
लन्डन । आशफोर्डको जुली रोज स्टेडियममा ‘हेल्थ एण्ड वेलबिइंग डे’ भव्य रुपमा सम्पन्न भएको छ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी तथा नेप्लिज डक्टर्स एसोसिएसन युकेद्वारा गत शनिबार आयोजना गरिएको कार्यक्रमलाई हाम्रो रन क्लब, सन्डे रन क्लब, गोर्खा पीस फाउन्डेशन लगायतका संस्थाहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा बेसिक हेल्थ चेक, वेलबिइंग सम्बन्धी परामर्श, फिटनेस गतिविधि, दन्त स्वास्थ्य, फ्यामिली डे आउट, पिकनिक, सांस्कृतिक कार्यशाला, नेपाली खाना र विभिन्न खेलकुद पनि आयोजना गरिएको थियो । उक्त अवसरमा गरिएको ‘सीपीआर’ ट्रेनिंग निकै उपयोगी भएको सहभागीहरुले बताए। उक्त अवसरमा नेपालमा निर्मित सामानहरु पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रमको सुरुमा सन्डे रन क्लबका गोकुल राईले ‘वार्म अप’ गराए भने पदयात्रा र दौडको संयोजन हाम्रो रन क्लबका सदस्यहरुले गरेका थिए। सबै पृष्ठभूमिका स्थानीय समुदायलाई संगै ल्याएर आपसी सद्भाव, सम्मान र समावेशितालाई बढावा दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष चिरन राईले बताए। उनले कार्यक्रम सफल पार्न सघाउने संघसंस्था , प्रायोजक, स्वयम्सेवी लगायत सबै सहभागीहरुलाई हार्दिक धन्यवाद दिए ।
कार्यक्रमको खर्च कटाएर बचेको रकम नेप्लिज डक्टर्स एसोसियशन युकेलाई प्रदान गरिने वरिष्ठ उपाध्यक्ष राईले जनाए । ए-स्टार मोर्गेजेज लगायतका कम्पनीले कार्यक्रमको प्रायोजन गरेका थिए ।
“गत जुन ७ मा आशफोर्डमै भव्य रुपमा सम्पन्न ‘गोर्खा वाक’ लगत्तै आयोजित यो कार्यक्रमले स्थानीय समुदायलाई स्वास्थ्य र तन्दुरुस्तीबारे थप सजग बनाउन सफल भएको छ,” आशफोर्डमै बसोबास गर्ने ए-स्टार मोर्गेजेजका मोर्गेज एण्ड प्रोटेक्शन एडभाइजर रमेश सराङकोटीले भने।
सन् २००४ मा स्थापना गरिएको सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले हरेक वर्ष सगरमाथा फुटबल टुर्नामेन्टलगायत सामुदायिक गतिविधि आयोजना गर्दै आएको छ।