लन्डन । नेपालबाट बेलायत भ्रमणमा आउनुभएकी गायिका पवित्र गुरुङको यही ३१ अगस्टमा एकल साँझ हुने भएको छ ।
गोर्खा मिडियाको आयोजनामा “अ म्युजिकल सोलो विथ पवित्र गुरुङ र डीएमटी ब्यान्ड च्यारिटी नाइट” हुन लागेको हो । पवित्र गुरुङले आफ्नो बाल्यकालको विद्यालय, नुवाकोटको गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले यो परोपकारी सांगीतिक कार्यक्रम गर्न लाग्नुभएको आयोजकले जनाएको छ । कार्यक्रम तयारी पूरा हुने चरणमा रहेको समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा पवित्राले स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारा देवी, भक्तराज आचार्य, अरुण थापा जस्ता नेपाली सांगीतिक हस्तीहरूको कालजयी गीतहरू प्रस्तुत गर्नुहुनेछ भने केही नयाँ र आधुनिक गीतहरू पनि समावेश गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रमको सञ्चालन गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले गर्नुहुनेछ । नुवाकोट, दुप्चेश्वर गाउँपालिका ४ जन्मेका पवित्र गुरुङ हाल दोस्रोपटक बेलायत भ्रमणमा हुनुहुन्छ ।
पवित्रा गुरुङ, नेपाली र हिन्दी गीतहरू सजिलै गाउन सक्ने उहाँ शास्त्रीय संगीतप्रति विशेष रुचि राख्नुहुन्छ । “नुमा”, “नैना”, “रीपा”, “उज्यालो”, “क्योँई साँ”, “टुहुरी” र “मुख्या” जस्ता चलचित्रहरूमा पार्श्वगायिकाको रुपमा स्वर दिएर उहाँले दर्शक तथा श्रोताको मन जित्न सफल हुनुभएको छ ।