नेपालमा भूकम्पका कारण आक्रान्त भएर आफ्नो ज्यान गुमाउनु परेको, चेपिइ छटपटाई रहेका, डर त्रास र भयको बाताबरणमा जीबन गुजारी रहेका सबै नेपाली सन्ततिहरुमाथि हामी सबैको मन गइरहेको छ । प्रकृतिको यो कठोर बज्रमा पर्न गएको धनजनको क्षति अकल्पनीय छ । मानिसहरुको बिकराल अवस्थाबाट तड्पिरहेको क्षणले हामी सबैलाई मर्माहित बनाएको छ । संचार माध्यमको कारणले नेपालाको दर्दनाक अवस्था हामी परदेशमा बस्नेले देख्न पाइरहेका छौँ ।
यो भूइचालोले कतिको बेहाल बनाएको छ ? मान्छेहरु कति आश र त्रासको वातावरणमा समय व्यथित गरिरहेका छन् ? कति भोक, प्यास र क्रन्दनको चपेटामा परी अनन्त बिलाप गरिरहेका छन् ? यी सबै कुरा सम्झँदा हामी सबैको मन तड्पिरहेको छ ।
हाल गएको महाभूकम्पको केन्द्र बिन्दु गोर्खा जिल्लाको पश्चिम उत्तरमा पर्ने बारपाक प्रसिद्ध गाउँ हो । यहाँ प्राय: घले र गुरुङहरुको मात्र बसोबास छ भने पनि हुन्छ । पहिलेदेखि हालसम्ममा यस ठाउँको विशेष विशेषता पाइन्छ । इष्ट इण्डिया कम्पनीले भारतमा आफ्नो उपनिवेश कायम गरेपछि नेपालीद्वारा गोर्खा रेजिमेन्ट या गोर्खा राइफल आदि नाम गरेका नेपाली सैनिकयुक्त भएका गण या बटालियन स्थापना गरेका थिए । त्यही नेपाली सैनिक भर्ना गर्दा मगर, गुरुङ घले, राई, लिम्बु आदि जात मात्र भर्ना गर्ने चलन थियो ।
बारपाकतिरका केटाहरु १५/१६ वर्ष पुग्नासाथ भारत पसेर सैनिकमा भर्ती हुनु र आफ्नो युवा जोस जागर सैनिकमै खर्च गरेर पेन्सन भए पछि घर फर्किएर जीवन बिताउने एक प्रकारको फेसन नै थियो । “जसका छोरा उसका धन जसका भैंसी उसका वन” भने जस्तै बारपाकमा जसको धेरै छोरा भयो उसैको प्राय: सबै छोरा सैनिकमा भर्ती भएर आर्थिक स्थिति उच्च बनाउँथे ।
सामान्य कृषि पेशामा आधारित कृषकहरुको तुलनामा आर्थिक स्थिति केही माथि हुनाले सैनिक सेवा प्रति गाउँलेहरुको बढी आकर्षण बढेको थियो । नेपाली मानिसहरु तत्कालिन भारतको सैनिकमा भर्ना भएकालाई लाहुरे भन्ने गर्दथे । जुन शब्द अद्यापिसम्म पनि चलन चल्तीमा आइ नै रहेको छ । यसरी बारपाकीहरु प्राय: गुरुङ वा घलेहरूको घरमा २/४ वटा लाहुरेहरु हुनु स्वाभाविक हुन्थ्यो । लाहुरे नभएको घर नून नराखेको तरकारी जस्तो अस्वाभाविक घर हुन्थ्यो । स्वस्थ्य हावापानी र निरोगी वातावरणमा हुर्केका त्यहाँका मानिसहरु हृष्टपुष्ट, लायक साह्रै इमान्दारी हुन् ।
आफ्ना बाबुबाजेले गरेको पेशालाई छोरा नातिहरूले पनि प्राय: अंगिकार गर्ने परम्पराले गर्दा पनि त्यहाँका मानिसहरु पुरुष जतिले आफ्ना युवावस्था लाहुरे भएर आफ्नो वफादारी प्रदर्शन गरेर रिटायर्ड भएपछि आफ्नो गाउमा फर्केर शेष जीवनयापन गर्ने प्रचलन प्राचीन कालदेखि चल्दै आएको हो । हाल सालैका वर्षहरुमा ब्रिटिश सरकारले लाहुरेहरुलाई बेलायतमा बस्न दिने नियम अनुरुप धेरै बारपाकका परिवारहरु बेलायतमा बसोबास गरिरहेका छन् । आफ्नो ऐक्यबद्ताको लागि “बारपाकी समाज युके” भनेर क्रियाशील पनि छन् ।
बारपाकका लाहुरेहरु मध्येका एकजना प्रसिद्द हुन् : गजे घले भि. सी. । दोश्रो विश्वयुद्दको फाँटमा इमान्दारिता, सहनशिलता साथ वीरता प्रदर्शन गरे वापत उनको बहादुरीतालाई कदर गर्दै ब्रिटिस सरकारबाट भि. सी. जस्तो गहन एवं महान तक्मा पाउने पहिलो नेपाली यिनै हुन् । उनको क्रियाकलापले गर्दा समस्त नेपाली जाति बहादुर गोर्खाली भनेर विश्व रंगमंचमा पहिचान यिनी जस्ताको पराक्रमले गराएको हो ।
गोरखा जिल्लाको नमुना गाउँ घोषणा गरिएको यो ठाउँ अहिले घोर प्रकृति प्रकोपको कारणले अरण्य रोदन गरिरहेको छ । यहाँ भएका अधिकांश घरहरु भत्केका छन् । सदरमुकामबाट करिब आठ कोश टाढा रहेको यो गाउँमा अहिलेसम्म खासै कुनै राहत पुग्न सकेको छैन । कति मान्छे हताहत भएको लेखाजोखा छैन । नेपालका अरु ठाउँहरु जस्तै यहाँ कोलाहाल छ, अस्तव्यस्त छ, चिच्याहट छ ।
यहाका धेरै युवायुवतीहरु गाउँ या देश बाहिर छन् । आफन्तको बेखबरीले गर्दा सबैको मन भुटभुटिएको छ । अन्योलताले गाँजिरहेको छ । फोन सम्पर्क उति हुन सकिरहेको छैन, अस्पष्ट खबर ठोक्किरहन्छ । कंकला शब्द निकालेर रुँदामा पनि कुनै समाधान देखिँदैन ।
प्रलय प्रत्येक युगमा आउँछ । नेपालको इतिहास हेर्ने हो भने प्राय: सय वर्षको अन्तरालमा ठूलो प्रकृति प्रकोप आएको छ । बाढी, पहिरो, भुकम्प जस्ता अनेक समय चक्रमा खप्दै यो देशले आएको छ । हरेक समयमा नेपालीले यसको सामना गरिरहेका छन् । वि.स. १९९० को महाभूकम्पले ठूलो धनजनको क्षति बनाएको सर्वविदित नै छ । यस भूकम्पको वर्णन जुद्ध शमशेरको दरबारमा एक गन्धर्व दाइले यसो भनि गरेका थिए रे ।
माघ दुई गते सोमबारको दिन !
उल्का भयो पृथिवीमा सबको सातो लिन !!
कोहि भन्छन् देवता कोहि भन्छन् माछो !
हुनेकुरा भइ सक्यो कसका कुरा साचो !!
यो सुनेर जुद्ध शमशेर खुशी भइ एक सय रुपैयाँ इनाम दिएको कुरा आफ्नो जीवनकालमा मेरा हजुरबुवाले बारम्बार भन्नु हुन्थ्यो ।
आपतविपतमा सहयोग गर्नु मानवता हो । आफ्नो पेट काटेर भएपनि अर्काको ज्यान बचाउनु धर्म हो । दुखमा साथ दिनु महानता हो । आफ्नो गाँस बचाएर चन्दा दिनु हामी सबैको कर्तब्य हो । परोपकारितामा मानब सभ्यता अडेको छ । हामी सबैले आ-आफ्नो तर्फबाट यो बिपत्तिमा सहयोग गरि एकजुट होऔँ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च