लन्डन । वीकडेजको व्यस्तता त उल्लेख नगरे भो । बिहान उठेदेखि सांझसम्म व्यापार व्यवसायका डिलिङ वा सामान उत्पादन र आपूर्तिको चटारो । अलिक फूर्सद मिल्छ भने त्यो हो विकेन्ड । खुब घमाइलो थियो त्यो सप्ताहन्तको लन्डन । प्रत्येक सप्ताहन्त नेपालमा परिवारसंग फोन सम्पर्क गर्ने एउटा रुटिन नै छ ।
शनिवार, भाइसंग कुरा गर्दै थिए उनी । एक्कासी क्यार क्यार आवाज जस्तो सुनिएर लाइन काटियो । सोचे भाइले गाडी हांक्दा कतै ठोक्यो कि । पछि बारम्बारको सम्पर्क प्रयास विफल भयो । त्यतिबेलासम्म ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पले मातृभूमि मरुभूमिमा परिणत भइसकेको थियो । अधिकांश घरसहित सांस्कृतिक सम्पदाहरु गर्ल्याम गुर्लुम ढलेका थिए । चिच्याहट, भागदौड, भत्किएका संरचना मुनी च्यापिएका मानिसहरुको रोदन ।
‘त्यो हृदय विदारक क्षण मानसपटलबाट अझै हट्न सकेको छैन्’, मिडिया र नेपाली समुदायमा कहिल्यै नझुल्किने लन्डनका सफल व्यवसायी उत्तम नेपाल भन्दै थिए, ‘सारा नेपाली रोइरहेका बेला हाम्रो मन पनि त कसरी खुशी रहन सक्ला, सपरिवार विक्षिप्त छौं ।’
शनिवारको त्यो प्राकृतिक विध्वंशपछि उनलाई केही गर्ने जांगर चलेन । आफू जन्मिएको गाउं धादिङ कल्लेरीमा आफन्तजनबीच रुवावासी छ । सग्ला घर कतै छैनन् । खानबस्न मानिस तंछाडमंछाड गरिरहेका छन् । आइतबार उनले अर्का व्यवसायी कुल आचार्यलाई फोन गरि भूकम्प पीडितहरुका लागि सहयोग गर्ने इच्छा व्यक्त गरे । लन्डनमा एनआरएनए यूकेको आयोजनामा पिएचडी भेला हुंदै थियो, त्यहां पुगेर नेपाल एक्लैले ५१ लाख रुपैयां दिने घोषणा गरे ।
‘आफन्त, साथीभाइ सबैका घर भत्केका छन्, उनीहरु राम्रो खान लगाउन र बस्न नपाएर तड्पिरहेका बेला म त बरु कमाउंला भनेर सानै भएपनि सहयोग घोषणा गरेको हुं’, नेपालले भने, ‘अब सही सदुपयोग भए त्यसबाट बढि आत्मसन्तुष्टि हुनेछ ।’
उनले एनआरएनए यूकेसंगै सल्लाह गरेर नेपालको लायन्स् क्लव काठमाण्डौंबाट राहत सामाग्री वितरण गर्ने निष्कर्ष निकालेका छन् । व्यक्तिगत सहयोग ५१ लाख रुपैयांबाहेक उनले आफैंले कोषअभिवृद्धि अभियान समेत थालेका छन् । फेशन डिजाइन सम्बन्धि कम्पनी यूमी इन्टरनेशनल लिमिटेडका निर्देशक उत्तम नेपालले ‘यूमी आशा अर्थ क्वेक अपिल ड्रेस’ अभियान शुरु गरेका हुन् । यस सम्वन्धि अपिल बेलायती लोकप्रिय दैनिक अखवार दि सन, मेट्रो, अन्य प्रमुख म्यागेजिन र गुड मर्निङ टिभीमा प्रचार प्रसार गरिनेछ । ड्रेस विक्रीबाट संकलित रकम भूकम्प पीडितलाई पठाउने उनको योजना छ । साथै आफ्ना कम्पनीका दुई सय ३० कर्मचारीबाट पनि सहयोग अनुरोध गरिनेछ । त्यसो त नेपालले आजै शुक्रबार एकहजार स्लिपिङ ब्याग नेपाल पठाउंदैछन् । ‘यो संकटको घडीमा हामी एकजुट होऔं र एकसाथ रहे हामी बलियो पनि हुन्छौं’, नेपालले भने, ‘हामी कुन वर्ग, जात वा समुदायका हौं त्यसले अर्थ राख्दैन, केवल हाम्रो अन्तिम लक्ष्य आफ्नो मातृभूमिप्रति मानवीय सहायता प्रदान नै हुनुपर्छ ।’
विभिन्न देशबाट पठाइएका राहत सामाग्री काठमाण्डौंमा थुप्रेर बस्ने तर सम्वन्धित ठाउंमा पीडितले समयमै नपाएको खवरले दुःखी छन् नेपाल । यस्तो परिस्थितिमा विपत व्यवस्थापनका वीज्ञहरु जतिसक्दो छिटो परिचालन गरिनुपर्नेमा उनको जोड छ ।
धादिङ कल्लेरी गाविसमा गरिव परिवारमा जन्मिएर १२ वर्षको उमेरमा काठमाण्डौं आए उनी । पढाई सानैदेखि तेज । भविष्यमा केही गर्ने अभिलासा लिएर सन् १९९२, अप्रिलमा बेलायत छिरे नेपाल । त्यतिबेला साथमा जम्मा ५ सय पाउण्ड थियो । शुरुमा आउंदा आप्रवासीका पीडा बेग्लै हुन्छन्, त्यो नेपालले पनि भोगे । तर, समय बित्दै जांदा भाग्यले साथ दिइ रह्यो । सन् १९९५ मा उत्तम बुटिक खुल्यो । सन् २००६ मा यूमी ब्राण्ड आएपछि उनी पछाडि फर्कनु परेन । यूमी ब्रान्ड अहिले विश्वका २७ देशमा आपूर्ति हुन्छ भने कम्पनीको ग्लोवल वार्षिक टर्न ओभर अब १०० मिलियन डलर नजिक पुग्ने क्रममा छ । कम्पनीका अहिले चार ब्रान्ड यूमी, उत्तम बुटिक, मेला लन्डन र इश्का प्रख्यात छन् ।
२३ वर्ष यता बेलायत बस्दै आएका नेपाल नेपाली समुदायका कार्यक्रममा पटक्कै देखिन्नन् । उनलाई सम्मानका लागि बोलाउंछन् तर खादा संस्कृति उनलाई कहिल्यै चाखलाग्दो भएन । ‘मैले विगत देखि नै विशेष परिस्थितिमा नेपाली समाजलाई सहयोग गरिरहेको छु र भविष्यमा पनि गर्नेछु’, नेपालले वीनेपालीसंग भने, ‘तर मलाई लाइमलाइटमा आउन मन लाग्दैन ।’
एकजुट हुनुको सट्टा बेलायतमा सयौं संस्था खुलेकामा उनको असन्तुष्टि छ । ‘धेरै संस्था भएर च्यारिटीका राम्रा काम पनि भएका छन् तर सिमित भए एकतामा अझ बल हुन्थ्यो’, उनी भन्छन् ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ