बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: १४:४२ | UK Time: 08:57

राहतले बनाउँदैछ आसे, अल्छि र मगन्ते (भुकम्प प्रभावित क्षेत्र घुमेपछिको अनुभव)

वीनेपाली
२०७२ जेठ २८ गते २२:३१
Relief queue

राहतका लागि लामवद्द भुकम्प पीडितहरु

 

सबैलाई अवगतै छ कि २०७२ सालको नयाँ वर्षको सुरुवातसंगै महाभुकम्पले ८ हजार भन्दा बढीको ज्यान लिएको छ । हजारौँ घाइते भएका छन् भने देशका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल र संरचनाहरुको विनास गरेको छ । यस महाभुकम्प पश्चातका दैनिकीहरुलाई नियालेर हेर्दा जम्मा दुई थरीका नेपालीहरु भेटिएका छन् । यद्यपि नेपालीहरुको एकता पनि धेरै हदसम्म छ भन्ने कुरा यस पटकको भुकम्पले स्पष्ट रुपमा देखाएको छ । भुकम्प पीडितहरुको लागि कसले मात्र सहयोग दिएन होला, राहतको नाममा कसले मात्र सहयोग गरेन होला ? विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गरेका छन् । यदि उनीहरु विभिन्न संघ संस्थासंग आवद्ध भएका भए त्यसमार्फत पनि सहयोग गरेका छन् । सञ्चारका माध्यमहरु टेलिभिजन रेडियो, पत्रपत्रिकामार्फत भुकम्प पीडितहरुको लागि सहयोग उठाइरहेका, पठाइरहेका समाचारहरु दिनानुदिन सुनिरहेका छौँ । सामाजिक सञ्जाल तथा अन्य माध्यमहरुबाट नेपालभित्रै पनि युवाहरुको सकृयतामा विभिन्न ठाउँबाट सहयोग उठाइरहेका र प्रदान गरिरहेका समाचारहरु सुन्न, देख्न र पढ्नमा पाइरहेका छौँ ।
राहत प्रदान गर्नलाई व्यक्ति, समूह, विभिन्न संघ संस्था तथा सरकारी निकायबाटै पनि क्षतिग्रस्त जिल्ला जिल्ला, गाउँ गाउँसम्म पुगिरहेका छन् । काठमाडौँकै विभिन्न गल्लि गल्लि, चोक चोक तथा निश्चित ठाउँहरुमा १२ गतेको महाभुकम्प पश्चात पाल, त्रिपाल, पानी, दाल चामल, नुन तेल, जस्ता पाता लगायत आवश्यक सरसामग्रीहरु प्रदान गर्दै गरिएको छ । पीडितहरुमध्ये सबैले पाए त भन्न सकिन्न यद्यपि प्रदान गर्नेहरुले धेरै नै प्रदान गरिरहेका दृष्यहरु देख्न र सुन्नमा आइरहेको छ । देशका विभिन्न जिल्लाहरुबाट संकलित राहतहरु लिएर ट्रकका ट्रक सामानहरु बढी क्षतिग्रस्त जिल्लाहरु गोरखा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, नुवाकोट, धादिङ्ग, मकवानपुर जिल्लाहरुमा पुगेका छन् । सक्नेहरुले जिल्लाका भित्री गाउँहरुमा पुराएका छन् भने कतिपयले सडक नजिकै पनि राहत वितरण गरेर फर्केका छन् । जे होस् जसरी भए पनि नेपालीहरुले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले सहयोग गरेको देखिन्छ ।
महाभुकम्प पश्चात घर, परिवार, अन्न तथा अन्य सम्पति गुमाएर, जिउनका लागि आवश्यक गाँस, बाँस र कपास गुमाएका, बिपत्तिमा परेका, कतिपय नेपालीहरु कति दिन भोकै बसेका थिए त्यसबेला पाएका केही खानेकुरा, पाल तथा अन्य सामग्रीले केहीले राहत महशुस गरे । गत महिना मकवानपुरका केही गाउँहरु घुम्ने मौका जुर्‍यो । त्यसबखत भेटघाटका क्रममा भएका अनौपचारिक गफगाफबाट थाहा पाएँ कि धेरैभन्दा धेरै संघ संस्था, ब्यक्तिहरु सडक नजिक नजिकका पालहरुमा गएर राहत बाँडेर फर्केका छन् । चाउचाउ, चिउरा, पाल, भाँडाकुँडा लगायत लत्ताकपडा आदि । यसले घरबारबिहिनलाई त धेरै नै राहत मिल्यो नै । केही मात्र घर चर्केर डरले पालमा बसेकाहरुले पनि थप सामग्री जोडे । गत हप्तादेखि दोलखाको केही गाउँहरु घुम्ने अवसर मिलेको छ जसमा केही मानिसहरुसंग अनौपचारिक गफगाफ गर्ने मौका मिल्यो । यही घुमघाम र छलफललाई नै आधार मानेर भन्ने हो भने पनि धेरै कुरालाई लेखमा समेट्न सकिने देखिन्छ ।

उनीहरुमध्ये धेरै क्षति ब्यहोरेका गाउँले सुनाउँछन्, “राहतले केही मात्रामा साथ दियो । १२ गतेको भुकम्पले खास क्षति नपुराएकाले अब त आउन्न भनेर कसैले केही निकालेनौँ । २९ गतेको भुकम्पले घर त जरैदेखि उखालिदियो । कुन चिज कहाँ थियो भन्नेसम्म हेक्का छैन । अस्ति पानी परे यता अन्नपात भिजेर उम्रिन थालेपछि मात्र हाम्रो ढुकुटी यहाँ थियो भन्ने थाहा भयो ।” तर तिनै मध्येका धेरै घर नभत्किएका, खान लाउन पुगिसरी आएकाहरुले भने केही राजनीति गर्ने मौका समेत पाए । स्थानीयबासीकै भनाइमा ‘जाबो एक बोरा चामल र एक केजी चिनीले कति दिन पुग्छ भन्छन् तर राहतको लाइनमा लामबद्द हुन छाडदैनन् ।’

Relief Hindustan times

तस्वीर : हिन्दुस्तान टाइम्स

हुन त विभिन्न संघ संस्था र व्यक्तिहरुले नै पनि राहतको नाममा विभिन्न वस्तुहरु वितरण गरी जनतालाई मगन्ते बनाए । जे पनि सरकारले र अन्य संघ सस्थाले नै बनाई दियोस् भन्ने धारणाको विकास गराइ दियो । कोही नयाँ अनुहार गाउँमा देखियो भने के ल्याएको छ ? पहिलो प्रश्न हुन थालेको छ । एउटै चिज जति पटक आए पनि थापेको छ, मलाई पुग्यो होइन आएको चिज थापी राखौँ पछि काम लाग्छ । अझ कतिपय गाउँहरुमा के पनि देखियो भने गाउँलेहरु सबैका नाममा राहत बुझ्ने अनि निश्चित समूहले मात्र उपभोग गर्ने । अथवा आफन्त र नजिकका छरछिमेकलाई मात्र खुसुक्क खबर गर्ने अरुलाई थाहै नदिने । जसले गर्दा राहतका नाममा आएका सबै चिजले राम्रो मात्र गरेको छैन समाजमा आफन्त र छरछिमेकमा फाटो समेत ल्याएको देखिन्छ । मानिसहरु एकदमै परनिर्भर र स्वार्थी हुँदै गएका पनि छन् । जसलाई एकमुठी अन्नको आवश्यकता छ, जसले एकमुठी अन्नको महत्व बुझेको छ, उसले राहतको सही मुल्य बुझेको छ । जसलाई पुगिसरी छ, उसले जति पाए पनि पाएको महसुश गर्न पनि सकेको छैन । कतिपय ठाउँहरुमा आफनो बारीभरि काउली र बन्दा कुहिरहेको छ तर एकपोका चाउचाउको लागि दिनभरि लाइन लागेको देखिन्छ । कतिपय ठाउँमा हामीले त केही राहत नै पाएका छैनौँ भनि आफनो अस्तित्वलाई पनि एकबोरा चामलसंग साटिरहेको पनि पाइन्छ । यसरी हेर्दा राहतले राम्रो पनि गरेको छ तर नराम्रो पनि ।
महाभुकम्पले धेरैले गाँस, बास, कपास र आफन्त गुमाए भने राहतको क्रममा धेरैले धेरै चिज पाए । महाभुकम्प पश्चात धेरैले सहयोग गर्ने मौका पाए, धेरैले राहत पाए, केहीले सेल्फी खिचेर फेसबुक तथा अन्य सामाजिक सञ्जालमा फोटो फैलाउन पाए, केहीले नयाँ रोजगारी पाए । कतिले राहत दिन प्रतिष्पर्धा गरेको पनि पाइयो । खुसीको कुरा वर्षौँसम्म सानो विषयमा झगडा परेर नबोलेका साथीहरुबीच पनि बोलचाल सुरु भएको पाइयो । आपसी झगडाले कैयौँ वर्ष नबोलेका छिमेकी पनि एउटै पालमुनि संगै बसेर मेलमिलाप भएको पनि पाइयो । त्यसैले यही कुरालाई विश्लेषण गर्दा पनि नेपालीहरुको दुईखाले चरित्रहरु देखिए । यो राहत दिने र लिने क्रममा पनि नेपालीहरुको दुई खाले चरित्र देखिए, एक समूह नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ । जो मर्कामा परेका छन् तिनलाई हाम्रो सहयोगको जरुरत छ र हाम्रो सहयोगले उनीहरुको जीवनमा थोरै भए पनि राहत पुराउने छन् भन्ने मान्यता राख्ने मानिसहरुले अहोरात्र खटेर सहयोग गरेको देखियो भने अर्काेतर्फ यही हो मौका । फाइदा लिइहाल्नुपर्छ भन्ने मान्यता भएकाहरु पनि प्रसस्त देखिए । कतिपय अब भोलि मरिने हो कि बाँचिने हो भनेर टिल्ल रक्सि खाएर बसे भने कोही लौ भोलि पर्सि त के होला यही हो मौका भनेर डबल त्रिबल पारेर समान बेच्नुपर्छ भन्नेहरु पनि देखिए । घर टहरा बनाउनलाई काठमाडौँका धेरै युवाहरु गाउँ गाउँ पसे । बेलायत, अमेरिका तथा अन्य ठाउँहरुबाट आएर अस्थाई तथा स्थायी टहरा निर्माण गरि दिए तर धेरैजसो घर भत्केकाहरु भेला भएर तास खेलिरहे । महिलाहरु पनि नानी च्यापेर रमिता हेर्न हिँडे । हामीले त केही पाएनौँ भन्ने गुनासो पोख्नमा ब्यस्त रहे ।
त्यसैले अब के गर्ने भन्नेतर्फ हामी सबैले सोच्ने बेला आएको छ । राहतले धेरै ठूलो आहत ल्याइसकेको छ । गतहप्ता मात्र दोलखाको जिरीमा भाइबहिनीहरुसंग एउटा सानो छलफल गरौँ भनेर गएका थियौँ, त्यो बेलाको एउटा दुखद घटना जोडन मन लाग्यो । भुकम्प अघिसम्म मिलेर बसेको त्यो समाजमा भुकम्पको राहतले खैलाबैला मच्चाएछ, सबैले राहत दिने, बाँड्ने । बिचरा हामी राहत नबाँड्नेहरु पुग्दासमेत समुदायका मानिसले राहत देलान भन्ने सोचेछन् । हामीले विद्यार्थीभाइ बहिनीहरुसंग २/३ घण्टा बसेर छलफल गर्नलाई त्यहीका समाजसेवी तथा शिक्षकलाई अनुरोध गरेका थियौँ । तर विद्यालयका प्रधानाध्यापकको बच्चाले छलफलमा भाग लिन नपाएको हुनाले त्यस विद्यालयमा हामीले कार्यक्रम पनि गर्न पाएनौँ । त्योभन्दा ठूलो कुरा यो एउटा सानो विषयले गाउँलेमाझ ठूलो खैलाबैला मच्चियो । आफू आफूमा मनमुटाव सृजना हुन गयो । त्यसैगरी विभिन्न संघ संस्थाले विभिन्न क्षेत्रमा वितरण गरिरहेका राहत चामल तथा कुनै खाद् पदार्थ अलिकति पनि सडेको पाइएमा त्यस संस्थाको लोगो भएको गाडीमाथि हातपात गर्ने जस्ता अमानवीय ब्यबहार पनि समाजमा फैलिँदै गरेका छन् । यस्ता उदाहरणहरु त हरेक गाउँ, टोल र छिमेकमा सुरु भएका रहेछन् भाइबहिनीहरुसंगको छलफलले पनि देखायो ।
मकवानपुर र दोलखा दुई जिल्लालाई मात्र दाँजेर हेर्दा पनि प्रायजसो मकवानपुरतिरका घरहरु ढलिरहेका थिए, मानिसहरु पालमा बिजोग देखाएर बसेका थिए, तर आफनै घरको टिनको प्रयोग गरेर अस्थायी टहरो कमैले मात्र निर्माण गरेका थिए । छलफलमा पनि सबै काम संघ संस्था र सरकारले गर्नुपर्छ भन्ने जनगुनासो थियो भने दोलखातिरका अधिकांश अस्थायी टहरा तथा घरहरु तयारी भैसकेका देखिए । त्यसैले आउने दिनमा गाउँ, टोल र समाजका जनतालाई आसे, मगन्ते बनाउन मात्र हैन वास्तवमै जीवनपयोगी सीप सिकाउनतिर लाग्नुपर्छ । छरछिमेकमा देखिएका मनमुटावलाई निमिटयान्न पार्ने कुनै दिगो विकासको कार्य तय गरिनु पर्छ । जनता आफैँले पनि हरेक काममा अपनत्व लिएर अगाडि बढ्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक