेलमा ‘लिज’ मा ५ बर्षका लागि जमिन लिएर धेरै एकल महिला एबं बाल-बालिकाहरुको लागि ‘शेल्टर’ स्थापित गरेको छ ‘समिदा’ ले। यसका लागि भने ठुलो दाता एबं धनराशी प्राप्त नभए पनि उनक्दो सघर्ष सुनेर उनको कामको कदर गर्नेहरुले व्यक्तिगत सहयोग गर्दै आइरहेकोले त्यसैको धेरथोर भरथेगमा संस्था चलिरहेको शर्मिला बताउंछिन्।

ठोस कोष एवं सहयोगीदाता बेगर भावना भएर मात्रै हुँदैन, संस्थालाई दिगो बनाई रहनुका लागि केहि पहल गरेको छैन भन्ने ? मेरो जिज्ञासाप्रति सर्मिलाले एउटा मुटु छुने प्रसंग शेयर गरिन् – ‘दिदी, म तालिमप्राप्त ब्युटिसियन हुँ। घरदेखि नै ब्युटीपार्लर चलाएर त्यहाँदेखि आएको रकमले धेरै दिदी बहिनीको गर्जो टारेकी हुँ। अमेरिका अवार्ड थाप्नु जानेबेला पैसाको आपत्ति परेर भएको एउटा आय श्रोत ‘ब्युटीपार्लर’ पनि बेच्नुपर्यो।’

पोखरा र काठमान्डौ गरेर समिदाले करिब ८० भन्दा बढी बाल-बालिकाहरुलाई हरेक बर्ष छात्रवृति प्रदान गर्दै आएको छ भने सोहि मात्रामा एकल महिलाहरुको हकहितका लागि दैलो-दैलोमा महिला हिँसा बिरुद्धको जन-अवाज पनि पुर्याउंदै आएको छ।

llllll

काठमाण्डौको महंगी- डेराको बास गरेर ‘सामजसेवा’ गर्नु भनेको रहर हैन, इच्छा-शक्ति सहितको तपस्याले मात्रै गर्नु सकिन्छ। दुइ स-साना छोरा-छोरीलाई हुर्क्याउने, बढाउने र पढाउने जिम्मेवारी पनि उनको काँधमा छ।

१९ फेब्रुवरीका दिन – समिदा महिला विकास मञ्चको बार्षिक छात्रवृति कार्यक्रममा सरिक हुँदा एउटा अनुभूति के रह्यो भने – धेरै मानिसहरुले समाजसेवा गर्दै आइरहेका छन्। कतिले यसलाई पेशा बनाएका होलान् अनि कतिले फेसबुक र छापामा रंगिन भएर छापिनु फेशनको अवतारमा पनि गरेका होलान्। त्यसो त- समाजसेवा, सकेको जसले गरे पनि हुन्छ तर सर्मिलासंग प्रत्यक्ष भेटेपछि के, लाग्यो भने -समाजसेवा पेशा वा फेशन होइन – एउटा ‘प्यासन’ हुनुपर्छ। अझ शर्मिलाको हकमा, समाजसेवा, उनको जीवनको साङ्गोपाङ्गो पाटो हो । नारी अन्तर्वेदनाको नलेखिएको एउटा सिंगो पुस्तक हो।

‘समाजसेवाको मर्मप्रति सन्चारकर्मी भएको हैसियतले धेरथोर ज्ञान राख्छु, यद्यपि म पूर्णत: आफैं लागेको छैन तर धेरै सामाजिक कार्यक्रमहरुमा जान्छु। ‘जेन्यूइन’ हो है! यिनीहरुको काम। सहि मान्छेलाई सहयोग गरेको छौ।’ रेडियो अन्नपूर्णकी सन्चारकर्मी दिदी रिता लिम्बुले ‘लाहाछाप’ ठोक्दै खुसुक्क कानमा सुनाउनु भयो ।

संचारकर्मी रिता दिदीको कुरा सुनेर ढुक्क भएँ।

किनभने, म केवल ‘माध्यम’ मात्रै हुँ। बेलायतदेखि सहृदयी मित्र-प्रियजनहरुको सहयोगले मैले २०१३ देखि जे, जति सहयोग गर्नु सकेँ ‘समिदा’ लाई केहि गर्नु सकिएछ।

‘एउटा अफिस पनि नभएकोले कसरी संस्था चलाउँछ? शर्मिलाले बारम्बार यो व्यंग्य सुन्दै आएपनि आफ्नो काम र कर्तब्यप्रति कति पनि बिचलित नभएकी शर्मिलाको हिम्मतलाई मान्नै पर्छ।

एकल महिलाले घरदेखि संस्था चलाउनु गाह्रो मात्रै हैन, तगारो पनि बन्न सक्छ।

बिदेशी दातृ संस्थाहरुले उनको कामको बारेमा वृतान्त बुझेपनि आधिकारिक अफिस नभएको कारण नै कतिपटक सहयोगका लागि मुख फेरेको नमिठो अनुभव पनि शर्मिलासंग छ।

‘रुखको हाँगा हैन, आफ्नो पखेटामा बिश्वास छ’ भनाईप्रति सहमत हुँदै शर्मिलाको अथाह उत्साह एबं उर्जा देखेर दुई कोठे भाडाको अफिस सम्म भएपनि केहि सहयोग गर्नु सकिन्छ कि भन्ने मनमा हुटहुटि चलिरहेको छ यतिबेला।

सकारात्मक सोच एबं उर्जावान समाजसेवी शर्मिला थापाको सहयोगका लागि अन्य ढोका पनि खुल्थ्यो कि?

[सम्पर्क – hulaki @outlook.com]

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक