काठमाडौं। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलहरुलाई नयाँ संविधानको अन्तरबस्तुबारे सहमति गर्न वा पहिलो मस्यौदा ल्याउने जिम्मा आफूलाई दिन बिहीबार दलसमक्ष प्रस्ताव गरेका छन् ।
प्रमुख चार दलका शीर्ष नेता, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिका सभापतिसहितको कार्यव्यवस्था परामर्श समिति बैठकमा अध्यक्ष नेम्वाङले सहमति नहुने अवस्थामा संविधानसभामा अहिलेसम्म भएका कार्यअनुरूप संविधानको प्रारम्भिक मस्यौदा बनाई प्रस्तुत गर्ने जिम्मेवारी आफूलाई सुम्पन आग्रह गरेका हुन् ।
माघ ८ मा संविधान जारी गर्नुको विकल्प नभएको भन्दै उनले त्यसका लागि दलहरूबीच विवादित विषयमा सहमति हुनुपर्ने वा त्यसो गर्न नसके स्वविवेकीय अधिकार आफूलाई दिनुपर्ने बताए ।
सोमबारसम्म संवाद समितिको प्रतिवेदनमा छलफल जारी रहने भएकाले नेम्वाङले त्यतिन्जेल सहमति जुटाउने समय दिएका छन् । सोमबारसम्म पनि सहमति नजुटे मस्यौदा बनाउने अधिकार आफूलाई दिनुपर्ने नेम्वाङको तर्क छ । प्रमुख दलहरुबीच राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको बारेमा सहमति जुट्न सकेको छैन।
संविधानसभा कार्यतालिका संशोधन र नियम निलम्बन गरेर तोकिएकै समयमा संविधान जारी गर्ने नेम्वाङको प्रस्तावमा सत्तारुढ कांग्रेस र एमाले नेता सकारात्मक छन् भने एमाओवादीले विमति जनाएको छ । उसले संविधानका सबै विषयमा सहमतिको विकल्प नभएको जिकिर गरेको छ ।
सभाध्यक्ष नेम्वाङले नियम, कानुन र स्थापित मान्यताका आधारमा आफूलाई मस्यौदाको अधिकार दिए १५ दिनभित्र संविधानको पहिलो मस्यौदा संविधानसभामा पेस गर्ने कार्यतालिकासमेत शीर्ष नेतासमक्ष प्रस्तुत गरेका छन् ।
‘दलहरूलाई अहिले नै निर्णय गर्नुस् भन्दिनँ,’ नेम्वाङले भने, ‘तपाईंहरुलाई परेको अप्ठेरो म फुकाइदिन्छु । त्यसका लागि म हलाहल कालकुट विष पिउन तयार छु । तपाईंहरुलाई अडानमा परिमार्जन र सम्झौता गर्दा प्रश्न उठ्यो भने त्यो पनि बोक्न तयार छु । तपाईंहरुले मैले ल्याएको प्रस्ताव प्रक्रियामार्फत संशोधन गर्न पनि सक्नुहुन्छ । अप्ठेरो फुकाउन म जिम्मेवारी बोक्न तयार छु ।’ बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएपनि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एक्लैलाई विष पिउन नदिने भन्दै त्यसलाई अस्वीकार गरेका छन्।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान