
वासिङ्टन । इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबीचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ ।
राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’ को खुलेर प्रशंसा गर्नुभयो । यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बन्यो । भव्य स्वागत र औपचारिक कार्यक्रमबीच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गर्नुभयो । उहाँले राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको बताउँदै उक्त देशलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्याउनुभयो । तर यस विषयमा राजा चार्ल्स तृतीयले प्रत्यक्ष समर्थन जनाउनुभएको कुनै सङ्केत देखिएन र उहाँले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावको सीधा उल्लेख गर्नुभएन ।
यसको सट्टा राजा चार्ल्स तृतीयले लन्डन र वासिङ्टनबीचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउँदै बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटो जस्ता संरचनाहरूको भूमिका, स्पष्ट रूपमा उल्लेख गर्नुभयो, जसप्रति ट्रम्पले विगतमा आलोचनात्मक धारणा राख्दै आउनुभएको छ । साथै, युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर समर्थन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा एप्पलका प्रमुख टिम कुक, अमेजनका जेफ बेजोस, एनभिडियाका जेन्सेन हुआङ तथा गल्फ खेलाडी रोरी म्याक्लरोय जस्ता प्रविधि र व्यवसाय क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो । भोजको मेनुमा बगैँचाको तरकारी भेलुटे, स्प्रिङ हर्बेड रावियोली, डोभर सोल म्युनियर र अन्त्यमा मह तथा भ्यानिला बिन क्रेमेक्स समावेश गरिएको थियो ।
सम्बोधनका क्रममा दुवै नेताले हल्का मजाक पनि गर्नुभयो । ट्रम्पले राजा चार्ल्स तृतीयको अमेरिकी कंग्रेसमा दिएको भाषणको प्रशंसा गर्दै डेमोक्रेट सांसदहरूलाई समेत उठ्न बाध्य बनाएको उल्लेख गर्नुभयो । जवाफमा राजा चार्ल्स तृतीयले ऐतिहासिक सन्दर्भ जोड्दै बेलायत र फ्रान्सबीचको प्रतिस्पर्धाको प्रसङ्ग उठाएर रमाइलो टिप्पणी गर्नुभयो ।
यसअघि कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानूनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्याउनुभएको थियो । उहाँले म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताउनुभयो । उक्त अभिव्यक्तिले विशेषगरी विपक्षी डेमोक्रेट सांसदहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
राष्ट्रपति ट्रम्पले स्वागत समारोहमा बेलायतलाई अमेरिकाको सबैभन्दा नजिकको सहयोगीको रूपमा चित्रण गर्नुभयो । उहाँले अमेरिकी स्वतन्त्रतापछि पनि दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ रहेको उल्लेख गर्नुभयो । यद्यपि, इरानलगायत केही नीतिगत विषयमा ट्रम्पले बेलायती प्रधानमन्त्री कीर स्टार्मरको आलोचना गर्दै आउनुभएको छ, जसले सम्बन्धमा केही असहजता देखाएको छ ।
यस भ्रमणलाई सुरक्षा दृष्टिले पनि संवेदनशील मानिएको छ । वासिङ्टनमा हालै ट्रम्पमाथि कथित आक्रमण प्रयासको घटना सार्वजनिक भएपछि सुरक्षालाई कडा बनाइएको छ । हिंसात्मक गतिविधिप्रति असहमति जनाउँदै राजा चार्ल्स तृतीयले यस्ता कार्यहरू सफल नहुने स्पष्ट पार्नुभयो ।
चार दिने भ्रमणअन्तर्गत शाही दम्पतीले बुधबार न्युयोर्कको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँहरूले ९/११ स्मारक स्थलको अवलोकन गर्नुहुनेछ । त्यसपछि उहाँहरू बर्मुडातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल