
काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
चैत्र ४ गते पूर्वको प्रसिद्ध नगर धरानमा एक भव्य समारोहको आयोजना गरी काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैरागी काइँलाको जन्म वि.सं.१९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्ररत्नका रूपमा भएको हो । दार्जिलिङबाट स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएका वैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध हुनुहुन्छ । उहाँले दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गर्नुभएको थियो । विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गर्नुभएका काइँलाका कविता–काव्य विधातर्फ ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।
यसैगरी उहाँका लिम्बू भाषा र नेपाली भाषामा क्रमशः ‘साप्पोःक् चोमेन ः लिम्बूजातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुम ः प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम ः ईष्र्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम ः मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम ः आख्यान र अनुष्ठान’, ‘चइःत् मुन्धुम ः सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ ल्बधबअयष्त ःगलमजगm गरी मुन्धुमका ११ ओटा कृति प्रकाशित छन् । ‘लिम्बू व्याकरण ः याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःन ः लिम्बू व्याकरण’को सहलेखन गर्नुभएका वैरागी काइँलाले आफ्ना बाबा सुब्बा खड्गबहादुरले लेख्नुभएको ‘किरात मिक्हन साम्लो ः किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद समेत गर्नुभएको छ । यसै गरी काइँलाले ‘फूल पात पतकर’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्री ः लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ र ‘किरात मिक्हन साम्लो’, ‘तेस्रो आयाम’ लगायतको सम्पादन समेत गर्नुभएको छ ।
कविता–काव्य सृजना, मुन्धुमको खोज–अध्ययन एवम् लेखन र अनेकौँ कृतिको सम्पादन गर्नुभएका नेपाली वाङ्मय जगत्का विशिष्ट प्रतिभा काइँला वि.सं. २०६६ देखि २०७० सम्म चार वर्ष एक कार्यकाल) देशकै जेठो र सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति हुनुभयो । त्यसअगि २०४७ देखि २०५० र २०५१ देखि २०५६ गरी दुई कार्यकाल प्राज्ञपरिषद् सदस्य रहनुभएका उहाँ हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ । कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानबापत् साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि मानसम्मान र पुरस्कारद्वारा सम्मानित, पुरस्कृत तथा विभूषित भइसक्नुभएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सोही समारोहमा विशिष्ट सङ्गीत–साधक एवम् गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान