लन्डन । नेपालीका लागि धेरै अर्थमा पहुंच बाहिर छ दि रोयल अल्बर्ट हल । लन्डन साउथ केन्जिंगटनस्थित उक्त हल महंगोमात्र होइन, कुनै एक कार्यक्रम गर्न कम्तीमा दुई वर्ष पालो कुर्नुपर्ने अवस्था छ । सन् १८७१, २९ मार्चदेखि सञ्चालनमा आएको उक्त प्रसिद्ध हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् । त्यही हलमा नेपालीले पहिलोपटक कन्सर्ट गर्दैछन् भूकम्प पीडितका लागि ।
हेल्प नेपाल नेटवर्क यूकेको संयोजनमा गोरखा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ आगामी जुन २८ तारिख सांझ कन्सर्ट तय भएको हो । ३ हजार ९२९ सिट क्षमताको उक्त हलमा कन्सर्ट गर्न करिब ७० हजार पाउण्ड खर्च लाग्ने अनुमान छ ।
कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत वाद्यवादकहरु सम्मिलित १७ जनाको समूहले संगीत पस्कने आइतबार लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा जनाइयो । सांझ ६ बजे शुरु हुने कार्यक्रम करिब तीन घण्टा चल्नेछ ।
‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्ट हेर्न २५ देखि ७५ पाउण्डसम्म टिकट तोक्ने तयारी छ । लिफ्लेटमा विज्ञापन प्रकाशन र प्रायोजकबाट समेत अतिरिक्त रकम उठाउने आयोजकले जनाएका छन् ।
‘कार्यक्रम सांच्चिकै ऐतिहासिक हुनेछ’, लन्डन रहेका कार्यक्रमका सुत्रधार गायक योगेश्वर अमात्यले आश्वास्त पारे, ‘नेपालीले गर्न लागेको पहिलो र भूकम्प पीडितहरुमा समर्पित भएकाले कार्यक्रम धेरै अर्थमा ऐतिहासिक सावित हुने मेरो विश्वास छ ।’ अल्बर्ट हलकै व्यवस्थापनले गर्दा कार्यक्रम स्तरिय हुने अपेक्षा छ । आयोजकले कार्यक्रममा आइदिएर भूकम्प पीडितको सहयोग गर्न अपिल गरेका छन् ।
कन्सर्टको खर्च कटाइ बांकी रहेको सबै रकम विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखामा क्षतिग्रस्त विद्यालयहरुको पुनर्निमाणमा सघाउन खर्च गरिने आयोजकले जनाएका छन् । हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले कन्सर्टबाट संकलित रकमले कम्तीमा दुईवटा विद्यालय बनाउने लक्ष्य राखिएको जनाए ।
बीबीसी नेपाली सेवा आवद्ध पत्रकार भगिरथ योगीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा एनआरएनएए आइसीसी सदस्य कुल आचार्य, व्यवसायी विराज भट्ट, पत्रकार चिरन शर्मा, सामाजिक युवा कार्यकर्ता मोनिका श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूकेका प्रसिद्ध प्रधान लगायतले बोलेका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई