ब्रिटेनले हान्ने भयो सिरिया

 

_86470911_024079933-1

लन्डन । दश घण्टा बढि समयको गरमागरम वहसपछि बेलायतको संसदले तथाकथित आतंकवादी समूह आइएस (इस्लामिक स्टेट) विरुद्ध सिरियामा हवाइ हमला गर्ने प्रस्ताव वहुमतले पारित गरेको छ । बुधवार बेलायती संसद हाउस अफ कमन्स्मा भएको मतदानमा आइएस विरुद्ध हवाइ हमला गर्ने पक्षमा ३९७ मत पर्यो भने विपक्षमा २२३ सांसद उभिए ।
विपक्षी लेवोर पार्टीका नेता जेरेमी कोर्विनको अडान विपरित लेवोरकै ६६ सांसद अर्थात संसदको २९ प्रतिशतले आइएस विरुद्ध हवाइ आक्रमण गर्ने प्रधानमन्त्री डेभिड क्यामरुनको प्रस्ताव पक्षमा मत हालेका थिए ।

बेलायती अखवारहरुले आइएसमाथि आक्रमण गर्न रोयल एयर फोर्सका दुईवटा टोर्नेडो जिआर फोर जेट विमान साइप्रस एयरवेसबाट उडिसकेका जनाएका छन् । आइएस आतंकवादी समूहविरुद्ध कुल ८ वटा टोर्नेडो जेटले आक्रमण गर्ने बताइएको छ ।

बेलायती प्रधानमन्त्री क्यामरुनले सांसदहरुले ब्रिटेनलाई सुरक्षित राख्न सही निर्णय गरेको प्रतिक्रिया दिएका छन् भने विदेश मन्त्री फिलिप ह्यामण्डले स्काइ न्यूजसंग हाउस अफ कमन्स्को निर्णयपछि ब्रिटेन अब सुरक्षित रहेको जिकिर गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायती संसदको निर्णयको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्री क्यामरुनले विदेशी भूमि लिबिया, इराकपछि सिरियामा आक्रमण गर्ने आफ्नो लक्ष्य त पुरा गरेका छन् तर उनको यो कदमविरुद्ध बेलायती जनताबाट आलोचना समेत भएको छ ।

यसअघि अमेरिका र फ्रान्सले इस्लामिक स्टेट लडाकुविरुद्ध सिरियामा आक्रमण थालिसकेका छन् । जर्मनीको संसदले पनि यही शुक्रवार इस्लामिक स्टेट विरुद्धको अभियानका पक्षमा मतदान गर्ने अपेक्षा छ ।

ब्रिटेनले गत १३ नोभेम्बरमा पेरिसमा भएको आतंकवादी आक्रमण लगत्तै आफू पनि आइएसको निसानामा परेको निष्कर्ष निकाल्दै सुरक्षा सतर्कता बढाएको थियो । सन् २०१३ मा भने बेलायती संसदले सिरियामा आक्रमण गर्ने प्रस्तावलाई अस्वीकार गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री