
बर्नमथ (बेलायत) । बेलायतमा जन्मी हाल बर्नमथ सहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेख्नु भएको छ । अंग्रेजी भाषामा उहाँले लेखेको “ह्यारी एण्ड द रेड बलुन ” चित्रकथालाई नेपालीमा “अरुजको बेलुन यात्रा” शीर्षकमा अनुवाद गरिएको छ ।
हालै मात्र परिवारसहित नेपाल गएर उहाँले चित्रकथा सार्वजनिक गर्नुभएको हो । बालसाहित्यिक कृतिहरु प्रकाशित गर्दै आएको प्रकाशनगृह कोपिला किताबले आरोनको पुस्तक प्रकाशित गरेको हो । मनोरञ्जनमात्र नभई उक्त चित्रकथाले बालबालिकाको कल्पनाशीलतालाई उजागर गर्ने र नैतिक मूल्यमान्यताहरुलाई रमाइलोसँग सिकाउन सहयोग गर्ने रेग्मी बताउनुहुन्छ ।
विकसित देशहरुमा सुत्नुअघि बालबालिकाहरुलाई पढ्न प्रोत्साहित गरिन्छ । विद्यालय र सार्वजनिक पुस्तकालयहरुबाट बालबालिकाहरुले सजिलै पुस्तक पाउन सक्छन् । तर नेपालमा बालबालिकाहरुलक्षित पुस्तकहरुको पहुँच सीमित भएको आफ्नो आमाबाबुबाट थाह पाएपछि यस क्षेत्रमा योगदान गर्न रुचि जागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- “सुत्नुअघि पढ्ने बानीले निद्रामा सुधार ल्याउँछ र शारीरिक र मानसिक स्वास्थ्यको लागि यो जरुरी हुन्छ ।”
पुस्तक प्रकाशन गर्न आवश्यक खर्च जुटाउन उहाँले गत वर्ष “गो फण्ड मी”बाट रकम जुटाउनुभएको थियो । हालै नेपाल जाँदा उहाँले चितवनका केही विद्यालयमा पुस्तक हस्तान्तरण गर्नका साथै आफ्ना विचार पनि राख्नुभएको थियो । विद्यालयका शिक्षकवर्ग, साथीभाइ र परिवारजनबाट प्रशंसा पाउँदा उहाँ पुल्लकित हुनुहुन्छ ।
नेपालका सार्वजनिक विद्यालयहरुमा पुस्तक नि:शुल्क वितरण गर्ने तर अन्यत्र बिक्री गरेर नेपालका ग्रामीण विद्यालयहरुलाई खेलकुद सामग्री उपलब्ध गराउन सहयोग गर्ने उहाँको उद्देश्य छ। लेखनबाहेक फुटबलमा उहाँको अभिरुचि छ र नियमित प्रशिक्षणमा जाने गर्नुभएको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने