
पिटरले पाँच महिना अगाडी आफ्नो मामा नाता पर्ने कोलिन स्मिथलाई भेटेर आएपछि नेपाल र नेपालीका बारे सबैसँग गरेका बखानहरू सुन्दा नेपाली हुँ भन्न थप गर्व गरेको छु । करिब पाँच वर्ष अगाडी काममा मेनेजरको रुपमा भेट भएका पिटरले शुरुमा नै तिमी कुन देशबाट आएको भनेर प्रश्न गरे । मैले नेपाल भनॆ । सामान्यत गोराहरु गफिन थाले पछि मज्जाले नै कुरा गर्न थाल्छन् । उनले यही क्रममा आफ्नो नजिकको नाता पर्ने एकजना लामो समयदेखि नेपालमा नै रहेको तर सम्पर्क नभएको बताए । थप कुरा हुदै जाँदा संयोगले मैले नेपालमा रहेका केही विदेशीहरु बारे प्राप्त युट्युब भिडियोमा हेरेको पुतली बाजे पो उसको आफन्त रहेछन् । उनीहरु बिचको नाता पहिल्याउन मलाई धेरै मेहेनत गर्न पर्यो । शुरुमा त कजन भनेकोले र उमेर पनि हाराहारीकै भएकाले काका मामाका छोराहरु दाजु भाइ होलान् भन्ठानेँ । मलाई यो खासै खोजिनीति गर्न पर्ने विषय लागेन । मेरो दाइ डाक्टर आनन्दसँग पिटरको पोखरामा भेट भएर फर्केपछि दाइले पटक पटक पिटर र कलिनको नाता के हो भन्ने जिज्ञासा राखेकोले उनलाई फेरि सोध्न बाध्य भइयो । उनले पनि कलम कापी लिएर बुझाउन थाल्यो । पिटरको आमा र कलिनको बाजे बज्यै एउटै, बाबुहरु दाजु भाइ रहेछन् । उसले माइ ओन स्टेप कजन भनी रह्यो । मेरो हिसाबमा उनको मामा पर्ने देखेँ । हामी बीच एउटा कुरामा सहमति भयो यी दुई एकै पुस्ताका हैनन् । म बेलाबखत खाना बनाएर काममा सबैलाई खुवाउने पनि गर्दछु । फरक खाना सबैलाई मीठो लाग्ने नै भयो । नेपालमा निर्मल स्वामीले पिटरलाई नेवारी रेस्टुरेन्टमा लगेर केही खानाहरु चखाएका रहेछन् । मैले दाइलाई पनि बाहिर हैन घरमा नै पारिबारिक माहोलमा खाना खुवाउन भनेको थिएँ । यहाँ आएपछि उसले मलाई आजसम्म किन मम नखुवाएको पो भन्न थाल्यो । मैले मीठो लाग्यो त् भनेको मीठो मात्रै हैन सारै मीठो लागेको रहेछ । अब दुई महिना पछि उनी कामबाट निवृत्त हुँदैछन् एक दिन सबैलाई मम पार्टी गर्दिन्छु भनेर चित्त बुझाएको छु ।
कलिनलाई नेपालमा पुतली बाजे भनेर बढी चिनिने रहेछ । जीवनका अधिकांश उमेर नेपालमा पाइने विभिन्न प्रकारका पुतलीहरु सम्बन्धि अध्ययन अध्यापन गरेर बिताएका कलिन अन्तिम स्वाश पोखरामा नै लिने र पार्थिव शरीर जलाएर बाँकी रहेको खरानी पनि सेती नदीमा बगाउन पाइयोस् भन्ने एक मात्र इच्छा रहेछ । इशाई धर्मका कट्टर अनुयायी भए पनि आफ्नो शरीर जलाएर धुँवा बनाउने निर्णय चाहिँ उनले मरे पछि पनि किन उर्बर भूमि दुरुपयोग गर्ने भन्ने उद्देश्यले गरेका रहेछन् । उनमा रहेको अर्को मुख्य इच्छा चाहिँ नेपाली भएर मर्न पाउँ भन्ने रहेछ । यसको लागि लामो समय सन् नब्बेदेखि नै विभिन्न प्रकारका प्रयासहरु पनि गरेका रहेछन् । आफूले पढाएको विद्यार्थी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफ्नो माग अवश्य पनि पूरा हुने विश्वाशका साथ भेटघाट गरेर निवेदन पनि दिएका रहेछन् । खै किन कसरी हो उनले नेपाली नागरिकता पाउन सकेका थिएनन् । मलाई यो कुरा थाहा भए पछि एक प्रकारको बेचैनी महशुश हुन थाल्यो । हामी नेपालीलगायत विश्वका जो कोही पनि बेलायतमा देशमा आएर कानुनी रुपमा बसोबास गरेर आवश्यक कानुनी आधार देखाउन सके यहाँको नागरिक हुन पाउँछौँ । तर एक जना बेलायती जीवनभर नेपालमा बसेर नेपाली भएर मर्छु भन्न किन नपाइने ? कलिनले नेपालमा आफ्नो जीवन मात्र बिताएका छैनन् नेपालको शैक्षिक इतिहासमा गण्डकी बोर्डिंग स्कुलदेखि गोरखाको लुइँटेल स्कुललगायत पृथ्वीनारायण, काठमाडौँ, त्रिभुवन विश्वविद्यालयमा समेत बहुमुल्य योगदान पुर्याएका छन् । नेपालको डाँडाकाँडा, भिर, पखेरा पुगेर पांच सयभन्दा बढी प्रजातिका पुतलीहरु संकलन गरेर छुट्टै संग्रहालय खोलेका छन् । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु परिचय गराएका छन् । तर उनले किन नेपाली हुन पाएनन् ? हामी नेपालको नागरिकता निरन्तरता हुनु पर्छ भनेर माग गरिरहेका छौँ तर एक जना व्यक्ति बेलायती नागरिकता त्याग गरेर नेपाली नागरिक बन्छु भन्दा ५३ वर्षसम्म पनि किन पाउँदैन ? यो विषयले मलाई गिज्याइ रह्यो । त्यसैले मैले मनमनै केही गर्नु पर्छ भनेर प्रयासहरु गरेँ ।
मेरा मित्र गैरआवासीय नेपाली संघका पूर्व सल्लाहाकार चन्द्रबहादुर रोकाहाजीको बसोबास पोखरा भन्ने थाहा थियो । मैले सविस्तार कुरा राखेपछि कलिनसंग नजिक रहेका र आवश्यक पर्दा सहयोग गर्ने सुरेन्द्र परियारसंग सम्पर्क भयो । संयोगले त्यतिबेला अर्का गैरआवासीय नेपाली संघ जापानका सक्रिय साथी कपिलदेव थापा पनि नेपालमा नै रहेको जानकारी भयो । वहासंग कुरा भए पछि म पोखरा छिट्टै जाँदैछु, कलिनसंग भेट्छु, सबै कुरा बुझेर सम्पर्क गर्छु भन्नु भयो । तात्कालिन गृह मन्त्री रामबहादुर थापा बादलमार्फत कुरा अगाडी बढाउन पाए यो काम त्यति असम्भव हुन्न भन्ने लागेर मित्र डा. प्रेम आलेसंग सम्पर्क गरेँ । त्यतिबेला वहाँ पनि काठमाडौँमा नै भएकोले सजिलो भयो । कपिल थापाजीलाई गृह मन्त्रीसम्म पुग्ने माध्यम बने पछि यो कामले तीव्रता पायो । कपिलजी केही दिन पछाडी भाउजु सरस्वती थापासंग कलिन बस्ने कटेरोमा पुगेपछि फोन गर्नु भयो । कलिनको अवस्था र बसाइ बारे सारै नमीठो अनुभव गर्नु भएको रहेछ । नेपालको लागि त्यति धेरै काम गरेका अझ बेलायतबाट आएका मानिसको त्यो हालत देखेर उनको अन्तिम इच्छा जसरी भए पनि पूरा गर्ने अठोट लिएर खट्नु भयो । सुरेन्द्र परियारले उपलब्ध गराएको सबै कागज पत्र लिएर गृह मन्त्रीलाई बुझाएपछि अंगिकृत नागरिकताको लागि केही समय लाग्ने अलि बढी प्रक्रिया पूरा गर्नु पर्ने तर कलिनको स्वास्थ्य अवस्था त्यति बलियो नभएको कारण दौडधुप पनि गर्न सक्ने कुरा भएन । त्यसैले देशको लागि यति धेरै योगदान पुर्याएको व्यक्तिलाई सम्मानस्वरुप मानार्थ नागरिकता दिनु न्याय र तुरुन्तै हुने भएकोले मन्त्रिपरिषद्को निर्णयअनुसार कलिन स्मिथ नेपाली हुन सफल भएका थिए । नेपाल सरकारले प्रक्रिया पूरा गर्न स्थानीय रुपमा र बेलायतको दुताबासमार्फत कलिन स्मिथको बारे बुझ्ने पत्राचार गर्यो । बेलायतको दुताबासबाट मलाई सम्पर्क गरेको हुनाले मैले पिटरको इमेल ठेगाना उपलब्ध गरेपछि आवश्यक पत्राचार भयो । दुताबासले मागेको जानकारी उपलब्ध गराई सकेपछि सम्पूर्ण प्रक्रिया पूरा गरी करिब चार महिनाभित्र दुई डिसेम्बर २०१९ मा उनले मानार्थ नागरिकता गृह मन्त्रालय पुगेर नै प्राप्त गरेका थिए ।
यस प्रक्रियामा विभिन्न किसिमबाट धेरैको साथ सहयोग मिलेको थियो । पोखरा १८ का तात्कालिन वडाध्यक्ष रणबहादुर थापा, प्रजिअ चक्रबहादुर बुढा, सहायक प्रजिअ नवराज बराल,गृह मन्त्रालयका शाखा अधिकृत अरुण सापकोटा, कलिनका विद्यार्थी बिष्णुदव पराइ र सुनिल उलकको सहयोग उल्लेख्य रह्यो । कलिन स्मिथले नागरिकता पाओस् भनी वडा कार्यालयदेखि काठमाडौँस्थित गृह मन्त्रालयमा अंगीकृत नागरिकताका सबै कागजात पठाउने काम पोखरा निवासी सुरेन्द्र परियारले गर्नु भएको थियो । वहाँको साथमा मीन परियार सदैव सहयोगी बनि रहे । नागरिकता प्राप्तिका लागि पृथ्वीनारायण क्याम्पस पोखरा, राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका आयोजना (एक्याप) प्रमुख राजकुमार गुरुङ, प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्य, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव अर्जुन अधिकारीले गर्नु भएको सहयोग र भूमिका महत्वपूर्ण रह्यो ।
यो विषयमा थप चासो लिएर काम छिटो गराउन तात्कालिन गृह मन्त्री रामबहादुर थापा “बादल“ का जीवनसाथी सांसद नैनकला थापा, सुरक्षा सल्लाहकार डा इन्द्रजीत राइए तथा डा.प्रेम आलेको भूमिका विशेष थियो । यतिबेलासम्म नेपालको सम्मानार्थ नागरिकता पाउने उनी तेश्रो विदेशी हुन् । त्यसपछि सन् २०२० मा दक्षिण कोरियाका उम होंग गिलले पाएका छन् भने यस अगाडी सन् १९९५ मा नेपाललाई संसारसामु चिनाउने तथा पूरै नेपाल घुम्ने पहिलो विदेशी डा टोनी हेगन र पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीलाई सन् २००३ मा यस्तो नागरिकता प्रदान गरिएको थियो ।
अहिले पुतली बाजे नयाँ गाउँ चर्चमा जीवनका बाँकी दिनहरु बिताइरहेका छन् । उमेर पनि धेरै भैसकेको तथा शारीरिक अस्वस्थताको कारण करिब चार महिना ग्रीन पाश्चर हस्पिटलमा उपचारमा रहेका थिए । अहिले फेरि केही हप्तादेखि हस्पिटल भर्ना भै स्वास्थ्यमा सुधारलाभ गरिरहेको सुनेको छु । उनी लामो समयदेखि आफ्नै सहयोगी मीन परियारको रेखदेखमा आफ्नै सानो टहरोमा बस्दै आएका छन् । विदेशी भएको कारण उनै मीनको नाममा जग्गा खरिद गरी सानो बासस्थान बनाएका थिए । नजिकै मीनको परिवार पनि भएको हुँदा भरथेग हुने नै भयो । पांच वर्ष अगाडी चन्द्रजी र म त्यहाँ पुग्दा कलिन आफ्ना दुईटा बिरालोसंग सुतिरहेका थिए । सकी नसकी उठेर टोपी लगाए । उनले लगाएको टीसर्टमा नेपाली झण्डा अंकित थियो । पिटर बारे कुरा उठाएँ तर लामो समय भएकोले ठम्याउन सकेनन् । आफ्नै दाजु चाहिँ केही वर्ष अगाडी छोरीसंग बसाइँ सरेर न्युजिल्याण्ड पुगेको बताएका थिए । आफ्ना पुराना कामका प्रमाणस्वरुप केही साना पुस्तकहरु, पुतलीको फोटो भएका केही पोस्टकार्डहरु जिम्मा लगाए । सम्पर्कको लागि प्रयोग गर्ने ल्यापटप निकै पुरानो भएकोले इमेल पठाउन पनि नसकिएको कुरा बताएका थिए । यति लामो समयसम्म पनि नेपाली हुन नपाएको र कसले बनाइ दिन्छ र ? भनेर हरेश खाइसकेको भान उनको प्रस्तुतिमा झल्किन्थ्यो । हामी त्यहाँ केही समय बसेर भारी मन सहित फर्केका थियौँ । उनको अवस्था देख्दा जति सक्दो छिटो उसको इच्छा पूरा हास् भन्ने लागेको थियो । बेलायत फर्केपछि पिटरलाई सबै बताए पछि तुरुन्त एउटा ल्यापटप पठाउने ब्यवस्था भयो । दुई जना बीच बेलाबखत फोन पनि हुन थाल्यो । पिटर एकपटक कलिन भेट्न नेपाल जाने योजना बनाउन थाले तर कोभिडको कारण रोकियो । अन्तत सन् २०२२ को अक्टोबर ७ देखि १६ सम्म नेपाल पुगेर आए । कलिन र पिटर भेटेको त्यो तस्बिर देख्दा मलाई एक प्रकारको स्वर्गीय आनन्द महशुश भयो ।
आफू नेपाल पुगेर फर्केपछि कलिनले किन नेपाल बस्ने निर्णय गरे भन्ने सहज रुपमा महशुश गरेको पिटरको भनाइ थियो । प्राकृतिक रुपमा देश राम्रो हुनु एउटा विषय हो तर त्यहाँका मानिसहरुले विदेशीलाई देखाएको त्यो आतिथ्य र सदभाव उनलाई अद्भूत लाग्यो रे । जो कोही पनि बिना कारण यसरी सहयोग गर्न किन अगाडी सर्छन् भन्ने उसको प्रश्न थियो । जे होस् छोटो समयमा उनले नेपालको मीठो स्वाद बोकेर आए । उनको जीवनको एउटा थप रहर कलिनले गरेका कामहरु सकेसम्म धेरैसामू पुस्तकमार्फत पुर्याउने रहेको छ । पुस्तकको विमोचन गर्न फेरि एक पटक अलि लामो समय बस्ने गरी नेपाल जाने सुरमा छन् उनी । संयोगवश कपिलदेव थापा पनि नेपालमा नै भएको कारण एक दिनको खबरमा नै उपत्यकाका केही ठाउँहरु संगै घुम्ने मौका पनि मिल्यो । गत वर्ष बेलायतबाट लान नसकेको एक झोला सामान बोकाएर पठाएकोले उक्त झोला लिने बहानामा रामप्रसाद कंडेलजीको नेपाली बाजा संग्रहालय हेर्ने अवसर पनि प्राप्त भयो । त्यही झोलामा भएको थोरै सामान पुर्याउन रामप्रसादजीले पिटरलाई पनि संगै लैजाँदा निलिमा दिदीले न्युरोडको गल्लीमा खुवाएको कफी र उसको श्रीमतीलाई पठाएको पश्मिनाको सलले त झन् तीन छक्क परियो भन्दै थियो । कलिनसंग लामो समय सहकार्य गर्ने र संगै पुस्तक प्रकाशन गर्ने महेन्द्रसिङ्ग लिम्बुसँग गोदावरीमा बिताएको समय र उनले पुस्तकको लागि आवश्यक पुतलीका फोटोहरु उपलब्ध गराउने वचनवद्दता महत्वपूर्ण रह्यो । पिटरले शुरुमा नै केही दिन काठमाडौ गेस्ट हाउसमा बस्ने बन्दोबस्त मिलाएका रहेछन् । पोखरामा केही रात बस्ने होटल पनि उसैले खोजेका थिए । बेलायत फर्किनु अगाडीको एक रात सन् २०१९ मा यहाँको हाउस अफ लर्डसमा भएको कार्यक्रममा भेटेका अन्जान बगालेजीले ब्यवस्थापन हेरिरहेको पुरानो नाम चलेको हिमालयन होटलमा सुपथ मूल्यमा ब्यवस्था गरियो । त्यहाँको आतिथ्यले झन् चकित खान पुगेका रहेछन् उनी । उनलाई सबैभन्दा अचम्म चाहिँ शहरमा यत्रतत्र भेटिने टेलिफोनको गुजिल्टिएको तारको खम्बाले बनाएछ । त्यहाँका टेलिफोन इन्जिनियरहरु पक्कै पनि अति चलाख हुनु पर्छ भन्दै थियो । अर्को गजब चाहिँ ट्याक्सी भनेर बोलाएको पठाओ मोटरबाइक देखेर छक्क परेछन् । त्यो यात्रा शायद जीन्दगीमा कहिल्यै नभुल्ने उनले बताएका थिए ।
कलिनलाई नागरिकता दिलाउनमा पहिलादेखि नै सक्रिय रहनुभएका सुरेन्द्र परियार तथा वहाँसंगै रहनु हुने मिन परियार अहिले पनि कलिनका सबैभन्दा नजिकका सहयोगीहू हुन् । यसपटक पिटरको पोखरा भ्रमणको शुरुदेखि अन्त्यसम्म आफ्नो अति व्यस्तता बीच पनि समय मिलाउनु हुने वहाँहरु लगायत मेरो दाजु डाक्टर आनन्द श्रेष्ठ र परिवारलाई पिटरले सम्झिरहेका छन् ।
सानैदेखि पढाइमा विशेषतः गणित र विज्ञानमा अति तेज कलिन आफ्नो मामाको पुतली संकलन गर्ने शौखबाट प्रभावित भएका थिए । कार्ल माक्र्सको समाधिस्थल नजिकै हाइगेट, लण्डनमा सन् १९३६ मा जन्मेका कलिन स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल पुगेका थिए । त्यतिखेर उनि लिभरपुलबाट पानीजहाजमा भारत हुँदै स्थलमार्गबाट नेपाल छिरेका थिए । उनले मिसनमार्फत पोखरा, गोरखा र काठमाडौंमा शिक्षण गरिरहँदा पुतलीबारे अनुसन्धान एवं संग्रह गर्थे । सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौंमा प्रकृति विज्ञान संग्रहालयको लागि स्मिथले एक दशक पुतली संग्रहको काम गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराले सन् १९८६ देखि व्यवस्थापन गर्दै आइरहेको अन्नपूर्ण प्राकृतिक विज्ञान संग्रहालयमा हाल ५८७ प्रजातिका पुतली रहेको छ भने नेपालमा ८५० प्रजातिका पुतलीहरू पाइन्छन् भन्ने उहाँको अनुमान रहेको छ । आफू पछि सबै काम गर्ने गरी उनले सुरेन्द्र परियारलाई तयार पारे । अहिने सुरेन्द्रले नै यो संग्रहालयको देखभाल गर्दैछन् । उनी पछिल्लो पटक बेलायत सन् २००६ मा आएका थिए । उनले आफ्नो आमा जीवित छउन्जेलसम्म नियमित रुपमा पत्र लेखेर पठाउने गर्दथे । पत्रमा उनले नेपाल, नेपाली र पुतली बारे विभिन्न ढंगले वर्णन गरेको हुनु पर्दछ । आमाको मृत्युपछि न्युजिल्याण्ड बसाइ सरेका उनका दाइले ती सबै संग्रहहरु अहिले पिटरलाई जिम्मा लगाएका छन् । पिटरले कलिन बारे कसरी पुस्तक प्रकाशन गर्लान् ? त्यो अवश्य पनि सबैको चासोको विषय हुनेछ । आशा गरौँ हाल ८७ वर्षीय कलिनले आफूबारे लेखिएको पुस्तक देख्न पाउने छन् । उनको दिर्घायुको कामना ।

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप