लन्डन । पासा पुच गुथि यूकेले ‘लन्डन इन्द्र जात्रा’मनाएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार फेल्थाममा ‘लन्डन इन्द्र जात्रा’मनाइएको हो । इन्द्रजात्रा काठमाडौंमा ८ दिनसम्म मनाइने पृथक र सांस्कृतिक महत्वको जात्रा हो । जात्रा अवलोकन गर्न नेवार समुदायबाहेक विदेशीसमेत गरी तीन हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ ।
इन्द्र जात्रामा बेलायतमै बनाइएका कुमारी, भैरव र गणेशको रथ तानिएको थियो । नेपालको जिवित देवी कुमारीको तस्विर टांगिएका ति रथ परिक्रमा गराईंदा दोश्रो पुस्ता निकै उत्साहपूर्वक सहभागी भए । अघिल्लो सन्ध्यामा गणेश र भैरवको विधिपूर्वक पूजा पनि गरिएको थियो । रथ तानेपछि अन्त्यमा ठड्याइएको यःसिं (लिङ्गो) ढालिएको थियो ।
जात्रामा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा प्रस्तुत गरिए । यसैका लागि गुथिका विभिन्न च्याप्टरमा झण्डै एक वर्षदेखि युवाहरुलाई धिमे बाजा प्रशिक्षण गराइएको थियो । लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदिमा युवा पुस्ता बढी सामेल भए ।
बेलायतमा विगत २५ वर्षदेखि लाखे नाच देखाइरहेका वरिष्ठ कलाकार विनोद चिपालुको नेतृत्वमा गरिएको लाखे महोत्सव र हाथु द्योः बाट थोंसहित समेंबजि डों (प्रसाद) चाख्न पनि हौसिए दर्शक । मौलिक नेपाली, नेवारी परिकार पस्किएका स्टलले पनि जात्रामा आकर्षण थपेको थियो ।
आयोजक पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित जात्रा गरिएको जनाउनुभयो ।
जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिएपनि कोभिडका कारण ५ वर्षपछि २५ औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताउनुभयो ।
कार्यक्रममा महासचिव प्रजेश श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो । सो अवसरमा प्रायोजक, सहयोगी, कलाकार, अतिथी एवं विशिष्ठ व्यक्तित्वलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।