लन्डन । बेलायतमा आइतबार अबेर सम्पन्न पांचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् । पोखरा स्थायी घर भएकी भूपू ब्रिटिश गोर्खा सुपुत्री राना सन् २००६ यता यूकेमा छिन् । जितपछि उनले खुशी व्यक्त गर्दै आफ्नो सफलता पछाडि परिवार, आयोजक र कोरियोग्राफरको उल्लेख्य भूमिका रहेको बताइन् । ‘म यति उत्साहित छु, वर्णन गर्न पनि सक्दिन’, उनले खुशी सांटिन्, ‘अबको समय म च्यारिटीमा लगाउनेछु ।’
क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत उनले यस्तो ब्युटी प्याजेन्टबाट आफूमा आत्मविश्वास झन् बढेको र प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत मिलेको बताइन् ।
इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन् प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत मिलेको छ ।
ओपनिङ सिक्वेन्समा आकर्षक नृत्यसहित प्रस्तुत भएका सुन्दरीहरुले सारीमा सजिएर आफ्नो परिचय दिएका थिए । उनीहरु कल्चरल ड्रेस र गाउनमा समेत प्रस्तुत भए ।
उक्त प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु नरेश खपांगीमगर, प्रसुना कंडेल, गौमाया गुरुङ, डा. प्रियम्बडा पौडेल, कमल भण्डारी, एकेन्द्र गुरुङ र राष्ट्र राई थिए ।
पहिलो औपचारिक सत्रमा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत शरदराज आरनले यस्ता प्रतियोगिताले प्रतियोगीमा रहेको प्रतिभा प्रस्फुटन हुने बताए । एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायतले पनि प्रतियोगीहरुलाई शुभकामना दिएका थिए ।
यसपटक प्रमुख प्रशिक्षक र कोरियोग्राफरको भूमिकामा थिइन् चर्चित नायिका प्रियंका कार्की । करिब दुई साताको आफ्नो प्रशिक्षणमा प्रतियोगीमा झण्डै दुईसय प्रतिशत निखार आएको प्रियंकाले बताइन् । ‘प्रतियोगिता निष्पक्ष र समग्रमा सफल भयो’, उनले कान्तिपुरसंग भनिन्, ‘निर्णायकहरु पनि सम्वन्धित क्षेत्रका वीज्ञ भएका र मार्किङ क्राइटेरिया त्यही अनुरुप तोकिएकाले यो विल्कुल निष्पक्ष मान्नुपर्छ ।’ प्रियंकाले महिला सशक्तिकरणमा जोड दिंदै आफूमा इच्छा र प्रतिभा छ भने महिला सधैं रोल मोडलका रुपमा अग्रपंक्तिमा आउनुपर्ने धारणा समेत राखेकी थिइन् ।
५ सय बढि दर्शकमाझ सम्पन्न कार्यक्रममा गायक धर्मेन्द्र सेवान, गायिका श्रेया सोताङ र आर के स्क्वायर ब्याण्डले गीत गाए भने कबड्डी कबड्डीकी नायिका रिस्मा गुरुङ, अनिता लिम्बु, सागर र काजोल, जीवन पुन लगायतले आकर्षक नृत्य देखाएका थिए । कार्यक्रममा सपन इन्टरटेन्मेन्ट लि. ले साउण्ड, लाइट र स्टेजको उत्कृष्ट व्यवस्थापन गरेको थियो । इकान्तिपुर
तस्विरः मिलन तमु
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार