एक युगको अन्त

10256090_10152177331048145_7117099052323055519_o

म हारेको कहां छु र ? सानो झुप्रो र फितलो छाना मुनी मुस्कान 
छर्दै, उज्यालोको खोजीसंगै सुन्दर वस्तीमा अबोल हांसोसंग जीवन साटेको छु । चरीको गीत र सालको पातको संगीतसंगै मेरो रंगमंच शेक्सपियरको ग्लोब थिएटर भन्दा कम रोमाञ्चक अवश्य छैन् । मौसमी याम र मौसमी मनसंगै मौसमी नदीसंग बहेको भए बल र पसिनाको खेतिसंगै सुन कहां फल्थे होला ? कोदालो र कोदाली मेरा भरोसाका औजार, एक हुल कौवा र रुंदै गरेकी न्याउलीसंग कथा र ब्यथा सांट्दै बिसौनाको आशामा उकाली चालेकी पाइलाहरु रोकिएका भए, मेरो बिर्खे सुकेनासको शिकार हुन्थ्यो होला । म कसरी बिर्खेको आमा कहलिन्थे आज ।

चैतको हुरीले नउडाएको मन, वर्षातको बाढीले नबगाएको तन, एक एक दाना सम्हाल्दै जोडेको धन र प्रेमिल सानो खरको छाप्रो । मन र तन बिसाउने सुन्दर गुंड हेर्दा हेर्दै बैशाख १२ को निस्ठुरी प्रकृति अर्थात् भूकम्पले खण्डहर बनाएर गयो । हजारौं तन चुडेर गयो । धन लुटेर गयो, मन निमोठेर गयो, शान ढालेर गयो, मान फालेर गयो । नाता टुटाएर गयो, सम्बन्ध जुटाएर गयो । समानता बांढेर गयो, सन्देश छाडेर गयो ।

हरे हामी प्रवासी न उडी हाल्न सक्यांै, न गुडी हाल्न सक्यौं । रोएर दिन बित्यो । न निन्द्रा, न भोक । भाव अनि शब्द विहीन भएर दिन काट्यौं । जहां चाहना त्यहां उपाय भनेझैं नेपाल नर्सिङ्ग असोसिएसन यूकेले भूकम्प पीडित राहत संकलन सुरु गर्यो । पेशा र मन एकै भएका नर्सहरु लगायत थुप्रै संघसंस्था, दाता, स्कुल, हस्पिटल जताततैबाट सहयोगी हातहरु अग्रसर भए । रेक्यू टिम तयार भयो जसमा प्रसुना कंडेल हवाई सेवा सुरु हुने बित्तिकै अति प्रभावित क्षेत्रमा पुगी आफ्नो कार्य कुशलता अनि मानवीय 
संवेदनशीशलता र ऐक्यवद्धता देखाउन सफल भइन् । उनीसंगै ज्योति तिवारी आफ्नो बिहेको लगन पर सार्दै नर्सको धर्म पुरा गरिन् । त्यस्तै अर्की 
नर्स सोबिता कार्की सिलवाल जो क्याम्ब्रिजमा काम गर्छिन्, उनी पनि मानव हितका खातिर आफ्नो पेशागत एवं मानवीय धर्म पुरा गरिन् ।

जुनसुकै पेशा होस् या धर्म या राष्टियता अर्थात् रंग । हरेक कुनाबाट एक मन, एक मुटु, एक पृथ्वी, एक घर भयो । लाग्थ्यो, मानवीय संवेदनामा सूर्य 
रोयो, आसमानका चन्द्र उदासीए । सगरमाथाको शिर हल्लियो । घन्टाघरको घडीको सुइ रोकियो तर मानवता उदायो । फलस्वरूप मानव सेवाका सिपाहीहरु अर्को नर्सको समूह तयार भयो जसमा सामाजिक सेवाले ओतप्रोत मन अनि सेवाका लागि सधैं तयार हुने तनको आशिर्वाद पाएकी, सधै श्रद्धाका पात्र, नर्सहरुको मार्गदर्शक, नर्सिङ्ग असोसिएसन सल्लाहकार टुका स्याण्डवेल क्षेत्री त्यो समूहको नेतृत्वकर्ता भइन । साथमा कमला पाण्डे, हीरा श्रेष्ठ, उमा दाहाल र म अजिता सिम्खडा ।

यी हरफहरु लेख्दा लेख्दै म व्यक्तिगत रुपमा कृतज्ञ छु नर्सिङ्ग असोसिएसनकी अध्यक्ष्य सुशीला कार्कीप्रति । आफू असामान्य अवस्था र सात आठ महिनाको गर्भवती हुंदाहुंदै पनि अतुलनीय कार्य कुशलता देखाउन सफल भइन् । उनैको सल्लाह बमोजिम र परिवारको हौसला र सहयोगका कारणले यो पवित्र कार्यमा सरिक भई आंसु साट्न र पुछ्न गाउं वस्तीमा पुग्न सफल भएं म ।

भारी मन लिएर चिता र चिन्तामा डुबेको मेरो देशको यात्रा सुरु गर्यौ । यसै बीचमा मेरा बच्चाहरुलाई संरक्षण दिनु भयो श्रीमान श्रीमती कृष्ण 
तिवारी, श्रीमान श्रीमती नारायण गाउंले, श्रीमान श्रीमती दिपेन्द्र न्यौपाने र मेरा श्रीमान बलदेव भट्टले । मनका मझेरीमा हरेक भावनाका आरोह अवरोह, पीडा मिश्रित हांसोसंग यात्रा पूर्ण गर्यौं । बिहानीको सूर्याेदयसंगै नेपाल माटोमा पाइला राख्यौं । मेरो माटोको सुवासना, उसको अव्यक्त पर्खाई, मेरो असिम उसलाई चुम्ने चाहना पूर्ण भयो । अघाउन्जेल मेरो चिरपरिचित हावा उसले बोकेको अक्सिजन, म तृप्त भएं र फेरी भत्किएको घर, भत्किएको मन र पीडित मनहरुले रुवायो ।

तहस नहस शहरको दृश्य त्रसित रुन्चे अनुहार, झर्न नसकेका आंशुका ढिक्का, बिछोडिएका आत्माहरु सल्बलाई रहेका देखिन्थे । अचेतन हामी जन्मदै मृत्यु बोकेर आएका छौं र पनि लाग्छ कतै अजम्मरी झैं स्वार्थ, कपट, घमण्ड ,घृणा, तिरस्कार, अपहेलना, ठूलोसानोको परिधिबाट फुत्कन सकेका छैनौं । सायद यो पापी भूकम्प हामीलाई चेतना भर्न आएको पो हो कि ?

हामीहरुको कार्यक्रम तय र तयारीका लागि हाम्रा आदरणीय नर्स, हाम्रा आस्थाका केन्द्र, आफ्नो पेशा, कर्म र कलमलाई एकै साथ लान सक्ने मानव सेवामा समर्पित नर्स समाजसेवी राधा पौडेलको अफिसमा हाम्रो कार्य क्षेत्र तय गर्यौं । म अति प्रभावित क्षेत्र धादिंगतर्फ लागें, मेरो जन्म थलो जहां कुनै घर पनि बांकी छैन् । सबै ढलेको छ भन्ने सुन्नमा आएको थियो । म लगायत बेलायतमा बस्ने मेरो एरिया आउनु भएका पदम सिम्खडा, अशोक भण्डारी, भरत सिम्खडा, मिनु सिम्खडा लगायत हामी मिलेर केहि 
रकम जुटाएका थियौं । हामीले करिब १२५ बोरा चामल, तेल नुन, दाल, टेन्ट ,लुगा, औषधि लगायत राहतका अन्य सामग्री लिएर धादिंगबेसीबाट करिव बेलुकाको ८ बजे एक ट्रकमा उत्तरी धादिंग गुम्दीका लागि हिंड्यौं । कच्ची बाटो भूकम्पको सुख्खा पहिरोबाट बच्दै करिव ११ बजे टारीबेशी भन्ने ठाउंमा बास बस्यौं । भत्किएको घर भए पनि आफ्नो होटल पेशाको धर्म निभाएर खाना बनाएर हामीलाई खुवाए तर हामीलाई बासको लागि ठाउं थिएन र हामी मेरो भाइ, मेरो भतिजो लगायत त्यही ट्रकमा खुल्ला आकाश मुनि नेत्रावती किनारमा बास बस्न वाध्य भयौं । बिहानको तीन बजे त्यहांबाट आफ्नो गन्तव्यतिर लम्कियौं । बिहानको करिव ६ बजे हामी गुम्दी गाविस वार्ड न ९ रातमाटे पुग्यौं ।

ट्रकले हल्लाएर थिलोथिलो बनाएको शरीर मात्र नभई बाटोमा देखेका दृश्यले मन शिथिल बनाएको मन जब डांडांमा उभिएर हेर्दा आफ्नो जन्मभूमि लाग्थ्यो त्यहां ठूलो युद्द भएको थियो । भत्किएको घरको थुप्रो मलिन अनुहार, रुन्चो हांसो, त्रसित मनस्थिति देखेर मन किन थामिन्थ्यो र केवल आंशु र शुन्यतामा हराए मं । आफन्त गुमाएको पीडा, घाइते भएका चोट, गुंड भत्किएको दर्द, गाईवस्तु पुरिएका दुःख, अनिश्चित भविष्यको चिन्ता, दैविक विपत्ति सामना गर्नु परेको त्रसित मन, गासबास कपासको अभावमा चिन्तित आफन्तसंग मेरो उपस्थिति र हाम्रो सहयोग एक एक्येवद्धताको सन्देश थियो ।

जांदा जांदै म मेरो घर तर्फ लागें । मेरी आमा भत्केको घर अगाडि सुन्दर मुस्कान सहित तस्विर लिन तयार भइन् । लाग्थ्यो उनको मन अझै कुनै भूकम्पले हल्लाउन र भत्काउन सक्ने छैन् । बारीको पाटामा च्यातिएको प्लास्टिक मुनी एक खाट राखेर सानो कसांैडीमा खाना पकाउंदै विदेशिएको सन्तानको आशा र भरोशामा बांचेकी थिइन् । यी दृढ विश्वासमा बांचेकी आमा मलाई सम्झाउंदै थिइन् र उनी भन्दै थिइन्, जमिनबाट आएका यी ढुंगा माटा जमिन मै गयो । फेरी निर्माण गर्न सक्छौं । सामान्य चोट बाहेक शरीर सकुशल छौं । धन्य तिम्रो सहनशीलता आमा ।

तर म भने ति घरहरु निहाल्दै सोच्दै एक पोख्त कालिगढले सार्है मेहनतसंग बनाएका अपूर्व चिनो थियो । बार्दली निकालेका घर, कलात्मक कठबार, त्यो सुन्दर कलाको नमुना थियो । सम्पूर्ण गाउंनै कलाको प्रदर्शित एक किल्ला जस्तो लाग्थ्यो तर अब केवल खण्डहर र इतिहास बन्यो । बुबाको धौल्य घर, उहांको गर्व, उहांको पसिना, तीजमा छम छम नाच्ने आंगनी केवल सम्झनामा मात्र रह्यो । बैशाख १२ मा एक युगको अन्त भयो ।

करिब आठ दिन बारीको पाटामा पाल मुनि दिन रात बितायौं । धेरै घाइतेहरु हस्पिटलमा लगिसकेका थिए र बांकी हातखुट्टा, टाउकोमा चोट भएका गाउंमै थिए । तिनका घर घर गइ सेवा गर्न पाउंदा ति माटोको, ति पानीको, ति बस्तीको ऋण चुक्ता गरेको महसुश भयो । विषम परिस्थितिमा पनि बच्न सफल भएकोमा खुशी देखिन्थे । शान्त सौम्य दृढ विस्वस्त, गरिबको बस्तीमा धनी मन देखेर म लज्जित भएं । हामी कता कतै सम्पूर्ण भएर पनि गरिव दुःखी हुन्छौं । ति गरिव भएर पनि धनी छन् ।

यता अर्को टोलीले सिन्धुपाल्चोक, काभ्रे, दोलखा, धादिङ्का विकट ठाउंहरुमा साहसपूर्वक आफ्नो उद्देश्य पुरा गर्नुभयो । उकालो, ओरालो भिरालो, रातदिन केहि नभनी अप्ठ्यारो बाबजुद दुःखी र अप्ठ्यारामा परेकाहरुसंग आंशु र दुःख सांट्दै, घाइतेहरुको मल्हम पट्टि गर्दै चुनौतीको सामना गरेर एक साहसी नर्सको इतिहास लेख्न सफल भएं । तेस्रो टोलीमा हुनुहुन्थ्यो अप्सरा खुलाल, सरोजा अर्याल, बबी लामा, पूर्णिमा गुरुङ । म लगायत सम्पूर्ण नर्स यस्तै एक्येवद्धता, एकता, समझदारिता, समन्वयता निरन्तर रहोस् भन्ने कामना र आशा गर्दछौं ।

र अन्तमा जीवनको निचोड शुन्य रहेछ । दोस्रो भूकम्पको अनुभवले यही बतायो कि जीवन केवल जिरो, जोड, घटाऊ, गुणन केही रहेनछ । केवल शुन्य र मात्र शुन्य आफ्नो पसिनाले आफंैलाई पुर्यो । आफैंलाई मृत्युमा पुर्यायो । आफ्नो वासस्थानमा आफैं डराउनु पर्ने भयो । चार तला घर अघि सडकमा पाल मुनी सडके भनेर छिरछिर, दुरदुर गर्नेसंग रात बिताउन वाध्य भए । सम्पत्तिको घमण्ड गरेर चेतना शुन्य हुनु केवल मुर्खताको
परिभाषा मात्र हो । प्रेम बांडेर बांच्नु नै जीवन हो घृणा त् केवल दानवीपन मात्र हो । धन दौलत केवल मृगतृष्णा हो, यथार्थ होइन । समय 
पर्खंदैन, पछुताउन भन्दा आजैबाट मानवीय हितका खातिर बांच्न सिक्नुमा नै हाम्रो कल्याण छ । दिनु अर्थात् दानमा जतिको आनन्द यो संसारमा केहि छैन् । दानीलाई हानी र दुष्टलाई पुष्ट कहिले पनि हुंदैन । परोपकार पुण्य हो, सेवा नै धर्म हो । भजन गाउने मुख भन्दा दान गर्ने हात र सेवा गर्ने मन नै पवित्र र महान हुन् ।

बिट मार्नु अघि आफ्नो काम, माम, दाम नभनी हरेक दिन नर्सिङ्ग असोसिएसनको काममा अहोरात्र खटिएका विनोद सिम्खडा, रश्मिता दर्लामी, मन सुनुवार । बिनोदको त्यो सदासयता र कडा परिश्रमप्रति हामी सम्पूर्ण यू केवासी नेपाली नर्सहरुको तर्फबाट आभार व्यक्त गर्न चाहन्छौं । प्रत्येक रेस्क्यू टोलीलाई गेटवीक एयरपोर्टसम्म पुराउने मात्र नभई हरेक ब्यवस्थापनको लागि खट्न सफल पनि भएं । त्यस्तै गरेर हाम्रा शब्दहरु जहिले पनि अपुग हुन्छ जो यूकेमा रहनु भएका नर्सहरु हुनुहुन्छ, जसले भूकम्प पीडितका लागि अतुलनीय कार्य गर्न सफल हुनु भई नर्सिङ्गको एकता र एक्येवद्धताको अनुपम उदाहरण दिन सफल हुनुभयो । यो एकता मानव हितका खातिर आफ्नो स्वार्थ, इष्र्या, घमण्ड, जात जातीबाट माथि उठी यी कल्याणका कार्य गर्नु भई पूण्य कमाउन सफल ति नर्सहरु प्रति आभार अनि धन्यवाद दिन 
चाहन्छौं । र, हामी सधंै कृतज्ञ हुनेछौं । जय होस यी सन्तानहरुको ।

सिम्खडा नेपलिज नर्सिङ असोसिएसन यूकेकी संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री