
लण्डन । अफगानिस्तानको लडाइँमा दुवै गोडा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगरले सातै महादेशका सबैभन्दा अग्ला हिमाल आरोहण गर्ने भएका छन् ।
कृतिम गोडाका भरमा गतवर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका बुढामगरले अपाङ्गताका बारेमा जनचेतना लगाउन र मानिसहरूलाई आफ्नो सपना पूरा गर्न उत्प्रेरणा जगाउन ती हिमाल आरोहण गर्ने भएका हुन् ।
रोल्पा पुर्ख्यौली घर भएका बुढा मगर अहिले बेलायतमा परिवारका साथ बसोबास गर्ने गरेका छन् ।
सन् २०१० मा बेलायती सेनामा कार्यरत रहेका बेला अफगानिस्तानमा विष्फोटमा परी उनले दुवै खुट्टा गुमाएका थिए । त्यसयता उनी घुँडाभन्दा माथिदेखि नै कृतिम गोडा लाएर हिँड्ने गरेका छन् ।
उनी जब घाइते भए त्यतिबला उनलाई लाग्थ्यो – ‘उनको जीवन सकियो । जीवनभर ह्वीचेयरमा अरूको सहारामा बाँच्नुपर्छ । एउटा कोठामा बन्दी हुनुपर्छ ।’ किनकी उनले हुर्कँदा त्यस्तै देखेका र सुनेका थिए । अपाङ्ग भएपछि के गर्न सकिन्छ भन्ने बारेमा उनलाई केही थाहा थिएन । अघिल्लो जुनीमा गरेको खराब कार्यका कारण यस्तो भएको होला भन्ने सोच्दासोच्दै उनले दुई वर्ष उनकै शब्दमा ‘खेर’ फाले।
एक्काइसौँ शताब्दीमा पनि अपाङ्गताका बारेमा धेरै नै गलत बुझाइ रहेको र अपाङ्गता भएकाहरूले आफूलाई धर्तीको भार ठान्ने गरेको उनले पाए । मानिस अपाङ्ग जुनसुकै बेला हुनसक्ने र आफू पनि ३१ वर्षसम्म ठीकठाक नै रहेको उनी स्मरण गर्छन् ।
आफूले हिमाल चढ्दैमा अपाङगताका बारेमा पर्याप्त जनजागरण ल्याउन नसकिने उल्लेख गर्दै उनी अपाङ्गता भएका मानिसहरूलाई आफूलाई मनपर्ने क्षेत्रमा लाग्न आह्वान गर्छन् । ‘अपाङ्गता हाम्रो कमजोरी हुन सक्ला तर त्यसको मतलब यो होइन कि हामी केही गर्न सक्दैनौँ’, उनी भन्छन्, ‘हामी गरिबी, दयाको पात्र र राज्यले दिएको सहायतामा बाँच्ने मात्र होइन खुशी, सफल र अर्थपूर्ण जीवन पनि बाँच्न सक्छौँ ।’
उनले सगरमाथा आरोहण अघि नै युरोपको माउन्ट ब्लाङ्क र अफ्रिकाको माउन्ट किलीमन्जारो चढिसकेका छन् । उनी जुनमा उत्तरी अमेरिकाको अग्लो हिमाल माउण्ट म्याकिन्ली चढ्न प्रस्थान गर्दैछन् ।
सो हिमाल आरोहण गरेपछि उनीसित अन्टार्कटिका, दक्षिण अमेरिका र ओसिनियाको हिमाल मात्र चढ्न बाँकी रहने छ ।
आफ्नो आरोहणमा सघाउन उनले अपील गरेका छन् ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा