
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले एक वर्षमा आम्दानीको दुई गुना खर्च गरेको छ ।
कोषाध्यक्ष विष्णु खरेलले आइतबार मिडियालाई उपलब्ध गराएको विवरणअनुसार गएको एक वर्षमा एनआरएनए युकेले ३२ हजार ९५५ पाउण्ड आम्दानी गरेको छ । जसमा २२ हजार पाउण्ड अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनमा उठेका उम्मेदवारहरुले ग्लोबल हेल्थ च्यारिटी डिनरमा दिएका थिए । त्यसबाहेकको आम्दानी भनेको १२ हजार ९५५ पाउण्ड मात्र हो ।
उता खर्चतर्फ भने एक वर्षको अवधिमा ५८ हजार ४७२ पाउण्ड खर्च भएको छ । जसमा अल्डरसटमा खोलिएको कार्यालयका लागि मात्र १८ हजार २८ पाउण्ड खर्च गरिएको छ । ग्लोबल हेल्थ कन्फ्रेन्स र च्यारिटीमा ११ हजार ७७ पाउण्ड ३५ पेन्स, एनआरएनए युकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेकोमा ९ हजार १४ पाउण्ड, नयाँ राजदुतको स्वागतमा ३ हजार ३५ पाउण्ड, नयाँ कार्यसमितिको सपथ ग्रहणमा ३ हजार ५३५ पाउण्ड खर्च गरिएको छ ।
यसैगरी, बाढीपीडितका लागि भनेर नेपालमा सुरेन राईको व्यक्तिगत खातामा ६ हजार ११६ पाउण्ड, नेपालका नेताहरु युके आउँदा ट्याक्सी खर्चवापत १ हजार ७८० पाउण्ड, युक्रेन युद्धमा परेका नेपालीहरुलाई सहयोग गर्न एनआरएनए पोल्याण्डलाई २ हजार ६३ पाउण्ड खर्च गरिएको छ ।
यस्तै, नेपालमा पत्रकार नारायण अर्याललाई ६२१ पाउण्ड, प्रथम नौमती बाजा गुल्मीलाई १ हजार ९५० पाउण्ड र प्रोडक्सन थ्रीलाई १ हजार पाउण्ड पैसा खर्च गरिएको छ ।
कोषाध्यक्ष खरेलका अनुसार बितेको एक वर्षमा एनआरएनए युकेमा आम्दानीको पाँच गुणा बढी खर्च भएको छ । उनले कतिपय शीर्षकमा पुष्टी नै नभइकन खर्च गरिएको बताएका छन् । बाढीपीडितको नाममा नेपालमा पैसा पठाइँदा कुनै दर्तावाला संस्थाको नाममा नभई व्यक्तिको नाममा पैसा पठाउनु सन्देहास्पद रहेको बताएका छन् । बाढीपीडितलाई सहयोग हस्तान्तरण कार्यक्रममा त्यतिखेर नेपालमै रहेका एनआरएनए युकेका उपाध्यक्षहरु र कार्यसमितिका सदस्यहरुलाई समेत भाग लिन नदिइएको र सहयोग हस्तान्तरणको कुनै प्रमाणहरु कार्यसमितिमा पेश नगरिएकाले सो खर्च थप शंकास्पद बनेको उनले खुलासा गरेका छन् । ‘वास्तविक बाढीपीडितलाई सहयोग पुग्यो होला भन्ने आशा गरेका छौँ तर त्यसको हालसम्म पुष्टि भएको कुनै प्रमाण आइपुगेको छैन’, उनले भने ।
त्यसैगरी, नेपालमा पत्रकार नारायण अर्यालको नाममा पठाइएको रकमको बारेमा पनि कोषाध्यक्ष खरेलले प्रश्न उठाएका छन् । अर्यालले एनआरएनए युकेका लागि के वापत सो रकम भुक्तानी दिइएको सो बारेमा आफूलाई जानकारी नभएको र अध्यक्षको निर्देशनमा सो रकम निकासा गरेको प्रष्टिकरण उनले दिएका छन् ।
उनले बितेको एक वर्षमा एनआरएनए युकेको खर्च ‘अस्वाभाविक, अनावश्यक र सहनै नसक्ने गरी बढी भएको’ र यसका बारेमा अध्यक्षसित परामर्श गर्दा ‘कहिलेकाहीँ धम्की, वेवास्ता र बहिस्करणमा समेत परेको’ गम्भीर आरोप लगाएका छन् ।
उनले बिल भर्पाइ बिना १२ हजार ५७२ पाउण्ड निकासा गरिएको भन्दै सोको बारेमा अनुसन्धान गर्न लेखा समितिको ध्यानाकर्षण गराएका छन् ।
पुरानो समितिबाट वर्तमान कार्यसमितिले १ लाख ७६ हजार ८३३ पाउण्ड नगद र ५० हजार ६१ पाउण्ड तिर्नुपर्ने हिसाब जिम्मा लिएको उनले जानकारी दिए । तर ४४ हजार ८१६ पाउण्ड पूर्व समितिबाट पाउन बाँकी रहेको पनि उनले बताए । सो रकम नेपाल हाउसका लागि पूर्व कार्यसमितिहरुले उठाएका हुन् ।
यसअघिका एनआरएनए युके कार्यसमितिले आर्थिक घोटाला गरेको आरोप लगाउँदै बेलायतको डार्टफोर्ड अदालतमा मुद्दा दायर गर्ने वर्तमान कार्यसमितिका अध्यक्ष र नेतृत्वले चुनावका बेला आर्थिक पारदर्शिताको नारा दिएका थिए । तर अहिले जुन जोगी आए पनि कानै चिरेको झैँ गरी आफ्नै कोषाध्यक्षको प्रतिवेदनमा आर्थिक अनुशासन र मितव्ययिता नअपनाइएको स्वीकारोक्ती बाहिर आएको छ ।
पूरा रिपोर्ट तल हेर्नुहोस्



पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम