
लन्डन । ५० वर्षअघि सुरु भएको जिन्दगीको दैनिकी अहिले पनि उस्तै । देश फरक, परिवेश फरक, भाषा पनि फरक तर जिन्दगीको दैनिकी एउटै । यस्तै परिवेशमा गुज्रिएका यूकेका नेपाली सेफहरुले पाँचदशक नाघ्दा पनि आफूलाई परिवर्तन गर्न सकेका छैनन् ।
बिहान ११ बज्दा नबज्दै रेष्टुरेन्टको भान्सामा तयारी गर्नुपर्ने अनि त्यसपछिको नित्यकर्म, बेलुकाका ग्राहकका लागि पकाएर झण्डै पाक्न लागेको खाना बनाएर फ्रिजमा राख्नु पर्ने । तरकारी, माछा मासु, चिकेन आदि इत्यादि । किचनको तयारीसँगै ग्राहक बस्ने ठाउँमा चिरिच्याँट्ट सजिएका कुर्सी, टेवुल । त्यो माथि हल्का डेकोरेसन । रेष्टुरेन्ट सरसफाई त छँदैछ ।
यति काम सक्दा नसक्दा दिउंसोको करिब ३ बज्छ । दुई घण्टाका लागि फेरि आराम गर्न रेष्टुरेन्ट वा होटलको माथि उक्लन्छन् वा नजिकै बस्ने ठाउंमा पुग्छन् । यो समय आराम वा आफन्त र साथीभाइसंग भलाकुसारीमै बितेको पत्तो पाईंदैन । घडीको सुई सांझको पांच नजिक पुग्न लाग्दा नलाग्दै फेरि रेष्टुरेन्टमा झरिसक्नु पर्ने दैनिक रुटिनको जिन्दगीलाई पछ्याउंदै ग्राहकको प्रतीक्षा गर्न पुग्छन् सेफहरु । खासै घरमा खाना बनाएर नखाने व्रिटिशहरु ग्राहकलाई खुशी बनाउन मीठो खाना बनाएर खुवाउनु र फेरि खानाको मज्जा लिन आइरहने बनाउनेमै तल्लीन सेफको जिन्दगी वर्षौंदेखि यही दिनचर्यालाई पछ्याइरहेको छ ।
गाउंघरमा कुटो कोदालो, कलम कापी बोक्ने हातहरु दैनिक ८ देखि १२ घण्टासम्म फ्राइ प्यान उचाल्दै बित्ने गर्छ । एक जमाना विश्वभर आफ्नो कव्जा जमाएको बेलायतमा उनीहरु जस्तो ज्ञान, बुद्धि र सभ्यता लिएर नेपालबाट छिरेका थिए, थोरैले मात्र आफूलाई समयसापेक्ष ढाल्न सकेका छन् । नत्र अधिकांश नेपाली सेफहरुको जिन्दगी फ्राइप्यानभित्रै हराए जस्तो छ । वैदेशिक रोजगारीमा आएकामध्ये अधिकांशले यो दिनचर्यालाई एक न एक दिन भने पनि पछ्याएकै भेटिन्छ । कतिले मन नपरेर अर्को रोजगारी खोज्दै छाड्छन् भने यही रोजगारीमा पोख्त रहेकाले अर्को रोजगारी खोज्न जांदैनन् । जसको मुख्य कारण बन्छ, भाषा । जब भाषामा कमजोर भइन्छ अनि खुम्चिनुको विकल्प छैन् । निर्विकल्पका रुपमा ग्रहण गर्न पुग्ने सेफको रोजगारीलाई उनीहरु आधुनिक ब्रिटिश समाजसंग जोड्दैनन् । जसका कारण सेफहरु आफ्नै सर्कल वरिपरि मात्र सीमित हुन पुग्छन् ।
अर्कोतर्फ काम गर्ने पुरानो शैली, किचनलाई देश ठान्दै किचनकै कार्यकारी पदकै ग्रहण गरे जस्तो सिहंको गर्जनझैं गर्जनको अहमले आधुनिक समाजसंग सिक्नु पर्ने ज्ञान र सभ्यताबाट निकै टाढा छन् उनीहरु । बेलायतमा पैसा कमाएर परिवार पाल्न र बेलायतमा छु भनेर नेपालमा रवाफ देखाउनेबाहेक जीवनशैली र भाषामा आफूलाई अब्बल बनाउन निकै पछि देखिन्छन् सेफहरु ।
बेलायतमा करिब २५० नेपाली रेस्टुरेन्ट छन् । एक रेस्टुरेन्टमा कम्तिमा ३ जना सेफ काम गर्छन् । नेपाली, भारतीय, बंगालीसँग अधिकांशले काम गर्ने भएकाले किचनमा अंग्रेजी भाषाको सट्टा हिन्दी नै चलनचल्तीको भाषा छ । किचनमा ६ दिन काम अनि एक दिनको बिदामा पनि तास वा मदिरापानमा रम्ने भएकाले बहुसँस्कृतिको धनी मुलुक रहेको देशमा उनीहरु ब्रिटिससंग बोलचाल वा घुलमिल गरेको खासै देखिंदैन ।
करिब एक दशकदेखि विद्यार्थी बनेर भित्रिएका नेपालीलाई उनीहरु आदर गर्न चाहंदैनन् । बेलायतको सेटलमेन्ट भिजा र पासपोर्ट लिएर बसेका नेपालीले अस्थायी रुपमा बेलायत बस्नेलाई सामान्य मानिसको दर्जा दिन पनि हिच्किचाउँछन् ।
यो परिवेशमा हुर्किरहेको नेपाली सेफको फ्राइप्यान जीवन शैलीलाई परिवर्तन गर्न नसक्नुका बारेमा नेप्लिज सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमल्सेना भन्छन्, ‘उनीहरु भित्रको सकारात्मक सोचलाई बाहिर ल्याउन नसक्नु नै हो । बेलायत सरकारले सेफ पेशालाई डाक्टर, इन्जिनियरजस्तै राम्रो र आकर्षक पेशाका रुपमा विकास गरेपनि नेपाली सेफहरुले यस ग्रहण गर्न सकेका छैनन् ।’ उसो त सेफ बनेर बेलायत भित्रिएका र आफूलाई परिवर्तन गरेका समाजसेवीहरु बेलायतको नेपाली समाजमा केही मात्रामा नभएका होइनन् । नाम लिनैपर्दा एनआरएनए बेलायतका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्व अध्यक्ष कुल आचार्य र एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सेना आदि हुन् ।
यूकेमा फाइभ स्टार होटलका सेफले वार्षिक तलब करिब ५० हजार पाउण्ड समेत लिने गरेका छन् । साना पारिवारिक रेष्टुरेन्टमा पनि बस्न र खानासहित १२ सय पाउण्ड सजिलै थाप्छन् उनीहरु । दुईवर्ष अघिको तुलना गर्ने हो भने धेरै कम थियो तलब । अहिले बेलायत सरकारको कडा अध्यागमन नियमसंगै सेफ पर्याप्त नपाइएपछि भएका सेफले आफ्नो तलबमा भारी वृद्धि गरेका हुन् ।
रेष्टुरेन्टकै मेरुदण्डका रुपमा रहेका सेफहरु अधिकांशले सेटलमेन्ट भिजा पाउने बित्तिकै आफै रेष्टुरेन्ट पनि खोल्ने गरेका छन् । परिवर्तन हुन चाहने सेफहरुका लागि भने धेरै अवसर रहेको दावी अध्यक्ष तिमल्सेनाको छ । अध्यक्ष तिमल्सेनाले बेलायतका नेपाली सेफहरुले नेपाली खाना अन्तर्राष्टिय स्तरमा पुर्याइरहेको बताए । ‘सेफको योगदान कम आंक्न पनि हुन्न’, उनी भन्छन्, ‘हो, धेरै जसोमा अध्ययनको कमीले आफूलाई रुपान्तरण गर्न नसकेको देखिन्छ ।’
नेपाली सेफहरुले बेलायतमै हुर्के बढेका आफ्नै सन्तानबाट पनि सिक्न जरुरी छ । पुरानो पुस्ताले नेपाली समुदायलाई बुझेको होला । सम्बन्ध राम्रो होला तर स्थानीय समुदायसंग समेत समायोजन र आफूलाई अपडेट गराइरहन उनीहरु अग्रसर हुनुपर्छ । नत्र तातो चुलोमा डाड्यू पन्यू घुमाउंदैमा एकबारको जिन्दगी सकिन्छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान