
लिस्बन । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।
राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ ।
राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो ।
परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताउनुभयो ।
“पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहां राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उहाँले भन्नुभयो, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ ।”
विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक–पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उहाँले राहदानीलाई सुरक्षितरुपमा जतन गरेर राख्न सुझाव दिनुभयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी