बार्सिलोना, (जीएनएन) – गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिले सामूहिक राजीनामा बुझाएको छ। माल्टामा श्रमिक ल्याउन बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संलग्न रहेको समाचार बाहिरिएपछि १९ सदस्यीय कार्यसमितिले नै राजिनामा गरेको हो। यसैबीच छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै पांच सदस्यीय छानबिन समितिका एकजना सदस्य तथा एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक, कृष्ण तिमल्सेना, ले मंगलबार छानबिन समितिले सर्वसम्मतिले आफ्नो प्रतिवेदन एनआरएनए केन्द्रलाई बुझाएको बताए। “अब अगाडिको निर्णय केन्द्रको निर्देशन बमोजिम नै हुन्छ,” उनले भने। आफूहरु माथि गम्भीर आरोप लागेकाले नैतिकताको आधारमा छानबिनका लागि सहयोग गर्न राजीनामा पेश गरेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले बुझाएको पत्रमा उल्लेख छ।
राजीनामा गराएर यस विषयलाई यत्तिकै सल्टाउन केन्द्रिय नेतृत्वले समेत दबाब दिएको आरोप लागेको छ। तर संघका केन्द्रिय महासचिव डा. हेमराज शर्माले भने आफूहरुको कुनै प्रभाव वा दबाब नरहेको भन्दै खण्डन गरेका छन्। डा. शर्माले भने, “यस लेवलको कसैको पनि सहभागिता छैन। छानबिन समितिले बुझाउने प्रतिवेदनको आधारमा थप के गर्ने भन्नेबारे अन्तर्राष्ट्रिय कार्यकारिणी सचिवालय (आईईएस) को बैठकले नै निर्णय गर्नेछ।” एनआरएनए युरोप क्षेत्रका संयोजक नारायण आचार्यको नेतृत्वमा गठित छानबिन समितिले कार्यसमितिसँग सोधपुछ तथा छलफल गरेको थियो। स्रोतका अनुसार कार्यसमितिभित्रका १३ जनाले आफ्नो गल्ती स्वीकार गरेका छन्।
एनआरएनए केन्द्रले गठन गरेको छानबिन समितिमा संयोजक आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेका छन् । अब एनआरएन माल्टामा के हुन्छ ? माल्टा कार्यसमितिलाई अब के गर्ने भन्ने विषयमा शनिबार बस्ने एनआरएनए केन्द्रिय सचिवालयको बैठकमा गम्भीर छलफल हुने जनाइएको छ। संघका महासचिव डा.शर्माका अनुसार छानबिन समितिको प्रतिवेदनका आधारमा नै संघभित्र निर्णय हुने छ। एनआरएनएको इतिहासमा नै सम्पूर्ण कार्यसमितिले सामूहिक राजिनामा दिएको सम्भवत: यो पहिलो घटना हो। डा.शर्माले भने, ’यो विषय यत्तिकै टुंगिने भन्ने होइन। कुन लेवलको संलग्नता छ। कतिपय आफै निर्णय गर्न सकौंला। कतिपय अनुशासन समितिमा पठाउनु पर्ने हुन्छ। ती सबै कुराहरु छानबिन समितिले पठाएको प्रतिवेदन हेरेपछि मात्र भन्न सकिन्छ। अन्य सम्बन्धित ठाउँमा पनि सचेत गराउन सकिन्छ।”
विधान समितिमा समेत संयोजक रही काम गरिसकेका डा. शर्माले राजीनामा पछिका केहि विकल्पहरुबारे पनि चर्चा गरे। “पहिलो, आईईएसले राजिनामा स्वीकृत गरेर नयाँ कार्यसमिति बनाउन सुझाव दिन सक्छ। दोस्रो अर्को ब्यबस्था नहुन्जेल यही कार्यसमितिले चलाउन भन्न सक्छ, तर यी सबै प्रतिवेदनमा भरपर्ने विषयहरु हुन्,” उनले भने।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]