एनआरएनए युकेको चुनावमा प्रोफेसनल्सहरु

बायाँबाट डा मीन रानाभाट, तेजेन्द्र रोकामगर, डा मुकुन्द बाँस्तोला, पवन शर्मा र प्रसुना कँडेल

लण्डन । प्राय व्यापारी र राजनीतिकर्मीहरुको दबदबा एनआरएनए अभियानमा रहने गरेको छ । सोही कारणले पेशाकर्मीहरु र सर्वसाधारणले सो अभियानप्रति वितृष्णा देखाउने गरेको पनि यदाकदा सुन्न पाइन्छ । यस्तै परिवेशका बीच एनआरएनए युकेको यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा केही प्रोफेसनल्सहरुले उम्मेदवारी दिएका छन् ।

एनआरएनए युकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका तेजेन्द्र रोकामगर पेशाले सिभिल ईन्जिनियर हुन् । उनी नेपाल ईन्जिनियर्स एसोसिएसन युके केन्द्रका संस्थापक अध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा नेपाल ईन्जिनियर्स एसोसिएसनले बेलायतमा शाखा खोलेको थियो । उनी हाल जोसेफ गालाघर लिमिटेडमा सिनियर साइट इन्जिनियरका रुपमा कार्यरत छन् । उनी वर्तमान कार्यसमितिमा कोषाध्यक्ष छन् ।

उपाध्यक्ष पदका उम्मेदवार पवन शर्मा पेशाले चार्टर्ड अकाउण्टेण्ट हुन् । उनको बेलायतमा विभिन्न व्यवसायमा लगानी पनि छ । उपाध्यक्षका अर्का उम्मेदवार गोविन्द खरेल पेशाले डाटा साइन्टिष्ट हुन् । उनी ला वागन भन्ने स‌ंस्थामा आवद्ध छन् ।

महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी प्रसुना कँडेल पेशाले नर्स हुन् । उनी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छिन् । नेपाल नर्सेज एसोसिएन युकेकी पूर्व अध्यक्ष रहिसकेकी छिन् । वर्तमान कार्यसमितिमा उनले महिला संयोजक रहेर जिम्मेवारी बहन गरिसकेकी छिन् ।

महासचिवका उम्मेदवार डा. मुकुन्द बाँस्तोला अर्थशास्त्री हुन् । उनले कार्डिफ मेट विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । उनी हाल जोन्सन केयर ग्रुपमा परामर्शदाताका रुपमा कार्यरत छन् ।

इङल्याण्ड राज्यसमितिका अध्यक्षका उम्मेदवार डा. मीन रानाभाट शिक्षाविद् हुन् । उनले युनिभर्सिटी कलेज लण्डनबाट शिक्षा, विकास र अर्थशास्त्र विषयमा विद्यावारिधि  गरेका छन् । उनी सो विश्वविद्यालयमा विद्यार्थी युनियनका अध्यक्ष पनि चुनिएका थिए । उनी अहिले स्वतन्त्र अनुसन्धाता हुन् ।

स्कटल्याण्ड राज्य समन्वय समितिका सहसचिवमा उम्मेदवार प्रकाश अर्याल वैज्ञानिक पनि हुन् । उनले विज्ञान विषयमा विद्यावारिधी गरेका छन् ।

अन्तर्राष्ट्रिय समन्वय समितिमा निर्विरोध भइसकेका दिनेश घिमिरे मोर्गेज एडभाइजर हुन् भने राजेन्द्र पुडासैनी र एलएन पाण्डे क्रमश: नर्स र चार्टर्ड अकाउण्टेण्ट हुन् ।

इङल्याण्ड राज्यसमितिका कोषाध्यक्षमा उम्मेदवारी दिएका राजु बोहोरा नेप्लिज सेफ्स एसोसिएसन युकेका प्रवक्ता  हुन् भने राष्ट्रिय समन्वय समितिका सदस्यका उम्मेदवार मोहन ओली सोही संस्थाका प्रवक्ता हुन् ।

यसअघिका कार्यसमितिहरुमा पनि सचिन श्रेष्ठ चार्टर्ड अकाण्टेण्ट, राजकुमार त्रिपाठी ईन्जिनियर, सुनिल साह र दिलिप यादव चिकित्सक, डा. प्रेम आले पीएचडी, डा कृष्ण उपाध्याय, डा कुल लुइँटेल, स्वर्गीय डा चन्द्र लक्सम्बा लगायतका पेशाकर्मीहरु एनआरएनए युकेमा निर्वाचित भई काम गरेका थिए । प्रोफेसर सूर्य सुवेदी लामो समय यस संस्थाको संरक्षक थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री