काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई आज यहाँबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो । निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवर्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिनुभयो ।
कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताउनुभयो ।
नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उहाँले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो । उहाँले नेपाललाई खोप उपलब्ध गराउने उद्दार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गर्नुभएको हो । कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिनुभएकोे थियो ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप