इजरायलमा रोजगारी छिट्टै खुल्दै

तेलअभिव, इजरायल । इजरायलले नेपालबाट केयरगिभर कामका लागि कामदार ल्याउने व्यवस्था चाँडै सुचारु गर्ने भएको छ ।
तेलअभिवस्थित नेपाली दूतावासले आयोजना गरेको सातौं गणतन्त्र दिवसको कार्यक्रममा बोल्दै इजरायलका स्वास्थ्य मन्त्री यायेल गेरमानले हाल बन्द अवस्थामा रहेको केयर गिभर ल्याउने प्रक्रिया जीटुजी (गभमेण्ट टु गभमेण्ट) सरकारी तहमार्फत ल्याउने तयारी भैरहेको जानकारी दिए ।
केयरगिभर काममा इजरायलमा करिब ६ हजार नेपाली छन् ।
इजरायल सरकारले सन् २०११ मा केयर गिभरका लागि भिसा दिन बन्द गरेको छ ।
कार्यक्रममा बोल्दै मन्त्री गेरमानले एशियाभरिमै नेपाल इजरायलको पुरानो मित्र रहेको उल्लेख गर्दै दुई देशको मित्रताले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले यसवर्ष कृषि क्षेत्रका लागि ३६० नेपाली प्रशिक्षार्थी कामदार इजरायलका विभिन्न कृषि संस्थाहरुमा ल्याउने जानकारी पनि दिए । दुई देशको आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउन पर्ने धारणा ब्यक्त गर्दै उनले यो सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीलाई बधाई दिँदै अन्तर्राष्ट्रिय समुुदायलाई नेपालको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिए । सो अवसरमा उनले नेपाल–इजरायल सम्बन्ध लामो र ऐतिहासिक रहेको चर्चा गर्दै इजरायलले नेपालप्रति देखाएको सदभाव र सहयोगका लागि धन्यवाद दिए ।
राजदूूत प्रसाईले इजरायली लगानीकर्ताका लागि नेपाल निकै सुरक्षित गन्तव्य रहेकाले लगानीका लागि आग्रह पनि गरे । वर्षेनी दश हजार इजरायली पर्यटक नेपाल जाने र करिब छ हजार नेपाली इजरायलमा कार्यरत रहेको जानकारी पनि उनले दिए ।
सो अवसरमा इजरायल सरकारका उच्च अधिकारी, व्यवसायी, इजरायलमा रहेका विभिन्न देशका कुटनीतिक प्रतिनिधि, अन्तर्राष्ट्रिय समुदायलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिनुका साथै नेपालसम्बन्धी वृत्तचित्र र फोटो प्रर्दशन गरिएको थियो ।
नेपाली राजदूतावासले यसै वर्षदेखि अन्तर्राष्ट्रिय समुदायबीच इजरायलमा गणतन्त्र दिवस मनाउन शुरु गरेको हो ।

Isreal-592x500

प्रतिक्रिया

सम्बन्धित सामाग्री