लन्डन । जमाना इमेल, इन्टरनेट र सोसियल मिडियाको छ । विश्वका जुनसुकै कुनामा भएका घट्ना क्षणभर घर घर पुग्ने यो युगमा फौद लिम्बु (६६) को सूचना बांड्ने शैली भने गज्जवको छ, त्यो पनि यूके रहेर ।
दुई वर्ष यता बेलायतको टिडवर्थ शहर बस्दै आएका यी वृद्ध नेपालबाटै कान्तिपुर दैनिक मगाउंछन्, नातेदार आंउदा विभिन्न म्यागेजिन झिकाउंछन् अनि बेलायतबाट नेपाल फोनै गरेर ताजा खवर टिप्छन् र बुढाबुढी भेला गरेर सुनाउंछन् । यस क्षेत्रमा करिब तीनसय भूपू गोर्खा परिवार रहेको अनुमान छ ।
एकजना युवा समाजसेवी एलबीजेड गुरुङले टिडवर्थमा चलाएको गोर्खा भेराइटी स्टोरको एउटा कोठा ति वृद्धलाई सित्तैमा सुम्पिएका छन् । त्यही कोठामा बसेर आफूले पढे सुनेको समाचार भूपू गोर्खा वृद्धवृद्धालाई प्रत्येक दिन दुई पटक सुनाउने उनको दायित्व छ । ‘अनपढ भूपू गोर्खा बुढाबुढीहरु देशको खवरबाट विमुख हुन नपरोस् भनेर यो जिम्मा लिइरहेको छु’, एक बिहान उनले सुनाए, ‘मलाई इन्टरनेट चलाउन आउंदैन् त्यसैले आफ्नो नातेदार र चिनजानका मान्छेसंग पत्रिका मगाएरै सूचना बांडिरहेको छु ।’ बेलायत सरकारले दिने मासिक ९ सय पाउण्ड भत्ताबाटै उनले फोन, पत्रिका खरिद खर्च र अरु दैनिक गर्जो टारिरहेका छन् ।
भित्तामा झुण्डिएको एउटा सूचना पाटीमा उनले प्रत्येक दिनका ‘मेन हेडलाइन’ लेखेर राख्छन् । संवाददाता पुग्दा उनको बोर्डमा निर्दयी प्रकृतिले निम्त्याएको विनास र बाढी पीडितको रोदन, चरीका परिवारले शव बुझ्न अस्वीकार गरेको खवर अनि भत्ता खाएर संविधानसभामा गयल हुने सभासदहरुको समाचार शीर्षक प्राथमिकतामा थिए । सूचना पाटीमा उनले काठमाण्डौंको खाद्य तथा तरकारी बजार भाउ समेत नियमित टिप्छन् । बेलायतको स्थानीय समुदायमा हुने हरेक कार्यक्रम विवरण पनि उनको पाटीमा समावेश हुन्छ ।
देश विदेशका खवर बुझिरहने भएकाले टिडवर्थ नेपाली कम्युनिटीले मिडिया कोअर्डिनेटरको जिम्मा पनि यिनकै कांधमा हालिदिएको छ ।
खवर प्रदानसंगै वृद्धवृद्धामाझ गफिने थलो पनि यही गोर्खा भेराइटी स्टोर बन्छ । भूपू गोर्खाहरुको सत्याग्रह आन्दोलन र संविधान बन्ने नबन्नेमा पति ति घोत्लिंदै थिए । पसल धनी एलबीजेड गुरुङले बुढाबुढीलाई चिया, नास्ता सित्तैमा उपलव्ध
गराइदिएका छन् ।
सेभ द चिल्ड्रेन यूके कार्यालयमा १९ वर्ष काम गरेका यी वृद्धसंग आर्मीमा सात वर्ष सेवा गरेकै प्रतिफल अहिले आवासीय अधिकार छ । साथमा श्रीमति छिन् तर उनका हुर्र्किएका चार छोरा र एक छोरी नेपालमै भएकाले बेलायत बसिरहन उनलाई कत्ति चाह छैन् । ‘गोरा सरह पेन्सन पाए तुरुन्त फर्कने थियौं’, उनले गुनासो पोखे,
‘हामी बाख्रा भैंसी डुलाएर छर छिमेकमा गफ गर्दै हिंड्ने मान्छेलाई बेलायती परिवेश मिल्दै मिल्दैन् ।’
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण