
म्याग्दी । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ ।
दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षतविक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।
हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेकाले हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी लैजान र सङ्कलित शव ल्याउन समस्या भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । शव पहिचान, सुरक्षित बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाली सेनाको एक, फिस्टेल र कैलाश एयरको एक/एक वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक वटा हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छाडेर नाउरीकोट आएको थियो ।
कुहिरो हट्नैवित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने र सङ्कलित शव ल्याउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो ।
कुहिरो लागेको र प्रतिकूल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट नेपाली सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।
पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।
स्थानीयका अनुसार कोवाङ माथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह