एसेक्स, ग्रेजको क्लेरेन्स रोडदेखि थोरै भित्र पसेपछि सुनसानको टोल भेटिन्छ । जुन महिनाको बदलिदो मौसम, त्यहाँका लस्कर घरहरु मध्यदिनको टन्टलापुर घाममा सुनसान छन् । जोर नम्बर घरको पल्लो कुनामा ताप्लेजुंग, ताम्राङकी की ईन्द्र लिम्बू (पन्धाक-ईश्बो) को आफ्नै घर छ । टोलको पल्लो छेउमा जस्तो देखिने उनको घरको बैठक कोठा गोर्खाली पृष्ठभूमीमा सजाईएको छ ।
‘सेवारो है, हजूर! घरैमा पो बसिराखेको छौं हामी त,’ घन्टी बज्नासाथ भित्रबाट पूर्वेली लवजमा उनले बोली र आफ्नै परम्परागत शैलीमा आफूलाई प्रस्तुत गरिन् ।
संसार लकडाउनको बन्देजमा रहे जस्तै नेपालकै झझल्को दिने उनको चिटिक्क परेको बैठक कोठा पनि शान्त छ ।
आफ्नो थातथलो छोडेपछि धेरै मान्छेहरु उतैको रमितामा भुलिने गर्छन् । आफ्नो मौलिकपन बिर्सन्छन् । तर, ग्रेजका नेपालीहरुले आफ्नो मौलिकतालाई भुलेका छैनन् । उनीहरु आफू बोल्ने भाषा र बाँच्ने जीवनशैली उतैको छ । कसैसंग जम्काभेट भए चासोका साथ एक-आपसको निन्दा गर्छन् । विचार र अनुभव धित मरिन्जेल साट्छन् । सानाले ठूलालाई आदर र ठूलाले सानालाई प्रेम सदभाव देखाउने पुस्तौंदेखिको परम्परा यहाँ कायमै छ । घरेलु पहिरनमा भेटिएकी ईन्द्रमा पनि यही गुण झल्कियो: पल्लो किराँतको निख्खर सरल हाउभाउ।
तर, समाजमा उनको व्यक्तित्व भिन्न छ: उनी गायिका पनि हुन् । प्रकृतिको, आँखाभरी लगायतका धेरै नेपाली गीतहरु उनले गएकी छिन् । बेलायत आएपछि दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ्ग गरेकी छिन् । नेपालको ख्याति प्राप्त कलाकारहरुसंग एउटै मन्चमा कार्यक्रम गरेकी छिन् । यही हुनाले कलाकार भनेर उनलाई नचिन्नेहरु यहाँ कमै छन् । यद्यपि, उनको जीवन संघर्ष भने अरुको भन्दा फरक छैन ।
गोर्खा सैनिक पृष्ठभूमीमा जन्मिएकी ईन्द्रको सुरुको बाल्यकाल हंगकंगमा बित्यो । कक्षा ५ सम्मको अध्ययन उनले त्यहीको गोर्खा हाई स्कूलमा गरिन् । स्कूलमा उनी सबैको आशाको केन्द्र थिइन् । कक्षामा अब्बल श्रेणीको विद्यार्थीमा पर्थिन् । परीक्षामा सधैं प्रथम हुन्थिन् । सामान्य ज्ञानमा राम्रो दखल थियो । स्कूलमा हुने प्रतियोगितामा प्राय: पुरस्कृत भइरहन्थिन् । ‘त्यो बेला मलाई सबैले नाच्न लगाउँथे । मलाई पनि नाच्न भनेपछि असाध्यै मन पर्थ्यो, खुब नाचेँ,’ आफ्नो विद्यार्थीकालको एक प्रसंगमा थोरै असहज मान्दै उनले भनिन् । ‘तर, कुनै दिन गायिका नै बन्छु भन्ने चाहिँ मलाई लागेको थिएन । केही भईहाले नाच्नेसम्म हुन्छु कि भन्ने चाहिँ लागेको थियो ।’
तर, ईन्द्रको पिताको नोकरी सकिएपछि स-परिवार पुर्ख्यौली थलो ताम्राङ नै फर्किनु पर्यो । ६ वर्षको अनुभव लिएर उनी आमा-बाको साथ गाउँ फर्किइन् । बढ्दो उमेरसंगै उनको त्यहाँ गाउँले जीवन शुरु भयो ।
हंगकंगमा जस्तो पढ्ने सुविधा गाउँमा थिएन । त्यहाँ प्राइमरी तहसम्म मात्र पढाई हुन्थ्यो । त्योभन्दा माथ्लो तहको अध्ययन गर्न टाढाको स्कूल जानु पर्थ्यो । घरबाट धाउनु सजिलो थिएन । ४ वर्ष मेलापात गरेर घरैमा बिताइन् । घरकी एक्ली छोरी, समयसंगै अरू जिम्मेवारहरु थपिंदै गए । यसको प्रत्यक्ष असर उनको अध्ययनमा पनि पर्यो । जेनतेन गरेर कक्षा ९ सम्म अध्ययन गरिन् । तर, समय र भाग्यले जीवनमा अर्कै नयाँ मोड लिन थाल्यो — एकातिर जेठी छोरीको बढ्दो जिम्मेवारी, अर्कोतिर पढाई । ‘मान्छेले गर्छु भनेर केही नहुने रै’छ? भाग्यमा जे लेखिएको छ, त्यही भोग्नु पर्ने रै’छ,’ उनले यसो भनिरहँदा उनको मुहारभाव विगत र वर्तमानको दोसाँधमा अल्मलिएको आभास हुन्थ्यो ।
१८१४ को सुगौली सन्धिमा नेपाली युवाहरु पनि बेलायती सेनामा भर्ना हुन पाउने प्रावधान बनाइयो । त्यसपछि नेपाली युवाहरु बिस्तारै बेलायती सेनाप्रति आकर्षित हुन थाले । सेनामा लागेपछि उनीहरुलाई गोर्खा नामले चिनिन थालियो । बेलायतको तर्फबाट अंग्रेजहरूसंगै उनीहरुले विश्वका धेरैवटा युद्धहरू लडे । विश्वको धेरै ठाउँहरुमा शान्ति सुरक्षाको लागि योगदान पुर्याए । नयाँ देशहरु निर्माण गरे । मलेसिया यसको एउटा उदाहरण हो । यसरी बहादुरी देखाएवापत बेलायतले १३ जनालाई भिक्टोरिया क्रसले सम्मानित गर्यो । तर, युद्धमा सहादत प्राप्त गरेकाहरु भने कसैलाई पनि शहीद घोषणा गरेन । पेन्सन लगायतका कुराहरु लिएर बेलायत सरकारविरुद्ध गोर्खालीहरु अझै पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
बेलायती सेनामा सेवा गरेवापत नेपालले के र कति पाउँछ ? गोर्खालीहरु स्वयम् आफैँ अनभिज्ञ छन् । तर, उनीहरुको बहादुरी र ईमन्दारीको साक्षी आज संसार छ । विश्व राजनीतिको मानचित्रमा देशलाई जस्तो देखाइए पनि नेपाल र नेपालीले गर्व गर्ने ठाउँ गोर्खालीको कारण फराकिलो बनेको छ । बेलायती सेनामा गोर्खालीलाई कहिलेसम्म भर्ना लिइने ? अहिलेसम्म कुनै ‘टायम फ्रेम’ छैन । तर, गोर्खालीको संख्या अहिले निकै घटाइएको छ । पछिल्लो वर्षहरुमा ‘ब्रिगेड अफ गोरखाज’ मा २३० देखि २५० र सिंगापुर पुलिस फोर्समा १४० गरी हरेक वर्ष ३५० देखि ३९० को हाराहारीमा नेपाली जवानहरु सेनामा भर्ना हुने गरेको तथ्यांकले देखाएको छ ।
‘बदलिदो समयसंगै देश परिवर्तनको लागी युवाहरू स्वदेशमै रहनु पर्छ । देश छोडे भाषा, धर्म, र संस्कृतिको बिनाश हुन्छ’ भन्नेहरु पछिल्लो दशकदेखि आवाज निकाल्न थालेका छन् । तर, नेपाली युवाहरुको बेलायती सेनाप्रतिको मोह बढ्दो छ । घटेको छैन ।
१९८०-९० नेपालीको लागी नयां परिवर्तनको दशक थियो । जनमत संग्रहमार्फत उनीहरूले आफ्नो मौलिक अधिकार प्रयोग गर्ने पहिलो अवसर त्यही समय पाए । निर्दलीय प्रणाली अन्तर्गत देशमा राष्ट्रिय सभाको पहिलो निर्वाचन यही बेला भयो । १९८९ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीले देशको अर्थतन्त्रमा ठूलो असर पार्यो । नेपालीहरू विदेशी श्रम बजारमा जाने चलन त्यही समयदेखि सुरु भयो । बेलायती सेनामा बाहेक त्योभन्दा पहिला विदेश जाने नेपालीको संख्या नगन्य थियो । जो जान्थे, आज जस्तो बाध्यताले होइन, रहरले जाने गर्थे ।
देशमा प्रजातन्त्र स्थापनाको लागी जनआन्दोलन पनि त्यही दशक भयो । ईन्द्रको उर्लिदो उमेर यही परिवेशमा हुर्किंदै थियो । १९९० मा तेह्रथुम खाम्लालुङका युवराज ईश्बोसँग उनको विवाह भयो । दुई जीवन, एउटै रथ — फेरि नयाँ यात्रा शुरु भयो । युवराज स्वयम् बेलायती सेनामा कार्यरत थिए । १९९४ मा ईन्द्र फेमिलीमा फेरि हंगकंग आइन् । यो पटकको हंगकंग आगमन उनको तेस्रो थियो । क्याम्पमा बस्न थालेपछि उनको दैनिकी अरु नम्बरनीहरुको हूलमा मिसियो । समय बितेको उनलाई पत्तै भएन । ३ वर्षको फेमिली टूर सकिएपछि २ छोराहरूका साथ उनी फेरि नेपाल फ़र्किइन् ।
युवराज जस्तै १९६० को दशकमा ईन्द्रको पिता पनि बेलायती सेनामा हंगकंगमै थिए । उनी त्यही बेला हंगकंगमा जन्मेकी थिइन् ईन्द्र। फेमिली सकिएर नेपाल गएपछि आवासको लागी १९९७ मा उनी फेरि हंगकंग आइन् । त्यो बेला हंगकंगमा नेपालीहरु थोरै थिए । त्यहाँ उनीहरुको आफ्नै समाज थियो । त्यस समाजभित्र परदेशी जीवन निकै कठिन थियो । धेरैले त्यहाँको भाषा र कानुन बुझ्दैनथे । तर, उनीहरू आफन्त र छिमेकीलाई बुझ्थे । अधिकांश नेपालीहरु नेपालकै राजनीतिक र जातीय संघ संगठनको बिल्लामा भेटिन्थे । तर, भूगोलको नयाँ कुरा बुझ्नु पर्छ भन्ने उनीहरु थोरैलाई मात्र ज्ञान थियो । त्यसैले चाहिएको बेला उनीहरु सबैले उचित सल्लाह र सहयोग लिन र दिन सक्दैनथे । ईन्द्रको लागी त्यो जंघार अप्ठ्यारो थियो ।
छोराहरू सानै थिए । उनीहरुकै लागी उनी सक्रिय हुन थालिन् । यूनलोङ्गमा एउटा सानो स्कूलमा थियो, जहाँ नेपाली बच्चाहरू पनि पढ्ने गर्थे । एक दिन त्यही स्कूलमा आफ्नो कविता वाचन गरिन्, जुन उनको पहिलो प्रयोग थियो । तर, उनले पत्याउनै नसक्ने गरी उनको प्रस्तुतिको सबैले तारिफ गरे । ‘जीवनमा मेरो पहिलो ‘पब्लिक शो’ त्यही थियो,’ उनलाई त्यो घटनाको सम्झना अझै ताजा छ । २० वर्ष अघिको कुरा सम्झँदै उनले भनिन् ।
त्यसपछि हंगकंगमै हुने सानोतिनो जमघटहरुमा उनले गीत गाउन थालिन् । त्यहाँ हुने त्यस्तै भेटघाटहरुमा गाउनको लागी आमन्त्रण आउन थाल्यो । त्यहीबेला उनलाई थाहा भयो — गाउनको लागी साधना आवश्यक छ । ‘गीत त सबैले गाउँछन्, तर भगवानले सबैलाई ‘बरदान’ दिएको हुँदैन,’ उनले आफ्नो अनुभव सुनाइन् । ‘प्राक्टिस गर्यो भने कसै कसैले गाउन सक्छ । म पनि त्यस्तो राम्रो गायिका होइन, त्यसैले प्राक्टिस गर्न थालें ।’
२००४ मा बेलायत सरकारले गोर्खाली र उनीहरुको परिवारको लागी नयाँ नीति लागू गर्यो, जसले ईन्द्र र उनको परिवारलाई बेलायत प्रवेश गर्न सहज बनायो । उनी २००६ सालमा सपरिवार बेलायत आइन् । जीवनका संघर्षहरु आफ्नै ठाउँमा रहँदै गए, तर उनले आफ्नो गायन साधनालाई भने निरन्तरता दिइरहिन् । शम्भु राई, कुन्ती मोक्तान, धिरज राई, सुगम पोख्रेल जस्ता कलाकारहरुहरुसंग एउटै मन्चमा आफ्नो प्रस्तुती दिइन् । आम दर्शकहरूको ‘फिडब्याक’ ले उनलाई थप उर्जा दियो । ‘सिनियर कलाकारहरुसंग कार्यक्रम गर्न थालेपछि मेरो मनोबल बढ्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । ‘र, त्यो भन्दा ठूलो कुरा, मलाई यसले नयाँ ‘आईडेण्टिटी’ दियो: अहिले धेरैले मलाई स्थानीय कलाकार भनेर भन्छन् । यहाँको नेपाली मिडियाले पनि मेरो बारेमा लेख्यो । आफ्नो बारे यसरी बोल्न पाउँदा मनमा आनन्द लाग्छ ।’
अहिले नेपालीहरु संसारको विभिन्न ठाउँमा छरिएर बसेका छन् । तर, सरकारसंग उनीहरुको सही तथ्यांक खासै छैन । भनेको बेला र परेको बेला स्वदेश फर्कन सक्ने क्षमता उनीहरुले विदेशमा राख्दैनन् । त्यही हुनाले विदेशी भूमीमा आफ्नो मौलिकपनको प्यास मेटाउन समय समयमा विभिन्न सांगीतिक कार्यक्रमहरु गर्ने गर्छन् । साहित्यिक गोष्ठीहरु गर्छन् । यसले नयाँ प्रतिभाहरु जन्माउने कार्यमा ठूलो योगदान पुर्याएको छ ।
विदेशमा पछिल्लो समयमा कलाकारिता र साहित्य सिर्जना गर्ने लहर नै चलेको छ । यो नेपालीहरुको आफ्नो माटो र संस्कृतिसंगको साईनो हो । ‘अहिलेको पुस्तामा नयाँ प्रतिभाहरु एकसे एक देखिन थालिएको छ । तर, आफ्नो भाषा र क्षेत्रमा मात्र सीमित नरहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनीहरुले आफ्नो प्रतिभा देखाउने अवसर खोज्नु पर्छ,’ लामो वार्ताको अन्त्यमा ईन्द्रले आफ्नो विचार राखिन् । ‘हाम्रो काम भनेको उनीहरुलाई सकेको सहयोग गर्ने हो ।’
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न