काठमाडौँ, ८ असार । प्रधानमन्त्री सुशील कोइरालाले आधुनिक र विकसित नेपाल बन्ने विश्वास व्यक्त गरेका छन् । उनले सो विश्वास मंगलबार बिहान भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको टोलीसँग व्यक्त गरेका हुन् ।
उनले भने, “हिजोका कमीकमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु । म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौँ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनःनिर्माणको मार्गमा पनि हिँडिरहेको बताए । उनले हालैको भूकम्पमा भएको खोजी, उद्धार, राहत र पुनःस्थापनाका प्रयासको विदेशीले सराहना गरेको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले संविधानको निर्माणपछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकाले विकासले गति लिने विश्वास व्यक्त गरे । प्रकृतिले दिएका स्रोतको उपयोग गरेर नै नेपाल समृद्ध बन्ने बताउँदै उनले थपे, “म नेपालको भविष्यप्रति अत्यन्तै आशावादी छु । मुलुक अब अगाडि बढ्यो ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा लोकतन्त्रको स्थायित्व र विकाससँग सञ्चार जगत्को पनि भविष्य पनि आबद्ध भएको बताए । उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाको आन्दोलनमा सधैँ साथसाथै रहेको सञ्चार क्षेत्रले संविधान निर्माण गरी सङ्घीयता, गणतन्त्र र समावेशीतासहितको लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने संविधान निर्माणमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
कान्तिपुरले दियो रु चार करोड ४३ लाख
भूकम्पपीडित नेपालीको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपका तर्फबाट कान्तिपुर फाउन्डेसनले सञ्चालन गरेको खातामा जम्मा भएको रकम आज ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुप र कान्तिपुर फाउन्डेसनका अध्यक्ष सिरोहियाले प्रधानमन्त्री कोइरालालाई चार करोड ४३ लाख ५१ हजार ३१० रुपैयाँ ६ पैसाको चेक हस्तान्तरण गरेका हुन् ।
भूकम्पपीडितको सहयोगार्थ कान्तिपुर मिडिया ग्रुपले सुरुमा सेञ्चुरी बैंकसँग र पछि अन्य बैंकसँगको सहकार्यमा बैंक खाता खोली रकम सङ्कलन गरेको थियो । “खातामा हामीले रु १० लाख राख्याँै र अरुलाई सहयोग गर्न अपिल गरयौँ,” कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाले भने – “यसमा रु १०० देखि ५० लाख दिने दातासमेतको रकम सङ्कलन भएको छ ।”
सो अवसरमा अध्यक्ष सिरोहियाले सो रकम आवश्यकता परेका भूकम्पपीडितको राहत र पुनःस्थापनामा सदुपयोग होस् भन्ने चाहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको सदुपयोग होस् भन्नेमा सरकार अत्यन्त सजग रहेको उल्लेख गर्दै भने, “म राहत रकम र सामग्रीको दुरुपयोग हुन दिन्न । मैले यो कुरा क्याबिनेटमा पनि उठाएको छु । गल्ती गर्ने परेका छन् । कति कुरा अख्तियारमा पनि पुगेको छ ।”
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपद्को घडीमा सहयोग जुटाएकामा कान्तिपुर मिडिया ग्रुप कान्तिपुर फाउन्डेसन, सेञ्चुरी बैंक र अन्य दातालाई धन्यवाद दिएका थिए ।
सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, द काठमाण्डु पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्याय, सेञ्चुरी बैंक, सनराइज बैंकका पदाधिकारीका साथै कान्तिपुर मिडिया ग्रुपका विभिन्न पदाधिकारीको पनि उपस्थिति थियो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने