युरोपियन युनियनसितको व्यापार सम्झौता बेलायती संसदबाट अनुमोदित

लण्डन । बेलायत र युरोपियन युनियनबीच भएको व्यापार सम्झौतालाई बेलायतको संसदले अनुमोदन गरेको छ ।

बेलायती संसदमा बुधबार भएको मतदानमा व्यापार सहमतिको पक्षमा ५२१ र विपक्षमा ७३ मत परेको थियो ।

व्यापार सम्झौताका पक्षमा सत्तारुढ कन्जरभेटिभ पार्टी र प्रमुख प्रतिपक्षी लेबोर पार्टीले मतदान गरेका थिए भने स्कटिश न्याशनालिष्ट पार्टीलगायतले विपक्षमा मतदान गरेका थिए ।

बेलायती संसदबाट पारित भएसँगै बेलायत र युरोपियन युनियनबीच गत साता सम्पन्न व्यापार सम्झौता भोलि राति बेलायतको समय ११ बजेदेखि लागू हुनेछ ।

बेलायतमा सन् २०१६ मा सम्पन्न जनमत संग्रहले युरोपियन युनियनबाट बाहिरिने पक्षमा जनादेश दिएको थियो । सोअनुसार सन् २०२० को जनवरी ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिएको थियो तर व्यापार लगायतका सहमति गर्न ११ महिनाको संक्रमणकालिन समय दिइएको थियो । सो समय भोलि राति ११ बजे सकिँदै थियो ।

यसअघि बेलायती संसदमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले युरोपसितको सहमतिले बेलायतलाई महत्वपूर्ण कुराहरु आफ्नै नियन्त्रणमा राख्ने अवसर दिएको बताएका थिए ।

नयाँ सहमतिमा युरोपियन युनियनका नेताहरुले हस्ताक्षर गरेपछि आजै बेलायती प्रधानमन्त्रीको हस्ताक्षरका लागि लण्डन आइपुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री