लन्डन । तीन दिने बेलायत भ्रमणका सिलसिलामा लन्डन उत्रिएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।
भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा नेपालीले बिहीबार गरेको शान्तिपूर्ण आन्दोलनमा सयौं सहभागी भए । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिट अगाडि मध्यान्ह १२ बजे देखि प्रदर्शन शुरु भएको हो ।
बेलायतका विभिन्न शहरबाट स्वतस्फूर्त ओइरिएका प्रदर्शनकारीले मोदी र भारतको विरोध गर्दै लेखिएका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरिरहे । उनीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए । प्रदर्शनका कारण बेलायती संसद र प्रधानमन्त्री कार्यालय पुरै अस्तव्यस्त थियो भने सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको थियो ।
प्रदर्शनका लागि गैर आवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके, नेपाली जनसम्पर्क समिति, बेलायतसहित यूकेका प्रमुख तीन दर्जन बढि नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाउंदै सहभागिता जनाएका थिए । तीन युवा विज्ञान प्रसाईं, एभरेष्ट गौतम र गणेश खड्काले प्रदर्शनको तयारीमा विशेष सक्रियता देखाएपछि अन्य संघसंस्था र युवाहरु स्वतस्फूर्त सहभागी भएका थिए ।
भारतको अघोषित नाकाबन्दी र भूपरिवेष्ठत राष्ट्र नेपालले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउने पारवहान सुविधाका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
राष्ट्रमाथि ठूलो चुनौती आइपरेका बेला व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा माथि उठेर सबैले सामना गर्नुपर्ने बेला आएको जनाउंदै भेलाका सहभागीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए । उनीहरुले नेपाल सरकारलाई भारतको गैर कानुनी नाकाबन्दी विरुद्ध अन्तर्राष्टिय निकाय गुहार्न समेत आग्रह गरेका छन् । अन्तर्राष्टिय कानुन अनुसार नेपालको पारवहन अधिकार हनन गरेको ठानेका प्रदर्शनकारीले नेपालमाथि हस्तक्षेप नगर्न नारा मार्फत पटक पटक चेतावनी दिएका थिए । प्रदर्शन बेलायतका नेपालीको मात्र होइन, विश्वभरका नेपालीमा भारत र प्रधानमन्त्री मोदी विरोधी भावना जागृत भएको छ । भारतले ढिलो चांडो नाकाबन्दी त खोल्ला तर नेपालीको दुःखेको मन पूवर्वत अवस्थामा फर्किन केही समय पक्कै लाग्नेछ ।
मोदीलाई आफ्नै समुदायबाट विरोध
मोदीविरुद्ध भारतीय नै विरोधमा उत्रिएका छन् । आवाज नेटवर्कले मोदी नट वेलकम अभियान शुरु गरेको छ । उसलाई साउथ एसिया सोलिडारिटी ग्रप, कास्ट वाच यूके, भारतीय मुश्लिम र दलितहरुको पक्षमा वकालत गर्ने र समूहले साथ दिएका छन् । ति संघसंस्थाले शुक्रवार वेम्ली स्टेडियममा पनि प्रदर्शन गर्ने भएका छन् । मोदीले स्टेडियममा करिब ६० हजार भारतीय डायस्पोरालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका नेता मोदीलाई सन् २०१२ सम्म बेलायत आउन प्रतिवन्ध थियो । सन् २००२ मा गुजरातको मुख्य मन्त्री हुंदा मोदीलाई मुस्लिम विरोधी दंगा रोक्न नसकेको आरोपबीच बेलायतले मोदी प्रशासनले दशक अघिको दंगालाई समर्थन गरेको निष्कर्ष निकालेको थियो । उक्त दंगामा करिब एकहजार मुश्लिम मारिएका थिए ।
मोदीले बेलायती महारानी एलिजावेथसंग दिवा भोज र बेलायती संसदमा बेलायती समकक्षी डेभिड क्यामरुनसंगै सम्वोधन गर्ने कार्यक्रम छ । मोदी पार्लियामेन्ट स्क्वायरमा रहेको महात्मा गान्धीको शालिक निरिक्षण गर्न समेत पुग्नेछन् । १२ औं शताव्दीका दार्शनिक बस वेशवाराको नयां शालिक अनावरण गरेपछि मोदी शनिवार जि ट्वाइन्टी समिटका लागि अंकारा जांदैछन् ।
भ्रमणका अवसरमा १० विलियन पाउण्ड बराबरको व्यापार सम्झौता हुने समाचार आइरहंदा मोदीले धेरै आलोचना समेत खेप्नुपरेको छ ।
तस्विरः कृष्ण सुवेदी
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता