लण्डन । कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल अहिले आक्रान्त छ । यी पंक्तिहरु लेखिरहँदासम्मा नेपालमा कोरोना संक्रमणको दर घट्न शुरु गरेको छैन । संक्रमण र मृत्यु दर दुवै बढिरहेका छन् । जोन हप्किन्स युनिभर्सिटीको शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा ४ लाख ८८ हजार मानिस कोरोना संक्रमित भइसकेका छन् भने ५ हजार ८४७ जनाको ज्यान गइसकेको छ । यद्यपि यो संख्या अझै ठूलो हुनसक्छ । किनकि धेरै ठूलो संख्यामा कोरोना टेष्ट हुन सकेको छैन ।
ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानले गत साता आयोजना गरेको राउण्ड टेबलमा नेपालका जनस्वास्थ्यविद् प्रा. शरद वन्तले नेपालमा संक्रमण दर करिब ४५ प्रतिशत रहेको बताएका थिए । त्यो संख्या अहिले बढेको पनि हुन सक्छ तथापि स्वास्थ्य मन्त्रालयले दैनिक जारी गर्ने गरेको बुलेटिनमा संक्रमित र मृत्यु हुनेहरुको संख्यामा त्यसयता खासै अन्तर आएको देखिँदैन ।
विश्वले स्वीकारेको तथ्य हो हाल नेपालमा फैलिएको कोरोना भाइरसको प्रजाति इण्डियन भेरियण्ट हो । यो कोरोना भाइरसका यसअघिका प्रजातिभन्दा धेरै छिटो फैलिने र घातक छ । सोही भाइरसका कारण भारतमा अहिले पनि जनजीवन अस्तव्यस्त छ र यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यद्यपि वर्तमानमा विश्वको उदाउँदो शक्ति भारतसित आर्थिक हिसाबले, पूर्वाधारका हिसाबले, स्वास्थ्य सेवामा दक्ष जनशक्तिका हिसाबले मनग्ये क्षमता छ । दुनियाँका चर्चित स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरु भारतमै छन् । भारत कोरोनाविरुद्ध खोप उत्पादक राष्ट्र पनि हो । तर यो अहिलेको भाइरसबाट त्यहाँको स्वास्थ्यसेवा धराशायी हुन नदिन भारतलाई अन्तर्राष्ट्रिय सहयोग गुहार्नु पर्ने अवस्था आयो । भारतको तुलनामा सबै हिसाबले कमजोर नेपालले त आफैँ यो अवस्थाबाट पार पाउने विकल्प नै रहेन ।
शुरुमा कोरोना भाइरसका बारेमा हल्काफुल्का अभिव्यक्ति दिएर रेला गर्ने नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतबाट प्रकाशन हुने द गार्डियनमा एक लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायसित सहयोगको लागि याचना गरे । सरकारले आफ्ना कुटनीतिक संयन्त्रलाई पनि सो कार्यका लागि चलायमान बनाउन शुरु गर्यो । फलस्वरुप हालसम्म अमेरिका, न्यूजिल्याण्ड, अष्ट्रेलिया, चीन, स्पेन लगायतका मुलुकहरुले अत्यावश्यक सामग्री नेपाल पठाइसकेका छन् । अमेरिका लगायतका अन्य मुलुकहरुले विगतमा पनि नेपाललाई सहयोग गर्ने गरेका थिए । जुन अहिलेको महामारीमा पनि स्वाभाविक लाग्नसक्छ तर पछिल्लो केही वर्षयता मात्र नेपालको दुताबास स्थापना भएको र वर्तमानमा आर्थिक रुपले त्यति शक्तिशाली नमानिएको स्पेनले यसरी सहयोग गरेको देख्दा धेरै नेपालीहरुमा स्पेनप्रति सकारात्मक छाप परेको छ । तर सबैभन्दा आश्चर्य चाहिँ नेपालसित शताब्दीयौँ लामो कुटनीतिक सम्बन्ध स्थापित बेलायत हालसम्म मौन बस्नुले पारेको छ ।
नेपालमा कोभिड १९ को दोस्रो लहरको प्रभाव देखिन शुरु गर्नासाथ बेलायतमा रहेका नेपालीहरुले बेलायत सरकारसमक्ष नेपाललाई स्वास्थ्यसामग्री तत्काल सहयोग गर्न अनुरोध गरेका थिए । बेलायत नेपाल प्रज्ञा परिषदले १२ मे २०२१ मा नै बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक पत्र पठाई नेपालमा तत्काल स्वास्थ्य सहयोग पठाउन अपील गरेको थियो । यसका साथसाथै बेलायतस्थित नेपाली दुताबास, बेलायतका स्थानीय नेपाली संघसंस्थाहरुले पनि बेलायती सांसदहरु, बेलायत सरकारका विभिन्न निकायहरुसित हारगुहार गरिरहेका छन् । बेलायतमा रहेका नेपालीमूलका नेपालीहरुले आफू बसेको क्षेत्रका दर्जनौँ सांसदहरुलाई पत्राचार गरिरहेका छन् । यति मात्र होइन विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएका बेलायती नागरिकहरुले समेत बेलायत सरकारलाई नेपालमा तत्काल स्वास्थ्य सहयोगका लागि माग गरेका छन् । उनीहरुले आफू मात्र नभई जनताबाट पनि यस मागमा समर्थन र ऐक्यवद्धता जुटाउन साथै बेलायत सरकारलाई दबाबका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
यसबाहेक नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसित भेटी सहयोग मागिसकेका छन् । बेलायती विदेश मन्त्रालयका कनिष्ठ मन्त्री लर्ड अहमद र मन्त्री ज्ञवालीबीच पनि भर्चुअल वार्ता भइसकेको छ । उनै अहमद र बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीबीच पनि भेट भइसकेको छ । यो पंक्ति लेख्दासम्ममा बेलायती संसदमा समेत सांसदहरुले नेपाललाई तत्काल सहयोग गर्न आवाज उठाइसकेका छन् । यति धेरै अनुरोध, दबाब, अपील, भेट हुँदा समेत अहिलेसम्म बेलायतले नेपालका लागि केही सहयोग घोषणा गर्न सकेको छैन । भारतमा स्वास्थ्य सामग्री पठाउने पहिलो विदेशी मुलुक भएको सगर्व दाबी गर्ने बेलायतले त्यति लामो मित्रता भएको र भारतभन्दा धेरै सहयोगको जरुरत परेको नेपाललाई सहयोग गर्न किन अबेर गरेको बुझ्न सकिएको छैन ।
कुनै पनि राष्ट्रलाई महामारी वा विपत्ति आइपरेको अवस्थामा अर्को राष्ट्रले सहयोग गर्नु मानवीय कार्य हो । शायद त्यो प्रतिस्पर्धी राष्ट्र नै किन नहोस् । जस्तो भारत र चीन बीच कतिपय सवालमा प्रतिस्पर्धा भए पनि विपतमा सहयोग आदानप्रदान हुन्छ । तर बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने धेरै जायज कारणहरु छन् । पहिलो, नेपालबाट अहिले पनि बेलायतले युवाहरुलाई बेलायतमा भर्ती गरिरहेको छ र बेलायती राजमुकुटका लागि उनीहरु ज्यानको परवाह नगरी लडिरहेका छन् । केही वर्ष अघिसम्म इराक, अफगानिस्तानमा उनीहरु बेलायतका लागि बलिबेदीमा चढिरहेकै थिए । बेलायती सेनामा कार्यरत हजारौँ गोरखा सैनिकहरुका परिवारहरु अहिले अहिले कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेका छन् । उनीहरुको जीवन रक्षाका लागि सहयोग गर्नु बेलायत सरकारको पनि दायित्व होइन र ? दोस्रो, अहिले करिब एक लाखको हाराहारीमा नेपाली मूलका बेलायतीहरु बेलायतमा छन् । उनीहरुको परिवारका सदस्यहरु अहिले नेपालमा छन् । के आफ्ना नागरिकहरुको परिवारलाई परेको विपत्तिमा सहयोग गर्नु बेलायत सरकारको पनि कर्तव्यभित्र पर्दैन र ?
भनिरहनु परोइन बेलायत नेपालको पुरानो र सदाबहार मित्र हो । नेपाल र बेलायतका बीचमा सदैव हार्दिकतापूर्ण सम्बन्ध रहिआएको छ र दुवैले विपत्तिमा एकले अर्कालाई सकेको सघाउँदै आएका छन् । नेपालीहरुमा बेलायतप्रति अत्यन्तै सकारात्मक धारणा रहेको छ र उनीहरु बेलायतलाई नजिकको मित्र ठान्छन् । त्यसैगरी बेलायतमा पनि बेलायतीहरुले नेपालीलाई अति माया गर्दछन् । जनस्तरमा रहेको यस्तो किसिमको सम्बन्धकै कारणले नेपाल र बेलायतबीचको सम्बन्धलाई मजबुत बनाएको छ । यस कुरालाई बेलायत सरकारले महसुस गर्नुपर्छ र मावनीय सहयोग, अन्तर्राष्ट्रिय विकास सहयोगमा हरेक वर्ष उल्लेख्य बजेट बिनियोजन गर्ने बेलायतले तत्काल नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्न पनि सक्छ । बेलायतले नेपालसितको मित्रतालाई कागज र भाषणमा मात्र होइन अभर परेका बेला सहयोगी हात पनि हो भन्ने व्यवहारमा उतार्नुपर्छ । कोरोना भाइरसविरुद्धको खोप निर्माण र खोप अभियानमा बेलायतले उल्लेख्य सफलता हासिल गरेको छ । कोरोना भाइरसबाट मुक्ति पाउने एक मात्र उपाय खोप भएकाले बेलायतले नेपाललाई खोप उपलब्ध गराउन र खोप अभियानमा सहयोग गर्नुपर्छ । कोभाक्समार्फत बल्कमा गरिएको सहयोगलाई देखाएर मात्र बेलायतले उम्कन पाउँदैन ।

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई