काठमाण्डौ । गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्प पिडीत स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गरेको एनअारएन सचिवालयले जनाएको छ ।
८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सबै घरलाई एक-एक वटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।
गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सबैजसो घर भत्किएका छन् । सो क्षेत्रमा ७ जनाले भूकम्पमा परी ज्यान गुमाए ।
तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।
‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले भनिन् ।
वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन- ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्यौं ।’
वडा नम्बर दुईका बासिन्दा नन्दबहादुर घले भन्छन-‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गाँस हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’
राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए ।
‘तपाईहरु यस्तो दुःखमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उहाँले भने -‘यस्तो विपत् सबै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’
गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत वितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लम्जुङ, काभ्रे र धादिङमा राहत वितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत वितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।
यसैगरी गैरआवासीय नेपाली संघले आइतबार गोर्खाको लाप्राक र दुम्जा गाउँ तथा लमजुङको इलाम पोखरी, दूधपोखरी र बिचौर गाउँमा राहत सामाग्री वितरण गरेको छ । गोर्खाको लाप्राक सबैभन्दा धेरै क्षति भएको र अहिलेसम्म राहत पुग्न नसकेको ठाउँ हो जहाँ करिब १ हजार घर परिवार प्रभावित छन् ।
शनिवार काठमाण्डौबाट गोर्खा पुर्याइएको राहत सामाग्री आइतबार दिनभर हेलिकोप्टरमार्फत् ती गाउँहरुमा पुर्याइ वितरण गरिएको हो ।
संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल वितरण गरेको छ ।
यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल वितरण गरेको छ ।
राहत सामाग्री पुर्याउने तथा तिवरण गर्ने प्रकृयामा बिभिन्न देशबाट आएका गैरआवासीय नेपाली स्वयंसवेकहरुसँगै संघका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट प्रत्यक्षरुपमा सहभागी थिए ।
संघले स्थानीय समाजसेवी, सुरक्षा निकाय तथा गाविस सचिवको रोहबरमा पिडीत स्थानीयवासीलाई राहत वितरण गरिएको हो । राहत वितरणमा ती गाउँमा खटिएको नेपाली सेना र नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
यसैगरी काभ्रे जिल्लाको चौबाटे चौकी, भुर्मुटारमा पनि आजै राहत सामाग्री वितरण गरिएको छ । काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल वितरण गरिएको हो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान