
लण्डन । केही वर्षदेखि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नाममा समानान्तर गतिविधि गर्दै आएका गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई यसै सातादेखि एकै ठाउँमा जुटेका छन् ।
सेप्टेम्बर २५ मा लण्डनमा भएको एक बैठकपश्चात दुवैले पूर्ववत अडान छाडी नयाँ ढङ्गले गोरखा भूतपूर्व सैनिकहरूको अभियानलाई अगाडी बढाउन एक मत भएका हुन् ।
गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले गेसो सभापति कृष्णकुमार राई र आफू अहिले एकै ठाउँमा भएको बताए । गेसोले आफूले उठाउँदै आएको गोरखा भूतपूर्व सैनिकहरूको आवाज उठाउने भएपछि आफूहरू एक भएको उनले प्रष्टीकरण दिए ।
उता गेसो सभापति कृष्णकुमार राईले पनि अप्रत्याशित ढंगले संस्थापक सभापतिसित वार्ता र सहमति भई गेसो आन्दोलन पुन: हौसलाका साथ अगाडी बढ्न लागेको बताए ।
२५ सेप्टेम्बरमा भएको सो सहमतिको बैठकको पहल भने पूर्व महासचिव महेन्द्रलाल राईले गरेका थिए । सो बैठकमा पदमबहादुर गुरुङ र महेन्द्रलाल राईका साथै गेसोका उपसभापति धर्मबहादुर तामाङ र महासचिव नरहाङ राई समेत उपस्थित थिए ।
बैठकमा दुवै पक्षले विगतमा भएका असमझदारीको प्रायश्चित गर्ने सहमति भएको छ भने कृष्णकुमार राईको अध्यक्षताको वर्तमान कार्यसमितिलाई कायम राख्ने पनि सहमति भएको छ । गेसोको नीति निर्माण पदमबहादुर गुरुङसहित सामूहिक निर्णयबाट गर्ने र साल्मेडाँमा अधूरो रहेको परियोजनालाई अगाडी बढाउने पनि सहमति भएको छ ।
गेसो सभापति राईले ती सहमतिहरू मौखिकरूपमा भएको बताए । उनले तत्पश्चात बेलायतका विभिन्न स्थानमा रहेका गेसोका शाखा कमिटीहरूमा आफूहरू संयुक्त रूपमा पुगेर एकता र पुनर्मिलनको सन्देश प्रवाह गरेको बताए । यसैक्रममा नोभेम्बर १७ मा बेलायतमा एक बृहत एकता कार्यक्रम राखेको उनले जानकारी दिए ।
उता संस्थापक सभापति गुरुङले नोभेम्बर २२ मा हुने नेपाल र बेलायत सरकारबीचको मन्त्रीस्तरिय वार्ताको परिणाम हेरेर आफूहरूले गोरखा आन्दोलनका बारेमा नयाँ योजना ल्याउने बताए ।
विसं २०४७ सालमा पदमबहादुर गुरुङको अध्यक्षतामा गेसो स्थापना भएको थियो । करिब २६ वर्षपछि सन् २०१६ को सेप्टेम्बरमा बेलायतमा भएको अधिवेसनबाट कृष्णकुमार राई सभापतिमा निर्वाचित भएका थिए । त्यसयता लो प्रोफाइलमा रहेका गुरुङले केही वर्षयता आफू गेसोमा फर्केको दाबी गर्दै नेपाल तथा बेलायतमा नयाँ कार्यसमिति घोषणा गरेका थिए ।
नयाँ सहमतिपछि गेसोका कार्यकर्ता र शुभचिन्तकमाझमा उर्जा पैदा भएको राईले बताए ।

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण