लण्डन ।
घटना: १
‘मलाई र श्रीमतीजीलाई संचो छैन । कोरोनाको आशंका छ । हाम्रा दुई साना छोराछोरी छन् । एनआरएनए यूकेले केही हेल्प गर्न सक्छ ?
घटना: २
‘म विश्वविद्यालयको विद्यार्थी हुँ, अर्को हप्तादेखि खाना पनि छैन, कोठा भाडा कसरी तिर्नु, लकडाउनका कारण काम पनि छैन । केही हेल्प गर्नु सक्नु हुन्छ ?
घटना: ३
म केयर होममा काम गर्छु । परिवारले काम गर्न नजाउ भन्छन । घर बसेर खान पुग्दैन । एउटा कोठा खोज्न सहयोग गरिदिन सक्नु हुन्छ ?
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न बेलायत सरकार लकडाउनमा गएपछि यी र यस्ता धरै समस्यामा नेपालीहरु परे । नेपाली समुदाय आत्तियो । जीवनमा कहिल्यै नभोगेको समस्या एकैपटक आईपर्दा के गर्ने के नगर्ने ? अलमल हुँदै गर्दा एनआरएनए युकेले कोरोना प्रभावितका लागि एउटा सहयोग समिति बनाउने निर्णय गरयो जसको नाम दिइयो -‘एनआरएनए हेल्प लाइन’।
हेल्प लाइन खडा भएपछि यी माथिका तीन प्रतिनिधि घटनाका समाधानका लागि नीजि फोनका घण्टीहरु लगातार बज्न थाले । ती समस्यालाई सकेसम्म समाधान गर्ने कोशिसमा लाग्यो एनआरएनए युके । करीब १४ हजार पंजिकृत सदस्य र झण्डै एक लाख नेपाली बसोबास गर्ने बेलायतमा तीन जनाले समुदायलाई सहयोग गर्ने जिम्मा लिए । जसमा छन् दक्षिण पूर्वी लण्डन निवासी सचिव जीत रानाभाट र लेस्टर निवासी सचिव कोश्लेस्वर ढकाल तथा अल्डरसट फार्नवरो निवासी सदस्य हेम गुरुङ । तीनै जना बसोवास गर्ने क्षेत्रमा नेपालीहरुको जनसंख्या धेरै छ ।
कोरोना महामारीमा परिवार संगसंगै समुदायलाई पनि सहयोग गर्नु पर्छ भनेर जिम्मेवारी लिएका तीन जना अभियन्तालाई साथ दिन २५ डाक्टरहरु र २४ नर्सहरु तम्तयार थिए । महामारी रोकथामका लागि स्वस्फूर्त नाम लेखाएर स्वयंसेवी बनेको स्वास्थ्यकर्मीको टोलीको साथ पाएपछि सचिवद्धय रानाभाट र ढकाल तथा सदस्य गुरुङ निर्धक्क सहयोग गर्न अघि बढे । विभिन्न समस्यामा परेका नेपालीहरुले माग्ने सहयोगलाई जिम्मेवारीपूर्वक समाधान गर्दै अघि बढिरहेका सचिव रानाभाट भन्छन्, ‘हेल्पलाईन भनेकै समस्या परेपछि फोन गर्न हो । मैले सकेसम्म समस्याको समाधान गर्न कोशिस गरिरहेको छु ।’ रानाभाटले थपे , ‘संस्थाले दिएको जिम्मेवारीलाई मैले अवसरका रुपमा लिएको छु ।’
अर्का सविच ढकाल पनि व्यस्तता उस्तै छ । लण्डनबाट केही टाढा लेस्टरमा वरपर समुदायका समाजसेवीहरुसँग मिलेर उनले काम गरिरहेका छन् ।
खास गरी बृद्धबृद्धालाई सहयोग गर्न रुचाउने हेल्प लाईनका सदस्य गुरुङले जति नै व्यस्त भएपनि मोवाइलमा बज्ने घण्टीलाई मिस नगरी समस्या समाधानमा लागेका छन् । ‘एक जना मुटु रोगी उपचारपछि घरमै आराम गरिरहनु भएको रहेछ । केही औषधि खरीदका लागि अनुरोध गर्नुभयो । मैले सहयोग गरेँ ।’ दुई साताअघिको घटना सम्झँदै गुरुङ भने ।
अग्रपंक्तिमा उभिएका तीन जना मात्र होइन धेरै स्वयंसेवीहरु पनि यो अभियानमा काँधमाकाँध मिलाउन आइपुगेका छन् । स्थानीय संघसंस्थाहरुदेखि व्यक्तिगत रुपमा धेरै व्यक्तिहरु जोडिएकाले हेल्पलाईनले यतिवेला एनआरएनएको एक इँटा थपेको सचिव रानाभाटको अनुभव छ । कोरोना प्रभावितलाई स्वास्थ्य सल्लाहको लागि डाक्टर, नर्स उपलव्ध गराइदिनेदेखि माक्स, स्यानिटाइजर वा दैनिक उपभोग्य सामग्री खरीद गरेर ढोकामा पुर्याउने काममा एनआरएनए युकेको हेल्पलाइन ब्यस्त छ ।
मुख्यगरी, बृद्धबृद्धा, विद्यार्थीहरु र बेलायत भ्रमणमा रहेका डाक्टरसहितका नेपालीलाई नजिकबाट रेखदेख गरेको सचिव रानाभाटले जानकारी दिए । उनलाई बेलायतभरका कोरोना संक्रमणबाट मृत्यु भएकादेखि संक्रमणमा परेका सम्मको तथ्यांक संकलन गर्ने जिम्मेवारी पनि थपिएको छ । ती तथ्यांक केलाएर मृत्यु, संक्रमित संख्या र अस्पताल भर्ना भएपछि निको भएर घर फर्किएको संख्या समेतको दैनिक लेखाजोखा गरी बिहान इमेल गर्ने कामको जिम्मेवारी पनि रानाभाटलाई सुम्पिएको छ ।
इंग्ल्याण्ड राज्य परिषद्को सहयोग
यसैबीच, इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठले आर्थिक संकलनको जिम्मा लिएका छन् । उनको नेतृत्वको टिमले बिहीबारसम्म १५ हजार पाउण्ड भन्दा माथि कोरोना राहत कोषमा रकम जम्मा गरिसकेको छ । नेपाली समुदायमा कोरोना प्रभावितका लागि सहयोगको अपिल उनले बारम्बार गरिरहेका छन् । उक्त सहयोगलाई पीडितसम्म पुर्याउने काममा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले सहयोग गरिहेका छन् । त्यसबाहेक ‘गो फण्ड’ मार्फत पनि एनआरएनए युकेले सहयोग संकलन गरिरहेको छ । सदस्य ज्ञानेन्द्र आलेमगरले यसको संयोजन गरेका छन् । यसैबीच, गत ९ मे मा एनआरएनए युकेले एनआरएनए आईसिसीलाई १ हजार ५ सय पाउण्ड केन्द्रीय राहत कोषका लागि सहयोग गरेको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा