लन्डन । मानिसको जीवन आ आफ्नै अनुभव, उतारचढाव, सफलता एवं असफलताका अनेक दृष्टान्तले भरिपूर्ण हुन्छ । कतिपयका सपनाहरु बीच बाटोमै ओइलाएर झर्छन् । तर, थोरैका सपनाले मात्र उपयुक्त समयमा फुल्दै फक्रंदै शिखर चुमेका हुन्छन् । आइतबार सांझ लन्डनमा यस्तै सफलता र संघर्षका थुप्रै अनुभव सुनाउंदै थिए नेपालका एक्ला डलर अर्बपति व्यापारी बिनोद चौधरी ।
आफ्नो आत्मकथाको अंग्रेजी संस्करण ‘मेकिङ इट बिगः दि इन्सपायरिङ स्टोरी अफ नेपाल्स फष्ट बिलिनियर इन हिज वन वर्डस’ विमोचन र अन्तरक्रिया कार्यक्रममा अर्बपति चौधरीले बेलायती डायस्पोरामाझ आफ्नो बाल्यकाल, व्यवसायको लामो रोमाञ्चकारी अनुभव र सफलता बडो उत्प्रेरक ढंगले सुनाउंदै दर्शक मन जित्न सफल भए । उनका संघर्षका कथाले दर्शकदीर्घा स्तब्ध पनि भयो ।
ढाका टोपी लगाएर कहिले नेपाली, कहिले अंग्रेजीमा प्रस्तुत भएका चौधरीले झण्डै अढाइ घण्टा युवासहित नयां एवं स्थापित व्यवसायीहरुलाई प्रेरित गर्ने मन्तव्य दिए । महत्वकांक्षा र गृहकार्य गरेर नयां सोचका साथ अघि बढे व्यवसायमा पंूजी समस्या नहुने उनको तर्क थियो । चौधरीले नेपालमा ७० प्रतिशत निजी क्षेत्रले लगानी गरेको जनाउंदै विदेशमा बस्ने नेपालीहरुले छोटो समयमा नै व्यापार र लगानीमा गरेको सफलताले नयां क्षितिज खोलेको चर्चा गरे ।
चौधरीलाई फोर्बस म्यागेजिनले सन् २०१३ मा नेपालको एकमात्र डलर अर्बपतिका रुपमा चित्रित गरेको थियो । उनले वाइवाइ चाउचाउ नेपालबाहेक भारतमा मात्र एक अर्ब गोटा विक्री भइसकेको, सिजी फुड्सले भारतको राजस्थान राज्यमा फुड पार्क निर्माण र सर्बिया, साउदी अरब र बंगलादेशमा समेत चाउचाउ फ्याक्ट्री विस्तारका लागि काम अगाडि बढाइरहेको जानकारी थिए । श्रीलंका, रुवान्डा र चितवन राष्ट्रिय निकुन्जभित्र भारतीय ताज होटलको साझेदारीमा न्यू ताज सफारी लजमा लगानी गरेको उनले जनाए । सिजीलाई न्यूयोर्क स्टक एक्सचेन्जको लिस्टमा राख्ने आफ्नो धोको पनि उनले सुनाए ।
आफ्ना बाबुलाई अचानक हृदयाघात भएबाट व्यापारमा होमिएको स्मरण गर्दै उनले अनेक समस्या सामना गर्दै आफू लक्ष्यबाट कहिल्यै विचलित नभएको बताए । आफ्नो पालाको पुरातन व्यवसाय शैली तुलना गर्दै चौधरीले नयां पुस्तालाई सूचना तथा प्रविधिको विकासले उद्यमी हुन धेरै अवसर प्रदान गरेको बताए ।
उनले बेलायत बस्ने नेपालीलाई नेपाली हुनुमा गर्व गर्न सुझाव दिंदै नेपाल समृद्ध बनाउन स्वदेशमै पर्याप्त साधन श्रोत भएको जनाए ।
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले कार्यक्रम गरेको हो । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले चौधरी सफल उद्यमीसहित परोपकारी व्यक्तित्व समेत भएको चर्चा गरे । राजदूतले चौधरी आफैं खुल्ला किताब भएको टिप्पणी गर्दै चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व निर्वाह गरेको प्रसंग उठाए ।
बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली र एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेको कार्यक्रममा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले चौधरीलाई नेपाल समृद्ध बनाउने अभियानको नेतृत्व गर्न सुझाउंदै उनलाई विदेश बस्ने सबै नेपालीले साथ दिने बताए । बेलायती सांसद बीरेन्द्र शर्माले आफू चार पटक नेपाल पुगिसकेको जनाउंदै नेपाल समृद्ध बनाउन धनाढ्य चौधरीको आवश्यकता औंल्याए ।
एनआरएनए युरोप संयोजक कुल आचार्यले उद्योगपति चौधरी समस्त नेपालीको गर्व र प्रतिष्ठा भएको जनाउंदै संसारका ३० भन्दा बढि राष्ट्रमा आफ्नो व्यवसाय विस्तार गर्ने उनी सच्चा एनआरएन भएको टिप्पणी गरे ।
सफल उद्योगी चौधरीसंगको अन्तरसंवादले बेलायतस्थित नेपाली व्यवसायी, प्राज्ञ, विद्यार्थी र सिंगो डायस्पोरा लाभान्वित भएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए ।
छोटो बेलायत भ्रमणमा आएका चौधरीले अक्सफोर्ड युनिभर्सिटी र प्राइस वाटरहाउस कुपर्सको लन्डन कार्यालयमा समेत प्रवचन दिने कार्यक्रम छ ।
विश्वमै प्रख्यात वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपको बैंकिङ, फाइनान्स, इन्सुरेन्स, हाउजिङ, होटल, रियल स्टेट, इलेक्ट्रोनिक्स, सिमेन्ट, बियर आदिमा लगानी छ । उक्त समूहको इण्डियाको ताज ग्रुपसंग समेत सहकार्य छ ।
चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । महाबिनाशकारी भूकम्प लगत्तै उक्त समूहले ‘दि चौधरी फाउण्डेशन’ मार्फत भत्किएका स्कुल र घर निर्माणमा २५ लाख डलर खर्च गर्ने प्रतिवद्धता बमोजिम काम गरिरहेको छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?