लस एन्जलस (अमेरिका) । कार्यक्रम चल्दा चल्दै अचानक अडियो सिस्टम बन्द भयो । कन्सर्टहरु बिस्तारै प्रविधिमा पूर्णतः आश्रित हुँदै गएको समयमा लस एन्जलसका श्रोता र स्टेजका कलाकारबीच सम्पर्क असहज बन्न पुग्यो । तर पनि शनिबार यहाँस्थित बर्नम हलमा प्रतिकूल परिस्थिति सामना गरेरै नेपथ्यको कन्सर्ट जारी रह्यो ।
सम्पूर्ण बाजागाजा बन्द भए पनि स्वर रोकिएन । सामूहिक आवाजको एकताबद्ध लयले रक कन्सर्टका निम्ति सबैभन्दा प्रभावकारी तन्तु ‘हार्मोनी’ लाई यस्तरी कायम राखिदियो, अचानक माइक बिग्रनु र फेरि बन्नुको बीचमा कुनै रिक्तता नै महशुस भएन। कलाकार र दर्शक बीचको आत्मीयताले डोरयाएको त्यो क्षण नेपथ्यको निम्ति दर्शकदीर्घासँगको सामन्जस्यताका निम्ति चीर स्मरणीय घटना बन्न पुगेको छ ।
‘अडियो सिस्टम’मा विजुलीको प्रवाह बन्द भएको त्यो समय नेपथ्यले ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ गाइरहेको थियो। त्यसमा श्रोताले पनि साथ दिइरहेका थिए। सम्पूर्ण सिस्टम बन्द भए पनि मुख्य गायक अमृत गुरुङको माइकबाट निस्केको आवाजकै भरमा गायक र दर्शक मिलेर कार्यक्रमलाई तीन मिनेटसम्म निरन्तरता दिइरहे।
प्राविधिक गडबडी हुँदा कार्यक्रमको भिडियो लिंक
कार्यक्रम सकिनेबित्तिकै आफ्नो फेसबुकमार्फत् गायक अमृतले लस एन्जलसका श्रोता दर्शकप्रति आभार प्रकट गरेका छन्।
‘हाम्रा शुभचिन्तक श्रोताहरु प्रति हामी ऋणी छौं। प्राविधिक गडबडीका बाबजूद आज लस एन्जलसमा तपाइहरुले देखाउनुभएको सद्भावप्रति हामी कृतज्ञ छौं। मुरी मुरी धन्यवाद। तपाइको माया नै त हो…हामीले कमाएको…,’ उनले फेसबुक वालमा पोष्ट गरेका छन्।
पञ्चायती व्यवस्थाको प्रारम्भतिरै साँगीतिक अभियान ‘राल्फा’को संघर्षका बेला ‘गाउँ गाउँबाट उठ’ गीत जन्मिएको हो। श्याम तमोटले लेखेको यस गीतलाई नेपथ्यले नेपालमा सशस्त्र द्वन्द्वका बेला शान्ति संगीत यात्रादेखि गाउँदै आएको छ। थुप्रै भाषामा अनुवादित र जनजनमा लोकप्रिय यो गीतको रक शैलीको प्रस्तुती त्यतिबेलादेखि नै नेपथ्य कन्सर्टको अभिन्न अंग बन्दै आएको छ। जागरणको सन्देशले नै जुरुक्जुरुक् उचाल्ने यो गीत गाइरहेका बेला जहिले पनि श्रोता दर्शकहरु अमृतसँगै उफ्रिरहेको देख्न सकिन्छ।
स्थानीय समय अनुसार ठीक आठ बजेर ४० मिनेटमा सुरुभएको शनिबारको नेपथ्य कन्सर्ट लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेँडाको उनजस्तो’ गीतबाट सुरुभएको थियो। त्यससँगै एकपछि अर्को नेपथ्यका सर्वकालीक हिट गीतहरुले दुइ घन्टासम्म मञ्च र दर्शकदीर्घालाई एकाकार बनाएको थियो।
लस एन्जलसको कन्सर्ट ‘फ्रेण्ड्स अफ नेपाल’ को आयोजनामा भएको हो ।
नेपथ्यले यसपटकको अल्पकालीन अमेरिका यात्राको यो पहिलो प्रस्तुतिसँगै अब आगामी कार्यक्रमको निम्ति अमेरिकाको पश्चिमी तटबाट एकैपटक पूर्वी तटतर्फको यात्रा गर्ने भएको छ । आगामी जुलाइ २ तारिख एटलान्टाको सेन्टर स्टेजमा कन्सर्टको निम्ति ब्यान्ड अब जर्जियातर्फ लाग्ने छ । त्यसै सहरमा आयोजना हुन लागेको एएनए (एशोसिएसन अफ नेप्लीज इन द अमेरिकाज्) सम्मेलनकै क्रममा नेपथ्यले त्यहाँ नेपाली लोक रक सुनाउने छ ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु