हिरोसिमा जाने ओबामा पहिलो अमेरिकी राष्ट्रपति

ओबामा । तस्विरः एपी

ओबामा । तस्विरः एपी

हिरोसिमा, १४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्नुहुने भएको समाचार छ ।
उहाँले शुक्रबार हिरोसिमाको भ्रमण गर्न लाग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उहाँ नै पहिलो राष्ट्रपति हुनुहुने पनि समाचारमा जनाइएको छ ।

हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो ।
दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो ।

यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो ।
त्यो आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो ।

सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाउन बाध्य हुनुपरेको थियो ।

यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्काे सहर नागासाकीमा अर्काे बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए ।

उहाँको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उहाँले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहनुभएको बुझिन्छ ।

यस अघि उहाँले उक्त भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा विवाद भएको थियो । उहाँको सो भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो अबे पनि साथमै हुनुहुने छ । रासस, एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री