
लन्डन । मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दुई वर्षअघि शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ ।
विश्व मातृभाषा दिवसका अवसर पारेर सो मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो ।
विश्व नेपाली साहित्य महासंघ (विनेसाम) दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार लेखक महासंघको सहआयोजनामा फेब्रुअरी १९ तारिखका दिन सो उत्सव हुन लागेको हो ।
आयोजकहरुको बैठकले फेब्रुअरी १९ तारिख आइतबारका दिन मातृभाषा साहित्य उत्सव आयोजना गर्ने निर्णय गरेको विनेसाम साउथ यूकेका कार्यवाहक अध्यक्ष सर्वधन राईले जनाए । ‘मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले केही वर्ष अघिदेखि हामीले बेलायतमा मातृभाषा साहित्य उत्सव सुरु गरेका थियौँ । यस वर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गर्ने भएका छौँ,’ कावा अध्यक्ष राईले भने, ‘उत्सवमा देश विदेशबाट मातृभाषाका सर्जकहरू सहभागी हुनेछन् ।’ उनले उत्सव भर्चुअल रूपमा जुमबाट हुने जानकारी दिए । कार्यक्रम बेलायतको समयअनुसार १२ बजे र नेपालको समयअनुसार बेलुकी ५:४५ बजे सुरु हुनेछ ।
यस वर्षको २४ औँ विश्व मातृभाषा दिवस भने फेब्रुअरी २१ मङ्गलबारका दिन परेको छ ।
बैठकले विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका सचिव अमित थेवेलाई गत वर्षझैँ यस पटक समेत उत्सवको संयोजक तोकेको छ । उनकै परिकल्पनाअनुसार बेलायतमा मातृभाषी कवि एवम् साहित्यकारहरूले आफ्नो राष्ट्रभाषामा सिर्जना सुनाउने गरी उत्सव सुरु भएको थियो । उनी आदिवासी जनजाति साहित्यकार लेखक माहासंघ यूकेका संयोजक समेत हुन् । उनका अनुसार पहिलो वर्ष कविता विधामा रचनाहरू सुनिए भने दोस्रो वर्ष गीत विधामा उत्सव केन्द्रित रहेको बताए । ‘विभिन्न मातृभाषा वा राष्ट्रभाषामा यसपटक पनि सर्जकहरूले आफ्नो रचना सुनाउनेछन् । यस वर्ष भने जुनसुकै विधामा पनि सर्जकले १५० शब्दभित्र रहेर सिर्जना सुनाउन सक्नेछन्’ संयोजक थेवेले भने, ‘कार्यक्रममा बेलायत र अन्य मुलुकका मातृभाषी सर्जकहरू सहभागी हुनेछन् ।’ उनले यसका लागि फेब्रुअरी १८ भित्र आफ्नो रचना आयोजकलाई पठाउन समेत आग्रह गरेका छन् ।
त्यस्तै, विनेसाम पश्चिम यूकेका कार्यवाहक अध्यक्ष गोमा रानाले दुई दर्जनभन्दा बढी मातृभाषाका सर्जकहरूले आफ्नो रचना सुनाउने तयारी भइरहेको जनाइन् । उनले बेलायत, नेपाल र अन्य मुलुकहरूका सर्जकहरूलाई रचना आह्वान गरिरहेको बताइन् । उत्सवका दिन वाचन भएका रचनाहरू समेटेर आदिवासी संग्रह समेत प्रकाशन गरिने उनले जनाइन् ।
हालसम्म उत्सवका लागि याक्थुङ लिम्बु, राई समुदायबाट बान्तावा, थुलुङ र वाम्बुले, तामाङ, शेर्पा, गुरूङ, नेवार, मगर समुदायबाट ढुट, काइके र खाम, छन्त्याल, थारू, धिमाल, सिङ्सा (भोटे), खस, सुनुवार, याक्खा लगायतका मातृभाषाबाट सिर्जना प्रस्तुत हुने तय भइसकेको संयोजक थेवेले बताए ।
संयुक्त राष्ट्र संघको साँस्कृतिक निकाय युनेस्कोको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा मातृभाषाका रूपमा बंगाली भाषा बोल्न पाउनुपर्छ भन्दै माग गर्दा सन् १९५२ मा त्यहाँका चार विद्यार्थीहरू मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । एथ्नोलगकाअनुसार हाल विश्वमा ७,१५१ भाषाहरू बोलिने गर्छन् । तीमध्ये ४० प्रतिशत जोखिममा रहेका छन् । नेपालमा भाषा आयोगको प्रतिवेदनअनुसार १३१ भाषााहरू अस्तित्वमा छन् ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम