काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्न संविधानसभाको चार पक्षबीच शनिबार वार्ता हुने भएको छ। सत्तारुढ दल र विपक्षी मोर्चाबीच वार्ता हुन लागेको हो। शुक्रबार मात्रै संविधानको अन्तर्वस्तुमाथि द्विपक्षीय वार्ता भएको थियो। नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतृत्वबीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट तथा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो।
सत्तारुढ दलहरुले एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको विपक्षी मोर्चासँग विवादको प्रमुख विषय रहेको संघीयता लगायत विषयमा सघन छलफल गर्ने र सहमति बन्न नसके बहुमतीय प्रक्रिया शुरु गर्ने बताएका थिए।
विपक्षी मोर्चाले भने फागुन मसान्तसम्म सहमतिका लागि वार्ता गर्ने, सहमति बन्न नसके सडक संघर्षको दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने बताउँदै आएका छन्। तीस दलीय मोर्चाले संविधान निर्माणका लागि माघ ११ बाट शुरु भएको बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको छ। नयाँ संविधानको अन्तर्वस्तुमा सबैभन्दा जटिल बिषयमा रुपमा अघि आएको प्रदेशको सिमाकंन र नामाकंनको विषयमै शनिबारको वार्ता केन्द्रित हुने एक नेताले बताए।
एमाले अध्यक्ष ओलीको अभिव्यक्ति प्रति असन्तुष्ट नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने ओली सहभागी हुने वार्तामा सहभागी नहुने भएका छन्। महतोले मधेशी मोर्चाको ओली सहभागी हुने वार्तामा नबस्ने निर्णयअनुसार नै सहभागी नहुने बताए। तर मधेशी मोर्चाका अन्य घटकका नेताहरु भने वार्तामा सहभागी हुने गरेका छन्।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह